स्वास्थ्य मन्त्री बस्नेतको विवादास्पद अभिव्यक्ति, ‘आत्महत्या गर्छु भन्नेलाई डोरी दिएर झुण्डिन पठाउनुस्’
काठमाडौँ, २६ असार । सोमबारको पत्रकार सम्मेलनमा आफ्ना दुई महिने उपलव्धी सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी सरुवा तथा खटन पटनको प्रशंग निकाले । उनले सो क्रममा भनिहाले, ‘एक जना स्वास्थ्यकर्मीले हाम्रो सचिव ज्यूलाई फलानो ठाउँबाट सरुवा गरिदिनु भयो भने त म आत्महत्या गर्दिन्छु भन्दै धम्की दिदो रहेछ, मैले उहाँहरु (सचिवहरु)लाई भनिदिएको छु, फेरी पनि त्यो कर्मचारी त्यसरी प्रस्तुत भयो भने डोरी किनेर दिनु र झुण्डिनु भनि दिनु ।’
मन्त्री बस्नेतले सोमबारको पत्रकार सम्मेलनमा मात्रै होईन, यो प्रशंग एक महिना अघिको पत्रकार सम्मेलनमा पनि उठाएका थिए ।
आत्महत्या गर्छ बाध्य हुन्छु भन्दै स्वास्थ्य सचिवलाई भन्न आउने स्वास्थ्यकर्मी पक्कै सामान्य नहुन सक्छ । मानसिक रुपमा विच्छिप्त भएको पनि हुनसक्छ । यस्ता व्यक्तिहरुलाई सम्झाउनु पर्छ, विशेष काउन्सिलिङको जरुरी पर्छ भनेर स्वास्थ्यले ल्याएको मानसिक स्वास्थ्य सम्वन्धी थुप्रै कार्यक्रम र रणनीतिमा पनि उल्लेख छ । तर, प्रमुख अभिभावक रहेका मन्त्री भने आत्महत्या गर्छु भन्दै आएका आफ्ना कर्मचारीलाई डोरी किनेर दिनु भन्ने निर्देशन दिन्छन् ।
‘यो त आत्महत्या दुरुत्साहनको मुद्धा पनि बन्न सक्छ । आत्महत्याका लागि बातावरण बनाउने , माहोल सिर्जना गर्ने र झन् निराशामा लैजाने काम मन्त्रीबाट हुनु हुँदैन्,’ स्वास्थ्यका एक उच्च अधिकारीले भने, ‘यदि सो व्यक्तिले गलत कदम चलायो भने त्यसको जिम्मेवारी मन्त्री ज्यूले लिने कि नलिने ?’
‘मन्त्री ज्यूको अभिव्यक्ति गलत हो तर गलत हो भनेर भन्न सक्ने अवस्था छैन् । स्वास्थ्यकै एक जना सचिव मानसिक रोग विशेषज्ञ पनि हुन् । भयावह रुपमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या र आत्महत्याको दरलाई न्युनिकरण गर्नु यतिवेलाको प्रमुख आवश्यकता पनि हो । तर मन्त्रीले यसलाई हलुका रुपमा लिए, मन्त्रीको अभिव्यक्ति गलत हो भनेर स्वास्थ्यका कुनै अधिकारीले टिप्पणी गर्न हिम्मत गर्दैनन्,’ पत्रकार सम्मेलन पछि स्वास्थ्यकै अर्का एक अधिकारीले पनि भने ।
पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले आत्महत्याको विषयलाई हलुका रुपमा लिन नहुने टिप्पणी गर्दछन् । उनी भन्छन्, ‘कर्मचारीले हात्महत्या गर्न बाध्य हुन्छु भन्छ भने केही न केही त हुनसक्छ । नभए मानसिक स्वास्थ्य समस्या हुनसक्छ । त्यसमा मन्त्री जस्तो प्रमुख अभिभावकले डोरी किनि दिनुहोस भनेर भन्नु भएको हो भने ज्यादै नै हलुका टिप्पणी भयो । यसो गर्नु कसैले हुँदैन, स्वास्थ्य मन्त्रीले त झन् गर्नु हुँदैन ।’
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको उल्लेख गर्दै ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने उल्लेख गरेको छ।
नेपालमा अहिले प्रत्येक दिन औषत २० जनाले आत्महत्याको कारण ज्यान गुमाउने गरेका छन् । समयमै मनोपरामर्श दिन नसक्दा धेरै जसो आत्महत्याका घटना घटने गरेको मानसिक रोग विशेषज्ञहरुले बताउने गरेका छन् ।
सम्पर्क इमेल : [email protected]