कोशी अस्पतालमा पनि ३ सय ३० शैया नि:शुल्क

विराटनगर, १३ असार । वीर अस्पतालमा ७ सय शैया विपन्न विरामीका लागि निस्शुल्क गराएको एक हप्ता नपुग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विराटनगरस्थित कोशी अस्पतालमा पनि विपन्नका लागि ३ सय ३० शैया निस्शुल्क उपचार गर्ने निर्णय गरेका छन् ।

मंगलबार आकस्मिक निरीक्षणको क्रममा विराटनगर पुगेका मन्त्री बस्नेतको निर्देशन पछि कोशी अस्पतालले आईसियू, एचडियू र क्याबिन बाहेकका ३ सय ३० शैया निस्शुल्क गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालय मातहतका सरकारी अस्पतालहरुले जनताको संवैधानिक अधिकारलाई व्यवहारमा लागु गर्दै जाने क्रममा विपन्न, असहाय र बेवारिसे विरामीको उपचार निस्शुल्क गर्न आफुले निर्देशन दिएपछि कोशी अस्पतालले मंगलबार देखि नै निस्शुल्क गर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताए ।

उनले बिपन्न बिरामीका लागि शैयामात्र निस्शुल्क नभएर उपचार पनि निस्शुल्क हुने बताए ।

कोशी अस्पतालका प्रमुख डा. रविनराज सिंहले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार ३ सय ३० शैया निस्शुल्क गरेको जानकारी दिए ।

मन्त्री बस्नेतले वीर अस्पतालबाट सुरु गरेको विपन्नका लागि शैया निस्शुल्क गर्ने अभियान राजधानी बाहिरबाट पहिलो पटक कोशीबाट सुरु गरिएको र भविश्यमा देशका अन्य सरकारी अस्पतालमा पनि सुरु गर्न लागेको बताए ।

निस्शुल्क उपचार पाउनका लागि स्थानिय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।

कोशी अस्पतालको टिकट काउन्टरमा भिड र अव्यवस्थित देखिएको पाइएपछि मन्त्री बस्नेतले उपचार सेवा सहज बनाउन अनलाईनबाट समेत टिकट काट्न पाउने व्यवस्था गर्न अस्पतालका निर्देशकलाई निर्देशन दिएका छन् ।

निरीक्षणमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल पनि सहभागी थिए ।

यसैबीच मंगलबार नै मन्त्री बस्नेतले अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा झापाको आम्दा अस्पताललाई एक करोड २५ लाख पर्ने अक्सिजन हस्तान्तर समेत गरेका छन् ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका अधिकारीका साथै न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेत, रेक्टर डा लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका किओचका अध्यक्ष डा भगवान कोइराला, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटा लगायतको पनि उपस्थिति रहेको थियो ।

मन्त्री बस्नेतले मंगलबार नै विराटनगरको पथरी नगर अस्पताल, किओच बाल अस्पताल, दमक नगर अस्पताल र बिर्ता सिटी अस्पताल लगायतका अस्पतालहरुको निरिक्षण गरेर सहज रुपमा उपचार सेवा प्रदान गर्न अस्पतालका अधिकारीहरुलाई निर्देशन दिएको उनका सञ्चार सहयोगी रामचन्द्र दुलाललले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *