नेपालले सुर्तीजन्य पदार्थमा करको दर बढाउन किन आवश्यक ?

काठमाडौँ, १२ असार । चालु आर्थिक बर्षको बजेट अधिवेशनमा प्रतिनिधिसभाका सदस्यहरु (सांसद) ले स्वास्थ्यका विषय उठाउँदा नछुटाउने विषय बनेको थियो, ‘सुर्तीजन्य पदार्थमा कर’ ।

हुन् पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८० /०८१ को बजेटमा सुर्तीजन्य पदार्थमा बढाइएको भनिएको न्युन करको दरलाई मुद्रास्फितिले उछिने पछि झन् घटने अवस्थामा पुगेको छ ।

बजेट माथिको छलफलमा अधिकांश सांसदहरुले सुर्तीजन्य पदार्थमा कर किन बढेन् ? नेपालले अन्तराष्ट्रिय फोरममा गरेका प्रतिवद्धता किन पुरा गरेन ? भनेर प्रश्न सोझ्याई रहेका हुन्थे ।

सोमबार जब स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको जवाफ दिने पालो आयो उनले पनि सुर्तीजन्य पदार्थको विषयमा नबोलिरहन सकेनन् ।

सदा जस्तै बोलिहाले, ‘सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थमा कर वृद्धि गरी सो करबाट प्राप्त हुने राजश्वको अधिकतम हिस्सा स्वास्थ्य क्षेत्रमा अपुग बजेटको लागि प्रयोग गर्ने गरी व्यवस्था गर्न निरन्तर पैरवी गर्दै आइरहेको जानकारी गराउँछु।’

त्यसो त उनले सुर्तीजन्य पदार्थमा करको दर बढाउन गरेको पैरवीलाई मान्नै पर्छ ।

गत २१ बैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकै दिनबाट उनले सुर्तीजन्य पदार्थका करको दर बढाउने कुरा उठान गरेका हुन् । त्यस यताको राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरममा उनले सो विषयलाई निरन्तर उठाइ रहे । यति सम्मकी विश्व स्वास्थ्य संगठनको ७६ औँ महासभामा सहभागी हुन जेनेभा पुगेका मन्त्रीले १० जेठमा सभालाई सम्वोधन गर्ने क्रममा सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्ने नेपालका प्रमुख एजेण्डा भएको बताए । सो सम्वोधनबाट प्रभावित भएका डब्लुएचओका महानिर्देशक डा. टेड्रोसले ट्विट गर्दै नेपालले सुर्तीजन्य पदार्थमा करको दर बृद्धि गर्ने प्रतिवद्धता जनाएको भन्दै प्रशंसा गरेका थिए ।

तर, पाँच दिन पछि सरकारले ल्याएको बजेटमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर झन् घट्ने अवस्थामा पुग्यो ।

कसरी घट्ने अवस्थामा पुग्यो करको दर ?

सुर्तीजन्य पदार्थमा ३३ प्रतिशतको हाराहारीमा रहेको कर अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दा ज्यादै न्युन रुपमा बृद्धि गरे । सो बजेटमा सुर्तीजन्य पदार्थमा २.५ देखि ४ प्रतिशत कर बृद्धि भएको देखिए पनि मुद्रास्फिति दर ७.८ प्रतिशतले बृद्धि हुँदा करको दर झन् घटने भएको हो । स्वास्थ्य अर्थशास्त्रीहरुले मुद्रास्फितिलाई समेत हिसाव गर्दा पहिले भएको करको दर भन्दा झण्डै ५ देखि ६ प्रतिशतले घट्ने बताउँछन् ।

यसले नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर २७ /२८ प्रतिशतमा झर्ने देखिएको हो ।

विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोवाको कन्ट्रोल (एफसीटीसी)लाई अनुमोदन नेपालले सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत पुर्याउनु पर्ने थियो । मन्त्री बस्नेतको घोषणा पनि त्यहि नै थियो ।  तर, घोषणा घोषणामै सिमित भयो, कार्यान्वयन हुने गरी नीति आएन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुर्तीजन्य पदार्थमा करको दर घटेको भन्दै सार्वजनिक रुपमा नै आपत्ति जनाएको छ । एमालेले संसदमा मात्रै होईन पार्टीको स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको टोली स्वास्थ्य मन्त्रालयमै पुगेर करको दर बढाउन ध्यानाकर्षण गराएको थियो । मन्त्री बस्नेतले त्यसमा पनि सहमति जनाउँदै मन्त्रिपरिषद्मा लगेरै भए पनि आफ्नो प्रतिवद्धता पुरा गर्ने बताएका छन् । उनले मन्त्रिपरिषद्बाटै निर्णय गराएर भए पनि करको दर बढाउने ठोकुवा गरेका छन् ।

सुर्तीजन्य पदार्थमा करको दर किन बढाउनु आवश्यक ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको सेवनबाट विश्वमा हरेक वर्ष ८० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमै पनि हरेक वर्ष २७ हजार १३७ भन्दा बढीको यसकै सेवनबाट हुने रोगका कारण मृत्यु हुने गरेको छ ।

डब्लुएचओले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोग र मृत्युलाई रोक्न सकिने भनेर उल्लेख गरेको छ । यसर्थ उसले केही उपायहरु अवलम्बन गरेको छ । त्यसमा एउटा प्रभावकारी उपाय भनेको सुर्तीजन्य पदार्थमा करको दर बढाउनु हो ।

‘कर बढेमा मूल्य बढ्छ । मूल्य बढेपछि यसको प्रयोगमा स्वभाविक रुपमा कमी हुन्छ,’ एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले अगाडी थपे, ‘नेपालका लागि किन पनि आवश्यक छ भने, हाम्रो जस्तो गरीब मुलुकमा सुर्तीजन्य पदार्थको प्रयोग बढी हुने गरेको छ । विपन्न नागरिकहरु यसको बढी प्रयोग गरेका छन् । यसको प्रयोगले गरीवलाई झनै गरीव बनाउँदै लगेको छ । रोगी बनाउँदै लगेको छ । यसले झनै ठूलो आर्थिक र मानवीय क्षति पुरयाउँदै लगेको छ । त्यसैले करको दर बढाउनु पर्छ ।’

कर बढ्दैमा वा मूल्य बढ्दैमा लत लागेकाले सुर्तीजन्य पदार्थ त्याग्लान त ? अर्को प्रश्नमा चन्द भन्छन्, ‘लत लागेकालाई त्याग्न भन्दा पनि नयाँ व्यक्तिहरु यसको कुलतमा नफसुन भन्ने हो । मूल्य सस्तो हुँदा अहिले जसरी स्कुल कलेज पढ्ने व्यक्तिले वा भनौ गरीव व्यक्तिले जुन दरमा सुर्तीजन्य पदार्थ सेवन गरेका छन् । महंगो हुँदा त्यसरी प्रयोग गर्न सक्दैनन् । यसको लतमा नलागेका व्यक्तिहरु त्यस तर्फ आकर्षित नहुन सक्छन् । त्यसैले पनि सुर्तीजन्य पदार्थमा करको दर बढाउनु आवश्यक छ ।’

उनले यसबाहेक खुल्ला चुरोट बिक्री निषेध गर्ने, प्याकेटमा डरलाग्दा चित्र राख्ने, १८ बर्ष मुनिकालाई खरीद विक्रीमा सहभागी हुन नदिने लगायतका व्यवस्था पनि संगै आउने भन्दै ती कार्यान्वयन हुँदा कर बृद्धिको प्रभाव अझ बढेर जाने बताए ।

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले सुर्तीजन्य पदार्थमा टक्सीन हुने र यो प्रयोग गर्ने वित्तिकै सबैभन्दा पहिले फोक्सोमा असर देखिने बताए । ‘जव हामी यसको प्रयोग गर्दछौँ त्यसले त्यसले फोक्सोको कोशिकाहरु नष्ट वा डिस्टर्व गर्दछ । यसले गर्दा सीओपिडी तथा फोक्सोको क्यान्सरहरु लाग्नसक्छ,’ उनले भने ।

डा शाहीले कोही कोही व्यक्तिले कहिले पनि सुर्तीजन्य पदार्थ सेवन नगरेपनि त्यसबाट हुने भनिएको असरमा आफू परेको बताउने गरेको भन्दै त्यसमा सेकेण्ड ह्याण्ड स्मोकिङको असर रहेको हुनसक्ने बताए । उनले केहीमा जेनेटिक कारण हुने र त्यस्ता व्यक्तिले स्मोकिङ गरेमा झनै ठूलो असर गर्ने समेत उल्लेख गरे ।

सानै उमेरमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा फोक्सोको विकासमा नै अवरोध हुनसक्ने भन्दै छिटो नसर्ने रोग लाग्ने बताए । त्यसले फोक्सोको क्यान्सर, दम, सीओपीडी, मुटुजन्य रोगहरु लाग्ने गर्दछ । आज्माका बिरामीले सुर्तीजन्य पदार्थ सेवन गर्दा लाइफ थ्रेटनिङ अवस्थामा पुरयाउन सक्छ भन्दै कसैले पनि सुर्तीजन्य पदार्थ सेवन गर्न नहुनेमा जोड दिए ।

उनले सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न करको दरमा बृद्धि गर्नु अनिवार्य रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सुर्तीजन्य पदार्थको कम कर लिने देश नेपाल !

सुर्ती नियन्त्रण सम्वन्धी कानून उत्कृष्ठ भएपनि नेपालमा सुर्तीजन्य पदार्थमा करको दर ३३ प्रतिशतको हाराहारीमा छ । आगामी वर्ष यो पनि घटेर २८ प्रतिशतको आसपासमा हुने देखिएको छ ।

तर दक्षिण एशियाका अरु देशहरुमा भने सुर्तीजन्य पदार्थका तोकिएको करको दर धेरै माथि छ ।

छिमेकी मुलुक भारतमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर  ५७.६ प्रतिशत रहेको छ । श्रीलंकामा अहिले ७७.०२ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, पाकिस्तान ६०.७८ प्रतिशत, मालदिभ्समा ६५.७ प्रतिशत रहेको छ ।

करको दर बढी भएका मुलुकहरुमा सुर्तीजन्य पदार्थको मूल्य बढेको र उपभोगदरमा कमि हुँदै गएको देखाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *