आफ्नो निर्णय बिपरित फेसबुक स्टाटस लेखेको भन्दै स्वास्थ्यले सोध्यो विशेषज्ञ चिकित्सकलाई स्पटीकरण

स्पष्टीकरण सोधिएको प्रति पेशागत तथा ट्रेड युनियनहरुद्धारा विरोध

काठमाडौँ, ११ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो निर्णयमा सार्वजनिक टिप्पणी गर्ने एक जना विशेषज्ञ चिकित्सकलाई स्पष्टीकरण सोधेको छ ।

आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत बरिष्ठ कन्सलटेन्ट आयर्वेद विज्ञ (दशौँ तह)लाई मन्त्रालयको नीति निर्णय विरुद्ध हुने गरी फेसबुकमा स्टाटस लेखेको भन्दै उनलाई तीन दिन भित्र स्पष्टीकरण पेश गर्न गत ७ असारमा पत्र पठाइएको हो ।

डा पौडेलले पनि मन्त्रालयको पत्र अनुसार आइतबार नै रामशाहपथ गएर स्पष्टीकरण बुझाएका छन् ।

तर उनलाई स्पष्टीकरण सोधेपछि स्वास्थ्यका सबै जसो पेशागत तथा ट्रेड युनियन संगठनले मन्त्रालयको कदमको विरोध गरेका छन् ।

के हो घटना ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको व्यवस्थापन सम्वन्धी गत ४ असारमा सबै स्थानीय तहका नाममा पत्र लेखेको थियो । सात बुँदे सो पत्रमा निष्कर्ष मन्त्रालय स्थानीय तहमा गएका स्वास्थ्यकर्मीहरुको दायित्वबाट आफू मुक्त भएको भन्ने आशयको थियो ।

पत्र सार्वजनिक भएसंगै विभिन्न ट्रेड युनियन तथा संगठनले मन्त्रालयको पत्रको आलोचना गरेका थिए । सोही मेसोमा आलोचना गर्नेमा थपिए डा पौडेल । उनले पनि स्वास्थ्य मन्त्रालयको पत्र राख्दै स्टाटस लेखे,  ‘ तीनवटा सरकारको जुँगाको लड़ाईले स्वास्थ्य सेवा ध्वस्त उन्मूख छ। सबै स्थानीय आफ्नो श्रोतबाट कर्मचारी पाल्न सक्षम छैनन् । स्वास्थ्यकर्मीले सेवा, सुविधा र पदोन्नतिमा असुरक्षित महशुस गरेका छन् । विशेषज्ञहरुले आत्मसम्मान पूर्वक सेवा संचालन गर्न सकिरहेका छैनन् । तेरो मेरो नभनी स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीलाई संघमा राखेर परिचालन गरौं । संघको लोकसेवाबाट छनोट भएका स्वास्थ्य र प्रशासन सेवाका कर्मचारीहरुको विभेदपूर्ण समायोजनलले दीर्घकालमा संघीयता माथि नै समस्या ल्याउने देखिन्छ।’

मन्त्रालयले यहि स्टाटसलाई लिएर तीन दिने स्पष्टीकरण सोधेको हो ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले मन्त्रालयले एक जना स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा देखिएको अस्तव्यस्ततालाई लिएर गरेको टिप्पणीमाथि मन्त्रालयले यसरी स्पष्टीकरण सोध्नु खेद जनक भएको बताए । उनले विगतमा स्वास्थ्य सचिवहरुले सवास्थ्य क्षेत्र सुधारका लागि भन्दै विभिन्न विषयमा आफ्ना संगठन संग भएका सम्झौँता गरेको भन्दै त्यसको कार्यान्वयन गर्नुको सट्टा स्वास्थ्यकर्मीलाई तर्साउने गरी अघि बढेको बताए ।

हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (हान)का उपाध्यक्ष प्रकाश सेवाले स्वास्थयकर्मीहरुको पेशागत संघ संगठन र ट्रेड युनियनहरुसंग भएको १९ बुँदे सहमतिमा सचिव ज्यूले सिंगो स्वास्थ्य सेवालाई संघमा ल्याउने भनेर हस्ताक्षर गरेको स्मरण गराउँदै ‘अब के सचिवलाई पनि स्पष्टीकरण सोधिन्छ ?’ भनेर प्रतिप्रश्न राखे । उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुल्झाउनका लागि दिइएको सुझावलाई मन्त्रालयको नेतृत्वले गलत अर्थमा बुझेको प्रतिक्रिया दिए ।

स्पष्टीकरणमा परेका डा पौडेलले भने आफूले स्वास्थ्य क्षेत्र सुधारका लागि ट्रेड युनियन, पेशागत संगठनले उठाउँदै आएका कुरालाई सामाजिक सञ्जालमा व्यक्त गरेको बताए ।

‘म पनि आयुर्वेद चिकित्सक संघमा आवद्ध छु । पेशागत हक हितका लागि कुरा गर्नु दायित्व पनि हो । आज समायोजनका नाममा आठ नौँ महिना देखि तलव खान समस्यामा परेका सहकर्मीहरुको कुरा सञ्चारमाध्यममा आइरहेका छन् । र स्वास्थ्यलाई संघ अन्तरगर्त राख्नुपर्छ भन्ने कुरा स्वास्थ्यका बरिष्ठ अधिकारीहरुले पनि राख्दै आएको हो । यसमा मन्त्रालयले आपत्ति जनाउनु पर्ने जस्तो थिएन,’ उनले भने ।

डा पौडेलले आफूले सोधिए अनुसारको जवाफ दिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *