केमोथेरापी एन्टिबायोटिक औषधि जस्तै हो, डराउनु पर्दैन : डा. शाही
काठमाडौँ, ३१ जेठ । क्यान्सर रोगको उपचारसंग जोडिएर आउने शब्द हो केमो थेरापी । र, यो उपचार विधिलाई धेरैले खतरनाक विधि पनि भन्ने ठान्ने गर्दछन् । खास गरी केमो थेरापीविधिबाट गरिएको उपचार पछिको कतिपयमा देखिने असरले गर्दा पनि धेरै नयाँ बिरामी र आफन्तहरु डराईरहेका हुन्छन् । तर क्यान्सर रोग विशेषज्ञले भने यसलाई उपचारको एउटा सामान्य विधि भन्दै नडराउन आग्रह गरेका छन् ।
‘क्यान्सरका बिरामीलाई गरिने केमोथेरापी अन्य बिरामीलाई दिइने एन्टिबायोटिक औषधि जस्तै हो । आत्तिनु पर्दैन,’ बुधबार स्वास्थ्य पत्रकार मञ्च नेपाल, देउराली फाउन्डेसन र एनआरएनको सहकार्यमा आयोजनामा गरिएको ‘क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरुण शाहीसँग पत्रकार अन्तरक्रिया’ कार्यक्रममा मेडिकल अंकोलोजिष्ट शाहीले यस्तो भनेका हुन् ।
उनले भने, ‘केमोथेरापी भनेपछि बिरामी डराउने भन्दै केमोथेरापी भनेको एन्टिबायोटिक औषधि हो, डराउँनु पर्दैन।’
उनका अनुसार पहिला केमोथेरापी भनेपछि अस्पताल भर्ना नै हुनु पर्ने भनिन्थ्यो तर अहिले ९० प्रतिशत क्यान्सरका बिरामीले डे केयरमा आएर किमोथेरापी दिने गरेका छन्।
क्यान्सर रोग लागेको भागलाई शल्यक्रिया गरेर निकाल्ने, कोषनाशक औषधिको प्रयोगद्वारा केमोथेरापी दिएर उपचार गरिने, विकिरण भएको मेसिनद्वारा क्यान्सर कोशिकाहरू सेकी उपचार गर्ने विधि रेडियोथेरापीको प्रयागे गरेर तीन प्रकारले क्यान्सरको उपचार गरिने उनले जानकारी दिए।
क्यान्सरको सुरुवाती चरणमा शल्यक्रिया र रेडियोथेरापीको माध्येमबाट क्यान्सरको उपचार गर्न सकिने उनको भनाई छ। उनले भने, ‘नेपाली समाजमा लाजको कारणले रोग लुकाउने गर्दा ढिलागरी क्यान्सरको रोग पत्ता लाग्ने हुँदा उपचारमा ढिलाइ हुने हुन्छ।’
सुर्तीजन्य पदार्थको प्रयोग नगरे क्यान्सरको जोखिम ९० प्रतिशत कम गर्न सकिने उनले बताए। यो सँगै माटोपनाको नियन्त्रण, दैनिक शारीरिक व्यायाम गरे र सन्तुलित खाना खाए क्यान्सरको जोखिमबाट बच्न सकिने उनले बताए। कलेजोको क्यान्सरबाट बच्न हेपाटाइटिस बी र पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन डा शाहीको सुझाव छ।
नेपालमा दैनिक क्यान्सरका कारण ४० जनाको मृत्यु हुने चिकित्सकहरु बताएका छन्। नेपालमा पुरुषमा फोक्सो र पेटको क्यान्सरका कारण मृत्यु हुने गर्छ त्यसैगरी, महिलामा गर्भाशय र स्तन क्यान्सरका कारण बढी मृत्यु हुने गर्छ।
फोक्सो, स्तन, पाठेघर, आन्द्रा, आमाशय, रगत तथा लिम्फ ग्रन्थि, कलेजो तथा पित्त थैली, मूत्र थैली, घाँटी तथा मुख छाला आदिमा क्यान्सर रोग लाग्ने गर्छ।
सम्पर्क इमेल : [email protected]