जनप्रतिनिधिले पदवहाली गरेको अवसरमा काठमाडौँ महानगरपालिकाको विशेष सरसफाइ अभियान, ६८ गाडी फोहर संकलन


काठमाडौँ, १४ जेठ । काठमाडौँ सहरका सार्वजनिक ठाउँमा भएको विशेष सरसफाइबाट शनिबार ६८ गाडी फोहोर संकलन भएको छ । जसमा महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ वटा गाडी फोहोर संकलन गरेका थिए । यसबाट करिब ११८ मेट्रिक टन फोहोर संकलन भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

जनप्रतिनिधिले पद बहाली गरेको १ बर्ष पूरा भएको अवसरमा सबै वडामा एकै पटक सरसफाइ गरिएको हो । सफाइका लागि ब्रमुर, जेटसहित साधन तथा उपकरण परिचालन गरिएको थियो ।

शनिबार विहान ७ बजे सरसफाइ सुरु भएको थियो । यस क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोल, वडा नं। १२, २० र २१ का विभिन्न स्थानमा पुगेर सफाइ कार्यमा सहभागी भएकी थिईन् ।

सरसफाईपछि प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भनिन, ‘सरसफाइ र स्वच्छता हाम्रो दायित्व हो । यो दायित्व सहभागितामूलक व्यवस्थापन पद्धतिले मात्र दिगो बन्छ । यसकारण सरसफाइ कार्यक्रमलाई अभियानका रुपमा नियमित सञ्चालन गरेर नागरिकको सहभागिता बढाउँदै लैजानुपर्छ ।’ उनले थप्दै भनिन्, ‘फोहोर उत्पादक व्यवस्थापनप्रति जिम्मेवार हुनुपर्छ । यसका लागि आवश्यक पर्ने सहयोग महानगरले उपलब्ध गराउँछ ।’

कार्यक्रमको अनुगमनमा रहनुभएका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सरसफाइ र स्वच्छताका लागि महानगरपालिकाले जिम्मेवारी पूरा गर्ने भन्दै नागरिकले पनि आफ्नो दायित्व पूरा गर्नु पर्ने बताए ।

कार्यक्रम सञ्चालन तयारीको सन्दर्भदेखि विभिन्न ठाउँमा पुगेको, विभिन्न क्षेत्रमा व्यक्तिसँग भेट गरिएको र आजको सरसफाइमा सहभागिताको विश्लेषण गर्दै उनले भने, घर बनाउँदै गर्नुभएका महानगरबासीले सडकमा जथाभावी निर्माण सामग्री राखि दिँदा ढल बन्द भएको धेरै भेटियो । उत्पादित फोहोरलाई सही समय र ठाउँमा राख्नु पर्नेमा समुदायले जिम्मेवारी पूरा गरेको देखिएन । यसलाई नियमन गर्नुपर्ने नाइकेको र निजी क्षेत्रको भूमिका प्रभावकारी देखिएन ।’

आफूले फोहोर उत्पादन गर्ने, व्यवस्थापन चाहिँ नगरपालिकाले गरिदेओस् भन्ने नागरिक मनोविज्ञान सबैभन्दा ठूलो समस्या हो । अधिकारीले भने, ‘आजको सरसफाइमा अपेक्षित सहभागिता हुन सकेन । यो नागरिक मनोविज्ञानको बिम्ब हो ।’

कार्यक्रमलाई व्यवस्थित गर्न हरेक वडामा टोली प्रमुखसहित सहयोगी अधिकृत कर्मचारी, वडा सचिव, सेनिटेसन सुपरभाइजर, एक जना नगर प्रहरी र नाइके कर्मचारीको टोली खटाइएको थियो ।

टोलीले वडाध्यक्ष, सदस्य तथा वडाका अधिकारीसँग बैठक बसेर सफाइका लागि भेट गर्ने ठाउँ, सफाइ गरिने क्षेत्रलगायत विषयमा निर्णय गरेको थियो ।

सफाइका क्रममा सहरलाई प्रदुषित हुनबाट रोक्ने प्रयासमा नागरिकलाई सहभागी गराइएको थियो । यस्तै दैलोमा पुगेर फोहोरलाई स्रोतमा बर्गीकरण गर्न, उचित समयमा जिम्मेवार फोहोर संकलकको सवारी साधनमा मात्र फोहोर जिम्मा लगाउन, जैविक फोहोरलाई घरमै व्यवस्थापन, पुनःप्रयोग र पुनः चक्रिय प्रयोगबाट घटाउन, प्लाष्टिकका झोलाको प्रयोग कम गर्न अनुरोध गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *