जनसांख्यिक लाभांश : एक सुनौलो अवसर
दिन प्रतिदिन हाम्रा गाँउ घरमा युवाहरु रित्तिदै गइरहेका छन् । नेपालको संविधानले नै संघीयता कार्यान्वयन गर्ने क्रममा राज्यको दायित्व अनुसार आवश्यक साधन श्रोतहरु दुर दराजमा थप्दै जाने भन्ने छ । तर, तिनै दुर दराजका वस्तीहरु हिजो भन्दा आज, आज भन्दा भोली झन् झन् खाली हुँदै जाने अवस्था देखिएको छ । हाम्रो जस्तो गरीव र विकासोन्मुख देशमा विकसित भइरहेको यो नयाँ परिस्थिति बास्तवमा ठूलो चुनौती हो ।
विश्वका अधिकाशं देशहरुमा विश्व बजारीकरणको प्रभावले आन्तरिक तथा बाह्य बसाई सराई, पढाइ तथा रोजगारीको खोजीमा गाँउबाट शहर तथा अन्य देशहरुमा जाने, द्वन्दको प्रभाव लगायतका कारणहरुले जनसंख्याको बनावट, संख्या तथा वितरणमा ठूलो परिवर्तन भइरहेको तथ्यांकले देखाइरहेको छ । तर, हाम्रो जस्ता गरीव मुलुकहरुलाई भने यसको प्रभाव भिन्न रुपमा परेको छ ।
आफ्ना युवाहरुलाई उपयुक्त रुपमा अध्ययन, रोजगार लगायतका अवसर तथा वातावरण प्रदान गर्न नसकेर गरीव मुलुकमा दिनानु दिन प्रतिभा पलायनको सिकार हुनु परिरहेकोे छ भने धनी देशहरुका प्रायः शहरहरुमा जनघनत्व अत्यधिक बढिरहेको पाइन्छ ।
आधुनिक प्रविधिको विकास, जनस्वास्थ्य र वातावरणीय अवस्थामा केहि सुधार, स्वास्थ्य सेवाको पहुँचमा बृद्धि लगायत कारणहरुले विश्वका अधिकाशं देशहरुमा मृत्यु दर, प्रजनन दर,जनसंख्या बृद्धि दर, औषत आयू आदिमा उल्लेखनीय प्रगती भएको विभिन्न तथ्याँकहरुले देखाएका छन् ।
कुनै पनि देशको मृत्यु दर तथा प्रजनन दर घटे पछि उक्त देशको जनसंख्या बनावटमा परिवर्तन हुने क्रममा आर्थिक रुपमा सक्रिय उमेर समुह (१५ वर्ष देखि ६४ वर्ष सम्म) बढ्दै जान्छ भने आश्रित उमेर समुह घट्दै जान्छ । यसै सन्दर्भमा हाल धेरै गरीव देशहरुमा आर्थिक रुपमा सक्रिय उमेर समुह सबै भन्दा बढि प्रतिशत रहेको देखिन्छ ।
यस अवधीलाई “ जनसांख्यिक अवसरको झ्याल” पनि भनिन्छ ।
भनिन्छ, कुनै पनि देशले चाहेमा यो चरणमा आर्थिक बृद्धिदर तिव्ररुपमा गर्न सक्छ । विश्वका धेरै विकशित देशहरुले यही अवधीलाई सदुपयोग गरी आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण फड्को मारेका हुन् भन्ने छ किन कि कुनै पनि देशको समग्र विकासको आधार नै मानव श्रोत हो ।
नेपालमा पनि हालको जनसंख्या अवस्थालाई हेर्ने हो भने इतिहासको सबै भन्दा बढी भाग्यमानी अवस्थामा रहेको देखिन्छ किन कि यस अवधीमा आर्थिक रुपमा सक्रिय उमेर समुह (१५ वर्ष देखि ६४ वर्ष सम्म) सबै भन्दा बढि प्रतिशत (६५ प्रतिशत) रहेको छ ।
सन् १९९१ को जनगणना अनुसार जम्मा पुरुष जनसंख्या मध्ये यो उमर समुहको ५३ र जम्मा महिला जनसंख्या मध्ये यो उमर समुहको ५५ प्रतिशत भएकोमा सन् २०११ को जनगणनाको तथ्याँक अनुसार पुरुषको जनसंख्या ५८ प्रतिशत र महिलाको जनसंख्या ६७ प्रतिशत रहेको थियो ।
यसै गरी हाल सालै प्रकाशित सन् २०२१ को जनगणनाको तथ्याँक अनुसार ६५ प्रतिशत यस उमेर समुहमा रहेको छ। यस अर्थमा हाम्रो देश जनसांख्यिक लाभांसको अवस्थामा प्रवेश गरेको देखिन्छ । जुन राज्यका लागि विकास गर्न एक सुवर्ण अवसर हो । यही अवसरलाई सदुपयोग गरी यो उमेर समुहका युवाहरुलाई देश निर्माणमा प्रयोग गर्न सके मात्रै हामी विकासोन्मुख राज्यबाट विकासशिल राष्ट्रको रुपमा पदोन्नत हुन सक्छौ । किन की यो अवसर केहि दशक सम्म मात्र रहन्छ र पुन यो अवसर प्राप्त गर्न सयौं वर्ष पर्खिनु पर्ने हुन्छ ।
नेपालमा पनि विगतका केहि दशकहरुलाई बिश्लेषण गरी हेर्दा माथि उल्लेखित जस्तै कारणहरुले अधिकाशं गाउँहरुमा केबल बुढा पाकाहरु मात्रै भेटिने अवस्था बढ्रदै गइरहेको छ । हिजो धेरै प्रकारको खाद्यन्नहरु बाहिरी देशहरुमा निर्यात गर्ने देश आज भने तिनै खाद्यन्नहरु आयात गरी पूर्णरुपमा पर निर्भतामा रहनु पर्ने अवस्था बढ्दै गइरहेको छ । यस अवस्थाले पनि हामी सबैको मन बेला बेलामा अमिलो भैरहन्छ ।
अन्त्यमा, हालको परिवर्तित सामाजिक, आर्थिक लगायतका अन्य पक्षहरुको परिवेशले नेपाली युवा वर्गहरुमा बढ्रदै गइरहेको निरासापन तथा वितृष्णा राज्यले यथासक्य छिटो सम्बोधन गर्न सक्नु पर्दछ । इतिहासकै महत्वपूर्ण अवसरको रुपमा प्रयोग गरेर बिशेष गरी किशोर किशोरी तथा यूवाहरुको ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्नका लागि सामाजिक विकासका आयामहरुमा लगानी वृद्धि गर्नुका अलवा रोजगारीका साथै उत्पादन मुलक बन्ने बनाउने वातावरण समेत सिर्जना गरी बढी भन्दा बढी युवाहरुलाई स्वदेशमा नै बस्ने अवसरका ढोकाहरु खोलीदिनु पर्दछ ताकि हामीहरुले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन र देख्न पाउँनेछौं ।
सम्पर्क इमेल : [email protected]