‘मल्टिपल लङटर्म कण्डिसन’का बिरामीको खोजी तथा अनुसन्धान हुने

काठमाडौँ, २० बैशाख । दुई वा दुई भन्दा बढी दीर्घ रोगले समाएको व्यक्तिलाई ‘मल्टिपल लङटर्म कण्डिसन’को समस्या भएको व्यक्ति भनेर बुझिन्छ । नेपालमा यस्ता समस्या भएका व्यक्तिको संख्या कति छ ? थाहा छैन् । उपचार कसरी कहाँ गरिदैछ ? त्यसको पनि बैज्ञानिक ढंगको हिसाव छैन् ।

काठमाडौँ मेडिकल कलेजले यसपटक यस्तै समस्या भएका अर्थात ‘मल्टिपल लङटर्म कण्डिसन’का रोगीहरुको विषयमा बृहत अनुसन्धान गर्ने भएको छ ।

बेलायतको फण्डिङ एजेन्सी नेशनल इन्स्टिच्युट फर हेल्थ एण्ड केयर रिसर्च (एनआईएचआर) को सहयोगमा नेपालमा पहिलो पटक सुरु हुन लागेको पाँच वर्षे यो परियोजनामा पब्लिक हेल्थ फाउण्डेसन ईण्डियाले समेत सहकार्य गरेको छ ।

मंगलबार राजधानीमा आयोजित विशेष समारोहमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले एनआईएचआर ग्लोबल हेल्थ रिसर्च सेन्टर फर मल्टिपल लङटर्म कन्डिसन्स को शुभारम्भ गरे । सो अवसरमा बोल्दै नसर्ने रोगको समस्यामा परेका थुप्रै बिरामीहरु मल्टिपल लङटर्म कण्डिसनको अवस्थामा पुगेको दावी गरे ।

कार्यक्रममा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले नसर्ने रोगको जोखिम बढी रहेको अवस्थामा मल्टिपल लङटर्म कण्डिसन्सका बिरामीको संख्या बढ्ने ठोकुवा गर्दै यसलाई घटाउने उपाय यो अनुसन्धानले उपलव्ध गराउने विश्वास रहेको बताए ।

कार्यक्रममा मल्टिपल लङटर्म कण्डिसन सम्वन्धी परियोजना नेपालमा ल्याईनुको कारण र यसले स्वास्थ्य अनुसन्धानमा पार्ने प्रभावकाबारेमा बोल्दै काठमाडौँ मेडिकल कलेजका प्राडा अभिनव वैद्यले एक भन्दा बढी दीर्घ रोगका समस्या हुनेहरुलाई आर्थिक भार, स्वास्थ्यको भार, डाक्टरको समय, उपचार समस्या आदि धेरै खालका समस्या थपिने भन्दै यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ र उपचार व्यवस्थालाई के कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि अनुसन्धान केन्द्रीत हुने बताए । उनले यो परियोजनामा सुरुमा भक्तपुर र काभ्रेमा गरिने भन्दै पछि यसको दायरा बढाउँदै लैजाने बताए ।

‘खासमा समुदायस्तरमै रहेर यसको अनुसन्धान गरिन्छ । त्यसका लागि हामीले मास्टर्स, पिएचडी र पोष्ट-डक कार्यक्रम समेत जोडेर लैजाँदै छौँ,’ उनले भने ।

डा वैद्यले क्यान्सर र डायविटिज वा क्यान्सर र हाइपोटेन्सन वा दमको रोग चिनिको रोग र व्लड प्रेसर लगायतका रोगहरु एउटै कुनै व्यक्तिमा छ भने त्यो मल्टिपल लङटर्म कण्डिसनको बिरामी हो भनेर बुझ्न सकिने बताए ।

‘एउटा भन्दा बढी रोगहरुको एउटै व्यक्तिमा एक भन्दा बढी रोगहरुको हुँदा त्यसको असर के ? आर्थिक भार बढी, उपचारको पहुँचमा समस्या, विभिन्न विशेषज्ञहरुलाई भेटनुपर्ने, एउटा र एउटा भन्दा बढी रोग हुँदा आर्थिक भार र समस्याको हिसावले पक्कै पनि बढी नै हुन्छ । यसलाई एड्रेस गर्नका लागि एनआईएचआर, युकेको राष्ट्रिय फन्डिङ एजेन्सी हो । त्यसको सहयोगमा हामीले नेपाल र भारतमा यो अनुसन्धानलाई अघि बढाएका छौँ,’ डा वैद्यले भने ।

यस्तै यस परियोजनामा ईलेक्ट्रोनिक डिसिजन सपोर्ट सिस्टम (ईडीएसएस)को पनि ट्रायल गरिने बताए । यस मेसिनले समुदायस्तरका स्वास्थ्यकर्मीलाई मल्टिपल लङटर्म कण्डिसनका बिरामीहरु आउँदा के उपचार गर्ने भन्ने बिषयमा सामान्य त निर्णय लिन सजिलो बनाउन सहयोग गर्दछ ।

कार्यक्रममा ‘मल्टिपल लङटर्म कन्डिसन’को विषयमा प्यानल डिसकसन तथा छलफल कार्यक्रम राखिएको थियो । त्यसमा विभिन्न विषयका विज्ञहरुले प्रस्तुति दिएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *