सञ्चालन अनुमति नलिई वा त्यसको नवीकरण नगरी एम्बुलेन्स सञ्चालन गर्न नपाईंने
स्वास्थ्य मन्त्रालयले भन्यो, 'अनुमति नलिएका वा नवीकरण नगरेका एम्बुलेन्स ३५ दिन भित्र गरिसक्नु'
काठमाडौँ, २० बैशाख । सरकारले सञ्चालन अनुमति नलिएका तथा लिएर पनि समयमै नवीकरण नगरेका एम्बुलेन्सहरु सञ्चालनमा रोक लगाउने भएको छ । उसले सञ्चालन अनुमति नलिएका वा नवीकरण नगरेका एम्बुलेन्सहरुलाई ३५ दिन भित्र अनुमति लिन वा नवीकरण गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै तोकिएको अवधी भित्र अनुमति नलिई वा नवीकरण नगरी सञ्चालन गरिएको पाईए कानून बमोजिम कारवाही गरिने समेत चेतावनी दिएको छ ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ७ मा एम्बुलेन्स अनुमति तथा दफा ९ मा हरेक दुई दुई वर्षमा सञ्चालन अनुमति नवीकरण गर्नु पर्ने व्यवस्था छ । तर यस व्यवस्थालाई वेवास्ता गर्दै कतिपय सञ्चालकहरुले निर्वाध रुपमा एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् ।
त्यसो त निर्देशिकाले देशभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुलाई एकद्धार प्रणालीबाट सञ्चालन गर्ने, त्यसका लागि देशभर १०२ अंङ्कको टेलिफोन नम्बरबाट एम्बुलेन्स सेवा प्राप्त गर्ने व्यवस्था उल्लेख छ ।
त्यसबाहेक अब सञ्चालन हुने एम्बुलेन्स निर्देशिकामा तोकिएको मापदण्ड, जीपीएस जडान भएको हुनुपर्नेछ । त्यसले कुन एम्बुलेन्स कहाँ छ, भनेर थाहा हुने र नजिकको बिरामीलाई छिटो गरी सेवा पुरयाउन सहज हुने बताइएको छ ।
नेपालमा एम्बुलेन्स सेवा सुरु भएको विसं २०४२ साल देखि हो । त्यस यता देशभर कुल २ हजार ४०० एम्बुलेन्स कुनै न कुनै बेला सञ्चालनमा आएको स्वास्थ्य मन्त्रालयको दावी छ ।
कानूनले राजश्व छुटमा भित्रिएका एम्बुलेन्सहरु १० बर्ष पछि चल्न पाउँदैनन् । नेपालमा १० वर्ष यता भित्रिएका एम्बुलेन्सको संख्या १ हजार ४०० को वरपर रहेको छ । १० वर्ष बढी भएका बाँकी १ हजार एम्बुलेन्सहरु यत्तिकै थन्किएको छ कि ती पनि गुडिरहेको छ, मन्त्रालयले जवाफ दिन सक्दैन् ।
अव दर्ता वा नविकरणमा आउने एम्बुलेन्सले अनिवार्य रुपमा जीपीएस सिस्टम जडान गरेकै हुनुपर्छ । र त्यसको कोड नम्बर केन्द्र देखि प्रदेश तहमा खुलेका एम्बुलेन्स प्रेशण केन्द्रलाई उपलव्ध गराउनुपर्छ । त्यसपछि मात्रै एम्बुलेन्स सञ्चालनमा आउन पाउँछ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने ।
अहिलेसम्म जीपीएस जडान गर्ने एम्बुलेन्स ६ सयको हाराहारीमा रहे पनि सफ्टवेरमा आवद्धता हुने एम्बुलेन्स ८१ वटा मात्रै रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]