‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना र लगानी बढाउन आवश्यक’

काठमाडौं, २४ चैत । सरकारले मुटु, क्यान्सर, मधुमेह वा श्वासप्रश्वास सम्वन्धी दीर्घ रोगहरुबाट हुने समग्र अल्पायु मृत्युदरमा सन् २०२५ सम्ममा २५ प्रतिशतले र सन् २०३० सम्ममा ३३ प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको छ ।

नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बनाइएको बहुक्षेत्रीय कार्ययोजना २०२१ २५ को रणनीतिक अवधारणामा यो कुरा स्पष्टसंग लेखिएको छ । तर, त्यसका लागि चाल्नु पर्ने न्युनतम कार्य गर्न भने सरकार स्वयं अल्मलिरहेको देखिन्छ ।

विहीबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी विज्ञहरुले नसर्ने रोगको रोकथाम तथा न्युनिकरणका लागि सरकारले बनाएको कार्यायोजना प्रभावकारी रुपमा कार्यान्व्यन हुनु पर्नेमा जोड दिए । उनीहरुले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतनासंगै सरकारले लगानी बढाउनुपर्नेे बताएका छन् ।

नेपाल एनसिडी अलाइन्स र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजना भएको नसर्ने रोग सम्बन्धी ‘मिडिया एड्भोकेसी’ कार्यक्रममा उनीहरुले सचेतनासंगै लगानी बढाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा नेपाल एनसिडी अलाइन्सका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले नसर्ने रोग महामारीको रुपमा बढीरहेको बताउँदै यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए । उनले नसर्ने रोगकै कारण हुने मृत्युमा तिब्र रुपमा बढोत्तरी भएको, उपचारमा रहेका बिरामीहरुको आर्थिक भार बढ्दै गएको बताए ।

उनले नसर्ने रोग खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण भयावह बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि सञ्चारमाध्यमबाट हुने पैरवी महत्वपूर्ण हुने बताए । उनले आम सञ्चारका माध्यमबाट आउने स्वास्थ्यका सन्देशहरु आम नागरिकले छिटो विश्वास गर्ने भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीले यस तर्फ जोड दिन आग्रह गरे ।

एनसिडी अलाइन्सका उपाध्यक्ष प्राडा अभिनभ वैद्यले कार्यपत्र प्रस्तुत गर्दै नसर्ने रोगको भारको तुलनामा लगानी थोरै भएको बताए । सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थको सेवन, अस्वस्थकर जीवनशैली र मोेटोपना, वातावरणीय प्रदुषण लगायतका विविध कारण नसर्ने रोग बढ्दै गइरहेको तर त्यसका लागि राज्यले बढाउनु पर्ने लगानी निकै कम भएको बताए । नेपालमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न ऐन आएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाई थियो ।

नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकार, सरोकारवाला र सञ्चारमाध्यमले धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘नसर्ने रोगको रोकथामका लागि गर्नुपर्ने कामहरु धेरै छन्। यसमा मिडियाको भूमिका महत्वपूर्ण छ । मिडियाले जनचेतना र वकालत गर्न आवश्यक छ ।’

कार्यक्रममा शान्तलाल मुल्मीले सञ्चारमाध्यमले नसर्ने रोगका स–साना मुद्दाहरुमा कलम चलाउन आग्रह गरे । उनले सरकारलाई रणनीति बनाउन दवाव दिन, यस सम्वन्धी विषय बस्तुमा पैरवी गर्न, तथा आम जनतालाई सचेत बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

अलाइन्सका महासचिव किशोर कुमार प्रधानाङ्गले नसर्ने रोगको रोकथामका तथा न्यूनीकरणका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु गरिने जानकारी दिए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुले नसर्ने रोगका विषयलाई प्राथमिकताका साथ कलम चलाउने गरेको बताए । उनले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि मञ्चले सरोकारवाला पक्षसंग मिलेर अभियान नै चलाउने बताए ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष एवं पत्रकार रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *