दादुरा रोग र यस बिरुद्धको खोपको महत्व
सन् २००० देखि २०१८ सम्मको तुलना गर्ने हो भने विश्वभर दादुराबाट हुने मृत्युमा ७३ प्रतिशतले कमि आएको छ । दादुरा विरुद्धको खोपकै कारण यो अवधीमा २ करोड ३२ लाख सम्भावित मृत्यु जोगिएको छ । त्यसैले जनस्वास्थ्यमा दादुराविरुद्धको खोपलाई सबैभन्दा प्रभावकारी मानिएको छ ।
दादुरा भाइरसको कारणले हुने एक अत्यधिक संक्रामक र गम्भीर रोग हो । सन् १९६३ मा दादुरा खोप र व्यापक खोप अभियान सुरु हुु अघि यसको हरेक दुई तीन वर्षका अन्तरमा ठूलो महामारीको रुप लिने गर्दथ्यो । त्यस ताका हरेक वर्ष विश्वभर करीव २६ लाख मानिसको दादुराका कारण मृत्यु हुने गरेको बताइएको छ ।
दादुराको लक्षण के हो ?
दादुराको पहिलो लक्षण भनेको सामान्यत उच्च ज्वरो हो । जो भाइरसको सम्पर्कमा आएको १० देखि १२ दिनपछि सुरु हुन्छ । यो ज्वरो सुरु भएको ४ देखि ७ दिन सम्म रहन्छ । प्रारम्भिक चरणमा रुघा लाग्ख्ने , खोकी लाग्ने, आँखा रातो हुने, गाला भित्र स साना सेतो फोकाहरु देखा पर्ने हुनसक्छ । केही दिनमा त्यो फोका फुटछ । सामान्यत अनुहार तथा घाटीमा देखिने यस्ता विमिराहरु अन्तत हात र खुट्टासम्म फैलिन्छ । यो ५ देखि ६ दिनसम्म रहन्छ । त्यसपछि हट्दै जान्छ । औषत यस्तो लक्षण भाइरसको सम्पर्क आएको १४ दिनपछि देखा पर्दछ ।
दादुराको जोखिममा को को पर्छ ?
खोप नलगाएका स साना बालबालिकाहरु दादुरा र यसबाट हुने मृत्युको उच्च जोखिममा रहन्छन् । खोप नलगाएका गर्भवतीमहिलाहरु पनि जोखिममा रहन्छन् । कुनै पनि रोग प्रतिरक्षाप्रणाली नभएको व्यक्ति जसलाई खोप लगाइएको छैन वा खोप लगाइएको थियो तर रोग प्रतिरक्षा प्रणाली विकास गर्न सकेको छैन भने पनि यसको संक्रमणमा पर्ने सम्भावना बढी देखिन्छ ।
यो रोग कसरी सर्छ ?
दादुरा संसारको सबैभन्दा संक्रामक रोगहरु मध्ये एक हो । यो खोक्दा र हाछिउ गर्दा नजिकको व्यक्तिसंग वा संक्रमित नाक वा घाँटीको स्वावसंग प्रत्यक्ष सम्पर्कबाट फैलन्छ ।
यसको भाइरस हावामा वा संक्रमित सतहहरुमा दुई घण्टासम्म सक्रिय र संक्रामक रहन्छ । विमिरा देखा परेको चार दिन अघि देखि र विमिरा देखिएको चार दिनसम्म संक्रमितबाट यो एक अर्कामा सर्न सक्छ ।
दादुराको प्रकोपले महामारी निम्त्याउन सक्छ र जसले धेरै मृत्यु निम्त्याउँछ । विशेषगरी स साना कुपोशित बालबालिकाहरुमा यसको गम्भीर समस्या हुनसक्छ । दादुरा उन्मुलन भयो भनेर घोषित भएका देशहरुमा पनि कहिलेकाँही आयातित केशहरुका कारण पुन फैलिने समस्या देखिएको छ ।
दादुरा भाइरसको लागि कुनै एउटा विशेष एन्टिभाइरल उपचार विधि छैन् ।
नेपालको अवस्था
नेपालमा सन् १९८८ देखि दादुराविरुद्धको खोप दिन थालिएको हो । सन् २००४ बाट दादुराविरुद्धको खोपलाई अभियानको रुपमा लगियो । त्यसपछि सन् २०१३ मा रुवेला खोप समेत थप गरेर दादुरा रुवेलाको पहिलो मात्रा दिन थलियो । सन् २०१५ – १६ दादुरा रुवेलाको दोस्रो मात्रा पनि दिन सुरु गरियो । अहिले प्रत्येक चार वर्षको फरकमा दादुरा रुवेलाको खोप अभियान पनि सुरु हुँदै आएको छ ।
पछिल्लो अभियान सन् २०२० मा भएको थियो । जसमा ९ महिना देखि ५ वर्षसम्मका बालबालिकामध्ये करीव ९० प्रतिशतले खोप लगाए । तर केही महिना यता खोप लगाउन छुटेकाहरुमा दादुराको प्रकोप देखिएको छ ।
रोकथाम कसरी गर्ने ?
यो रोगको जोखिम नेपालमा अहिले पनि छ । त्यसैले कोभिड १९ जस्तै रोकथामको उपायहरुको कडाईका साथ पालना गर्नु अनिवार्य हुन्छ । जस्तै मास्कको प्रयोग गर्ने, संक्रमितसंगको सम्पर्कमा आएमा वा शंका लागेमा सावुन पानीले हात धुने, संक्रमितसंग दुरी कायम गर्ने, बिरामीलाई तुरुन्त उपचार गर्ने, आइसोलेसनमा राख्ने र सम्पर्कका आएका व्यक्तिहरुलाई क्वारेन्टिनमा राखी निगरानी गर्नु पर्दछ ।
यो रोग पहिले दादुरा रुवेलाविरुद्धको खोप नलगाएका सबै उमेर समूहका व्यक्तिमा देखिएको छ । विशेषगरी स्कुले विद्यार्थीहरुमा संक्रमण छिटो फैलिने गरेको छ ।
नेपालले सन् २०१९ सम्ममा दादुराको संक्रमणलाई घटाई शुन्यमा झार्ने र सन् २०२३ सम्ममा निवारण गर्ने लक्ष्य राखेको थियो तर विभिन्न कारणले गर्दा त्यो लक्ष्य पुरा गर्न सकेको छैन् ।
अब नेपालले सन् २०२६ सम्म निवारण गरिसक्ने लक्ष्य पाएको छ । यो काम गर्न सबै लक्षित बालबालिकाले दुबै मात्राको दादुरा रुवेला विरुद्धको खोप लगाउनु पर्छ ।
यो खोप नियमित तालिका अनुसार नजिकको स्वास्थ्य संस्थामा गएर ९ महिनामा पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा लगाउनु पर्दछ ।
दादुराबाट बच्न पहिलो मात्रा लगाएमा ८५ प्रतिशत प्रभावकारी र दुबै मात्रा लगाएमा ९७ प्रतिशत प्रभावकारी हुने विभिन्न अध्ययन्ले पुष्टि गरेको छ । त्यसैले यो खोपको दुबै मात्रा लगाएमा दादुरा रोग निवारण हुने सम्भव देखिएको छ ।
बालबालिकाको खोप छुटेमा के गर्ने ?
छुट भएका बालबालिकाहरुलाई खोप ५ वर्ष सम्ममा पनि लगाउन सकिन्छ । नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नु पर्दछ ।
नेपालमा वैशाख महिनामा खोप लगाउन छुटेका बालबालिकालाई पूर्ण खोप लगाउने र खोप महिना मनाउने गरिन्छ । सधै जस्तै यो वर्ष पनि बाल स्वास्थ्य तथा खोप सेवा शाखाले खोप लगाउनका लागि सबै अभिभावकलाई पहल गरेको छ ।
विद्यालयमा एक विद्यार्थीबाट अर्कोमा छिटो सर्ने हुँदा, विद्यालयहरुले पनि नयाँ विद्यार्थी भर्ना गर्दा खोप लिएको वा नलिएको बारेमा बुझेर मात्रै भर्ना गर्ने र सम्भावित जोखिमविरुद्ध सतर्कता अपनाउनु आवश्यक देखिन्छ ।
#डा गौतम स्वास्थ्य सेवा विभाग अन्तरगर्तको खोप शाखा प्रमुख हुन् ।
सम्पर्क इमेल : [email protected]