कोशी प्रदेशको स्वास्थ्य सचिव बनिन् डा. सुधा देवकोटा

डा. सुधा देवकोटा

काठमाडौँ, १९ चैत । सरकारले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटालाई कोशी प्रदेशको स्वास्थ्य सचिव बनाएर पठाउने निर्णय गरेको छ ।

केही दिन अघिको मन्त्रिपरिषदको निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना सहसचिवस्तरका कर्मचारीहरुको कामकाज तथा सरुवा गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सामान्यले डा देवकोटालाई कोशीको स्वास्थ्य सचिव बनाएर पठाएको हो । यसअघि त्यहाँ सचिव रहेका डा अनुज भट्टचनलाई भने संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ ।

डा देवकोटा दुई वर्ष बढी राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशक भएर काम गरेकी छन् । उनले यो अवधीमा केन्द्रको काममा धेरै सुधार आएको बताएकी छन् ।

सामान्यले डा देवकोटा सहित अन्य समूहका सहसचिवहरुको समेत कामकाज पदस्थापन तथा सरुवा गरेको छ ।

त्यसरी सरुवा हुनेहरुमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछाने, विन्देश्वर प्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल र शिवकुमार कार्कीलाई क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) बुटवल उपमहानगरपालिका, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश सचिव, अस्मान तामाङलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश सचिव र त्यहाँका सुरेश राउतलाई गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाका डा। नरहरिप्रसाद घिमिरेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र त्यहाँ कार्यरत डा. लेखराज दाहाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ल्याइएको छ ।

यस्तै राष्ट्रिय दलित आयोगका नारायण प्रसाद शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कृष्ण प्रसाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका प्रदेश सचिव बद्रीराज ढुङ्गानालाई वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, लुम्बिनी प्रदेश (फाजिल) का प्रदेश सचिव दीपकराज नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका सहसचिव विनोद प्रसाद देवकोटालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका प्रदेश सचिव नवराज पुडासैनीलाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *