के छारेरोग र हिस्टेरिया उस्तै हो ? उपचार कसरी गर्ने ?

– प्राडा धुब्रराज अधिकारी

सबैभन्दा पहिले छारे रोगबारे बुझौँ,

प्रायजसो बिरामीको मस्तिष्कको कुनै पनि भागमा  देखिने दाग, चाहे चोटपटकले गर्दा होस वा ट्युमरले गर्दा, ट्युवर क्लोसिस (टिबि)ले  होस वा न्युरो सिस्टीसर्कोसिस भन्ने मस्तिष्कमा जुकाको फुल पर्ने रोगले ।

अथवा मस्तिष्कको संक्रमण (ब्रेन एब्सेस) भएर होस । अर्थात, मस्तिष्कमा केही न केही चिजले असर गरिसके पछि सिजर या छारे रोगको सुरुवात हुन्छ । यस्तो समस्या कसै कसैलाई बंशाणुगत कारणले पनि देखिन्छ ।

छारे रोग (सिजर) धेरै प्रकारका हुन्छन् । जस्तै,  जेनेरल सिजर र फोकल सिजर । यस भित्र पनि धेरै प्रकारका सिजरहरु छन् ।

अनि  छारे रोगको समस्या दिन होस या रात जुनसुकै बेला देखिन सक्छ । जुनसुकै बेला ‘एट्याक’ आउन सक्छ, मानिस बेहोस हुन सक्छ, हात खुट्टा काम्ने, एक टक भएर टोलाउने र त्यस बेलाको कुरा केही याद नहुने समेत हुन्छ । चाहे त्यो समूहमा बसेको बेला होस वा एक्लै बसेको बेला होस् ।

अर्थात जुनसुुकै समयमा बेहोस भएर ढल्ने या हातगोडा, कुम वा अनुहारलाई झड्का दिने हुन्छ ।

हिस्टेरिया भनेको के हो ?

छारे रोग भन्दा कम क्षति हुने गरी देखिने एक प्रकारको वेहोसिपनलाई हिस्टेरिया अर्थात ‘स्युडो सिजर’ भनेर बुझ्न सकिन्छ ।

जब मस्तिष्कलाई तनाव बढी पर्छ र मस्तिष्कमा जब मैले यो तनाव थाम्न सक्दिन भन्ने जस्तो सोचाई विकास हुन्छ, त्यसपछि ‘इम्याचुर ब्रेन’को  ‘फेनोमेना’ ले हिस्टेरिया विकास गर्दछ ।

हिस्टेरियामा आफ्नो वरिपरि मान्छेहरु भएका बेला ‘एट्याक’ आउने देखिन्छ । हिस्टेरिया व्यूँझिएको बेलामा बेलामा मात्रै हुन्छ । निदाएको बेलामा हुँदेन । हिस्टेरिया हुँदा दिसापिसाव कहिले पनि खुस्कदैन् । जवकी ‘सिजर’ हुँदा व्यक्तिले दिसा पिसाव खुस्काउन सक्छ ।

हिस्टेरिया हुँदा सामान्य त चोट लाग्दैन् तर सिजरमा चोट पनि लाग्न सक्छ । जिव्रो टोकिने, दाह्रा किट्ने, मुखबाट र्याल निकाल्ने, दाँतहरु खुस्किने समेत हुनसक्छ ।

रगतको जाँच गर्दा सिजर भएको व्यक्तिमा ‘प्रोल्याक्टिन लेभल’ उच्च हुनसक्छ । तर हिस्टेरियामा ‘प्रोल्याक्टिन लेभल’ नर्मल हुन्छ ।

एम.आर.आई, सीटी गर्दा सिजरमा प्राय केही न केही खराबी देखिन्छ । तर हिस्टेरियामा त्यस्तो देखिदैन । यिनै लक्षणको आधारमा हिस्टेरिया र छारे रोग छुट्याउँछौँ ।

सिजर के कारणले हुन्छ ?

माथि नै उल्लेख गरिएको छ, सिजर कुनै पनि कारणले ब्रेन (मस्तिष्क) मा हुने कुनै असर हो चाहे त्यो जन्मजात हुने रोगका कारण होस या नयाँ रोगका कारण । ट्युमर, मस्तिष्कको क्षयरोग, न्युरो सिस्टीसर्कोसिस लगायत धेरै कारणले ब्रेनमा अफ्टेरो पर्न सक्छ र यस्तो अवस्थामा सिजर देखिन सक्छ ।

ब्रेनसंग रगत र ‘सेरेब्रो स्पाइनल फ्लुड’ मिलेर रहेको हुन्छ । यसले निश्चित स्थान ओगटेको हुन्छ । त्यहाँ तोकिएका पदार्थ बाहेक अन्य पदार्थ रहेमा समस्या देखिन सक्छ । त्यहाँ अलिकति मात्रै पनि असर परेमा ब्रेनमा कम्प्रेसन पैदा हुन्छ र त्यसैको आधारमा सिजर विकास हुन्छ ।

सिजरलाई चिकित्सकीय भाषामा हामीले न्युरोनहरुको ‘एब्नरमल डिस्चार्ज’ भन्छौँ । नसाहरुमा विभिन्न केमिकल्स र विभिन्न ट्रान्समिटरहरु चार्ज गरिरहेको हुन्छ र त्यसबाट फङसनिङ हुन्छ । त्यसमा असामान्य अवस्था पहिचान भयो भने एब्नलर्मल इलेक्ट्रिकल फङसनको आधारमा चाहि छारे रोगको विकास हुन्छ ।

हिस्टेरिया अर्थात ‘स्युडो सिजर’ भनेको मानसिक तनावलाई मस्तिष्कले शारीरिक समस्या जसरी देखाइदिन्छ । जस्तै कसैको अगाडी बेहोस भैदिने, हात खुट्टा काम्ने जस्ता लक्षणहरु देखिन सक्छ ।

परीक्षाका बेलामा धेरै लेख्नुपर्छ, तर विद्यार्थीहरुलाई कहिलेकाही लेख्ने हात नै प्यारालाइसिस भए जस्तो हुन्छ ।

धेरै पाहुना हुँदा घरमा काम गर्ने व्यक्तिलाई अस्वस्थ महसुस हुनु पनि एक खालको हिस्टेरिया हो ।

अर्थात कहि न कहि मस्तिष्कले आफ्नो शरीरलाई प्रोटेक्सन गर्नका लागि ‘स्युडो सिजर’ अर्थात हिस्टेरिया देखा पार्दछ ।

पहिला हिस्टेरिया महिलालाई मात्रै हुने भन्ने थियो तर अहिले कही कतै पुरुषहरुमा पनि यो समस्या देखा परेको पाइन्छ ।
यो एउटा मस्तिष्कमा हुने मनोसामाजिक घटना हो ।

मास हिस्टेरिया भनेको के हो ? यो कसरी हुन्छ ?

महिलाहरुमा हिस्टेरियाको लक्षण देखिएपछि आफ्नो मान्छेबाट साहानुभुती पाउँछन् जसलाई ‘सेकेन्डरी गेन’ भनिन्छ ।

मास हिस्टेरिया हुँदा विशेषगरी किशोरीहरुमा मिमिक अर्थात सिको गर्ने टाइपको मस्तिष्कको घटना (फेनोमेना) विकास हुन्छ । त्यहि फेनोमेना अर्को किशोरीमा पनि विकास हुन्छ र त्यहि खालको लक्षण देखिन थाल्छ ।

एउटाको अर्कोले, त्यसपछि अर्को अर्को गर्दै सबैमा त्यहि खालको मिमिक गर्ने ब्रेनमा ‘फेनोमेना’ विकसित हुन्छ र समूहमा नै यस्तो समस्या देखा पर्न थाल्छ । धेरै जसो विद्यालय उमेर समूहका किशोरीहरुमा यस्तो समस्या देखिने गरेको पाइन्छ ।

हिस्टेरिमा पूर्ण अचेत कोही पनि हुँदेन । उनीहरुलाई बोलाएको बेला सुनेको हुन्छ । आँखा पुरै बन्द गरेको हुँदैन । तर सिजरमा पुरै बन्द हुन्छ ।
सिजर पछि पोष्ट इक्टल हेडेक्ट (टाउको दुख्ने समस्या) हुनसक्छ । तर हिस्टेरियामा कहिल्यै पनि त्यस्तो टाउको दुख्ने समस्या हुँदैन ।
त्यसैले हिस्टेरिया भनेको लाइफ थ्रेटनिङ कण्डिसन (ज्यानै जोखिममा पर्ने समस्या) होइन, तर सिजर भनेको लाइफ थ्रेटनिङ कण्डिसन (ज्यान जोखिम पार्ने समस्या) हो र हुनसक्छ ।

के यो रोगहरु उमेर र वंशसंग पनि सम्वन्धित हुन्छ ?

हिस्टेरिया प्राय जसो किशोरावस्तामा हुने गर्दछ । जति उमेर बढ्दै जान्छ त्यति नै यस्तो समस्या कम हुँदै जान्छ । उमेर बढ्दै जाँदा मानिसले त्यस्ता तनावपूर्ण अवस्था धेरै नै पार गरिसकेको हुन्छ । त्यसैले यस्ता समस्या कम हुँदै जान्छ । २५ -३० बर्षपछि कम हुँदै गएको पाइन्छ ।

तर, सिजर जुनसुकै उमेरमा हुन सक्ने भयो  । हिस्टेरियासंग बंशाणुगत होइन बरु सिजरसंग यसको सम्वन्ध जोडिएको हुन्छ । सिजरसंग बरु ब्रेन ट्युमर आएको हुन्छ तर हिस्टेरियामा त्यस्तो हुँदेन ।

यी समस्याको उपचार कसरी गर्ने ?

फेरी सिजरकै बारे कुरा गरौँ । सिजरको उपचार छ । पहिला रोग के कारणले समस्या भएको छ भन्ने पत्ता लगाउन जरुरी छ । हिस्टेरिया हो कि सिजर हो भन्ने थाहा पाउनुपर्छ । रोग निदान भएपछि उपचार गर्न सजिलो हुन्छ । सिजरमा रोगको अवस्था र कारण अनुसार औषधि देखि शल्यक्रिया सम्मको काम हुन्छ ।

‘स्युडो सिजर’ अर्थात हिस्टेरियामा बढी मनोपरामर्श गरी बिरामीको मानसिक तनावको समाधान गरेर निको पार्न सकिन्छ ।

छारे रोग भएका व्यक्तिहरुमा ध्यान दिनु पर्ने कुराहरु :

  • रुखमा नचडने ।
  • सवारी साधन नचालाउने ।
  • आगो वा खोला किनारको नजिक नजाने ।
  • पौडी नखेल्ने ।
  • एक्लै नहिड्ने ।
  • कोठामा पनि सकेसम्म एक्लै नसुत्ने आदि ।

छारे रोग आएका बेला गर्ने प्राथमिक उपचार

  • सुरक्षित र खुल्ला स्थानमा ल्याउने ।
  • बान्ता गरिरहेको छ भने देब्रे तिर कोल्टो पारेर टाउको र शरीर समाइदिने ।
  • जिब्रो टोकिएको छ कि छैन् हेर्ने र टोकीको छ भने दाँतको बीचमा स्वासप्रस्वासमा अफ्टेरो नहुने गरी कुनै ट्युव राखिदिने ।
  • छारे रोग आइरहेको बेलामा मुखमा केही खाने कुरा नराखिदिने (पानी पनि) ।

 

#प्राडा अधिकारी अहिले केडीसी अस्पताल बसुन्धरामा कार्यरत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *