महिला स्वास्थ्य सम्मेलन :

सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारको काममा प्रयोग गर्रौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्मा

काठमाडौँ, २५ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारको काममा प्रयोग गर्ने नीति बनाउने बताएकी छिन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले गरेको पहिलो महिला स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि कार्यक्रम बनाउने बताइन्।

‘हामीले प्रजनन् स्वास्थ्यलाई मौलिक हक त बनायौँ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौं, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ। यसमा आमसञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ,’ उनले भनिन्।

हिजो मात्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रधानमन्त्रीले महिला स्वास्थ्यसम्बन्धी विशेष घोषणा गरेको स्मरण गराउदै मन्त्री शर्माले यसलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिन्।

स्वस्थ नागरिकका लागि हरेक आमा स्वस्थ हुनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले महिलाको स्वास्थ्यलाई स्वस्थ नागरिक र सबल राष्ट्र निर्माणको आधार बनाउनुपर्ने बताइन्। उनले स्वास्थ्य र सूचना तथा प्रविधि मन्त्रालय मिलेर स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनुपर्ने बताईन् ।

भोलीसम्म चल्ने सम्मेलन, महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित रहने बताइएको छ । सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुहरूमा छलफल एवम् प्रस्तुतिहरू हुनेछन् ।

जसमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुतीका विषय छन् ।

कुल ८५ कार्यपत्रहरू पेश हुने यस दुई दिने सम्मेलनमा करिब ३ सय प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ ।

महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधिहरू एवम् विज्ञ व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौती एवम् अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कहरूको लेखाजोखा गर्नु सम्मेलनको उद्देश्य रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *