चुरोट, बिँडीका पोष्टर टाँसिने क्रम नरोकिए पछि स्वास्थ्य मन्त्रालयद्धारा कारवाहीको चेतावनी

काठमाडौँ, १२ माघ । कानून त नेपालमा सुर्तीजन्य पदार्थको तस्बीर, ब्राण्ड र दर रेट सहितको मूल्य सूची कहि कतै देखिने गरी राख्न पाईदैन । तर अहिले चुरोट कम्पनीहरुले खुद्रा किराना तथा होलसेल अनि चिया पसलका यत्रतत्र दररेट सहितका मूल्य सूची र प्याकेटका तस्विरहरुका पोष्टर बनाई टाँगिरहेका छन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनले २० खिल्लीको प्याकेट बाहेक खुद्रा वा थोरै खिल्ली राखेर प्याकेट बनाउन रोकेको छ तर निर्वाध रुपमा खिल्ली र मिनी प्याकेट साइज चुरोट विक्री भइरहेका छन् । यसरी खुल्ला रुपमा विक्रीवितरण हुँदा विद्यार्थी तथा किशोर किशोरीहरुमा चुरोटको लत बढाएको विज्ञहरुको निस्कर्ष छ । तर उद्योगीहरुले नयाँ पुस्तालाई लक्षित गर्दै विभिन्न छुट अफर र फ्लेवरका विज्ञापन गर्दै खुद्रा चुरोटको विक्रीलाई झन् झन् बढाउँदै गएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले बुधबार यहि विषयमा स्थानीय तह र चुरोट कम्पनीहरुको ध्यानाकर्षण गराएको छ । उनले कानूनमा भएको व्यवस्थाको उल्लंघन गरे कारवाहीको भागिदार हुनु पर्ने भन्दै चेतावनी समेत दिएको छ । केन्द्रले यस विषयलाई सुक्ष्म रुपमा नियमन गर्न ७५३ वटै स्थानीय तहलाई पत्र लेखेको छ ।

पत्रमा भनिएको छ, ‘सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरुले खुद्रा किराना, होलसेल, लगायत अन्य पसलहरुको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेट सहितको मूल्य सूची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १० , सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१,को दफा ४० र ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ विपरित भएकोले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, विडी, गुड्खा आदिका मूल्य सूची उल्लेखित पोष्टर टाँस हटाउने व्यवस्था गर्न र सोको अनुगमन गर्न हुन अनुरोध गरिन्छ । यदि टाँस गरेको पाइएमा सुर्तीजन्य पर्दा नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम चुरोट कम्पनीहरुलाई सजाय जरिवाना गर्न सकिने व्यवस्था रहेको समेत जानकारीका लागि अनुरोध गरिन्छ,’ भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *