राष्ट्रिय सभामा उठ्यो गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

काठमाडौँ, १० माघ । राष्ट्रिय सभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकारले ध्यानाकर्षण गराएको हो ।

बैठकमा इन्दिरादेवी गौतमले बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती रहेकाले नागरिकको स्वाथ्यमा पर्न सक्ने गम्भीर असरलाई ध्यानमा राखी अनुगमनलाई चुस्त तुल्याउँदै त्यसलाई रोक्न माग गरे ।

अर्का सदस्य गङ्गाकुमारी बेल्वासेले पछिल्लो समय महिला र बालबालिकामाथि भएका आक्रमणका घटनाले सुरक्षा जोखिम देखिएकाले सामाजिक सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराए ।

सदस्य तुलसाकुमारी दाहालले काठमाडौँको फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न समयमै ध्यान पु¥याउन आवश्यक रहेको बताइन् ।

सदस्य भगवतीकुमारी न्यौपानेले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पतालमा भर्ना भएका बिरामीले बेड पाउन कठिन भएकाले अस्पतालको स्तरोन्नति र उपचार सेवालाई सर्वसुलभ र सहज गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने भनाइ राखिन् ।

सदस्य मायाप्रसाद शर्माले राष्ट्रियसभामा उठेको विषयलाई मन्त्रीले जवाफ नदिएर यसको मान्यतालाई कमजोर तुल्याउने काम भएको बताउँदै सदनमा उठेको विषयमा मन्त्रीको जवाफ अनिवार्य होस् भने ।

अर्का सदस्य शारदादेवी भट्टले तराई मधेसमा चलेको शीतलहरबाट ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएकाले बिरामीलाई औषधि र विपन्नलाई लत्ताकपडा उपलब्ध गराउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *