कसरी बन्छ मिर्गौलामा पत्थरी ? यसको स्वास्थ्यमा असर के ? उपचार कसरी गर्ने ?
म काम गर्ने त्रिवि शिक्षण अस्पतालमा युरोलोजी र मिर्गौला प्रत्यारोपण सर्जरी दुई अलग सेवा भए पनि हामीले एकै ठाँउबाट सेवा दिईरहेका छौँ । यसो गर्नुको दुई कारण छन् । एउटा मिर्गौला फेल भएको मान्छेलाई उपचार गर्ने र अर्को मिर्गौला फेल हुनुबाट नै बचाउने ।
मिर्गौला फेल भएका बिरामीलाई उपचार गर्ने एउटा पाटो भयो । त्यसका लागि सुरुमा डायलासिस सेवा दिन सक्छौँ र दीर्घकालिन रुपमा मिर्गौला प्रत्यारोपणमा जान्छौँ ।
दोस्रो कुरा हामीले मिर्गौला फेल हुनबाट नै जोगाउने प्रयास संगसंगै अघि बढाईरहेका छौँ । मिर्गौला फेल हुने कारणमा मुख्य रुपमा उच्च रक्तचाप, मधुमेह, ग्लोमेरुलोनेफ्राइटिस, त्यसपछि कन्जेनाइटल (जन्मजात मिर्गौलाको समस्या) कारण जस्तै पिसाव रोकिने, मिर्गौलाको बनावटमा समस्या लगायत छन् । यसपछि मिर्गौला फेल हुने कारण पत्थरी नै हो ।
जनमानसमा पत्थरीले पार्ने असरबारे जानकारी नभएर वा यसको सहि उपचार बेलैमा नगरेर यो अवस्था आएको हो भन्ने मेरो अनुमान छ । युरोलोजी विभागले यो काम गर्दै आएको छ ।
मिर्गौलामा पत्थरी कसरी बन्छ ?
हामीहरुले जति खाना खान्छौँ, शरीरमा मेटावोलिजम हुन्छ । त्यसबाट ‘बाई प्रडक्ट्र’हरु निस्कन्छन् । मिर्गौलाले प्रोटिन मेटाबोलिजमबाट आउने युरिया र युरिक एसिड, क्रियाटिनिन, नून, शरीरमा बढी रहेका क्याल्सियम, खनिज तथा लबणहरु छान्ने काम गर्दछ । त्यस क्रममा शरीरका लागि अनावश्यक अर्थात गलत विकारको रुपमा आएका पदार्थहरुलाई मिर्गौलाबाट पिसावको रुपमा बाहिरिन्छ ।
तर कहिलेकाही शरीरमा पानीको मात्रा नमिलेर, नुनको मात्रा वा लवण धेरै भएर त्यसले ‘क्रिस्टलाइजेसन’ हुन्छ । त्यसले पत्थरको रुप लिन्छ । त्यहि सा सना क्रिस्टलहरु जोडिएर त्यो पत्थरीको रुपमा देखा पर्ने हो ।
अर्को कुरा इन अग्र्यानिक भनेर हामीले क्याल्सिय अक्जालेट, युरिक एसिड जस्ता लबणहरु जो विकारको रुपमा बाहिर जानु पर्ने हो, त्यो नगएर मिर्गौलामै थुप्रिएर त्यसैबाट पत्थरीको रुप लिन्छ । साधारणतया पत्थरी बन्ने भनेकै क्याल्सियम अक्जालेटबाट हो ।
यस्तै इन्फेक्सनहरुले पनि मिर्गौलामा पत्थरी बन्न सहयोग पुरयाउँदछ । कुनै कारणले मुत्र नलिमा इन्फेक्सन भएर पिसावहरु राम्ररी बगेन भने पनि पत्थरी हुने सम्भावना हुन्छ ।
जस्तै खोला राम्ररी बगेको ठाँउमा लेउ लाग्दैन र फोहर हुँदैन । तर खोला राम्ररी बग्ने अवस्था छैन भने लेउ लाग्न सक्छ । फोहर जम्छ । यस्तै गरी पिसाव बग्ने बाटोमा पनि अवरोध भयो चाहे त्यो जन्मजात कारणले होस वा अरु कारणले होस, अवरोध आयो भने पनि त्यहाँ पिसाव जम्मा हुन्छ । त्यसपछि त्यहाँ क्याल्सियम र अरु लबणहरु थेग्रिएर पत्थरी देखा पर्न सक्छ ।
धेरै जसो मान्छेलाई के कारणले पत्थरी भयो भन्ने पत्ता लाग्दैन । यो नै कारण हो भनेर सबै जाँच गरे पनि पत्ता लाग्दैन ।
के खायो भने पत्थरी हुन्छ ?
पत्थरीको बारेमा धेरैलाई भ्रम छ । कसैले यसलाई खानासंग जोडेर हेर्छन । कसैले दुध पिउदा पत्थरी हुन्छ भन्दा रहेछन् । कसैले तरकारीमा मसला धेरै राखेर खाने गर्नाले मिर्गौलामा पत्थरी भएको भन्दा रहेछन् । कसैले ढुंगा भएको खानेकुरा बढी खाँदा पत्थरी भयो भन्दा रहेछन् । कसैले केही नखाँदा पनि पत्थरी भयो भन्छन् । तर म भन्दछु पत्थरी हुनुमा धेरै जसो कुराहरु खानासंग सिधै सम्वन्धित छैनन् ।
पहिलो कुरा हामीले के बुझ्न जरुरी छ भने कहिलेकाही जीउमै यस्ता किसिमको मेटावोलिजम हुन्छ । जन्मजात रोग हुन्छ जसले पत्थरी बनाउने चिज बढी निकाल्छ । जस्तै युरिक एसिड भएको मानिसले बढी युरिक एसिड फाल्छ र युरिक एसिड बढी हुने वित्तिकै त्यसले क्रिस्टलाईजेसन हुन्छ र पत्थरीको सम्भावना बढी हुन्छ ।
पानी कम र लवणको मात्रा बढी भयो भने वा पानी कम भएर वा जीउले नै बढी लवण बनाएर त्यो क्रिस्टालाइजेसन हुन्छ र पत्थरी हुन्छ । युरिक एसिड भएको व्यक्तिले बढी प्रोटिनयुक्त खानेकुरा खायो भने पनि पत्थरी हुनसक्छ ।
तर शरीरमा जति बढी पानी भयो त्यो लवण घुलेर पिसावको रुपबाट बाहिर जान्छ । क्रिस्टलाइजेसन हुन पाउँदैन र पत्थरी बन्ने सम्भावना हटेर जान्छ ।
पत्थरी भएको संकेतहरु कसरी थाहा पाउने ?
पत्थरी बनि सकेपछि दुई चारवटा लक्षण देखाउन थाल्छ । कसैलाई सुरु देखि नै संकेत मिल्छ भने कसैलाई ठूलो भएर समस्या देखिन थालेपछि मात्रै थाहा पाउन सकिन्छ । यद्धपी नियमित स्वास्थ्य परीक्षण गर्ने व्यक्तिले पत्थरी छ छैन भनेर पेटको भिडियो एक्सरे गरेर हेर्न सकिने भएकोले त्यसबेला नै पनि थाहा पाउन सकिन्छ ।
यद्धपी केही साझा संकेतहरु यस्ता छन् :
- यदि तपाईँको ढाडमा दुख्यो भने ।
- पिसाव गर्दा दुख्यो भने ।
- पिसाव गर्दा रगत देखा परयो भने ।
- पिसाव पोल्यो भने ।
- कहिले काही स साना ढुंगा जस्ता टुक्रा झरयो भने ।
- कहिलेकाँही पिसाव फेर्न गाह्रो हुने वा रोकिने पनि हुनसक्छ ।
- कहिलेकाही मिर्गौला सुन्निएर फुलेर अरु नै समस्या लिएर समेत आउने गर्दछन् ।
सबै पत्थरी निकाल्न पर्छ ?
मिर्गौलामा बनेका सबै पत्थरी तत्काल निकाल्न पर्छ भन्ने पनि छैन् । कुन चाहि बढी खतरा हो र तत्काल उपचारमा जानु पर्छ वा पर्दैन विज्ञ चिकित्सकहरुले निर्णय लिने कुरो हो ।
कति पत्थरीहरु मिर्गौलामा आरामले बसेको हुन्छ । साना पत्थरीहरु तिनीहरुलाई निकाल्न पर्छ भन्ने जरुरी हुँदैन । सबै मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्नु पर्छ भन्ने पनि छैन ।
किनभने मिर्गौला भित्र भएका पत्थरीहरु निकाल्नु पनि एक खालको चुनौतीपूर्ण काम हो । युरोसर्जरीको विशेष तालिम प्राप्त चिकित्सकले मात्रै त्यो सेवा दिन सक्छ । त्यसैले पत्थरी निकाल्नु अघि एक पटक युरोसर्जनसंग गएर परामर्स लिनुपर्छ ।
यदि ढुंगा सानो छ । मिर्गौला भित्र बसेको छ । त्यसले पिसाव निस्कनलाई कुनै असर गरेको छैन् । दुखेको पनि छैन । मिर्गौलालाई पनि खतरा छैन भने त्यस्ता पत्थरीलाई हामी चलाउँदेनौ । त्यस्ता खाले पत्थरीको शल्यक्रिया नै खतरा हुन सक्छ ।
कहिले काँही सानो पत्थरी हो भनेर फोडदा झनै खतरा पनि हुने गरेको छ । तर के पनि हो भने कुनै कुनै पत्थरी सानो छ भनेर त्यत्तिकै छाडेर बस्नु पनि हुँदैन । पत्थरी भएको व्यक्तिले छ महिना वा बढीमा एक वर्षमा भिडियो एक्सरे गरेर हेरि राख्नु बुद्धिमानी मानिन्छ ।
पत्थरीले असर कति खेर गर्दछ ?
हामीले बुझ्नुपर्ने कुरा मिर्गौला हुन्छ, त्यसबाट पिसाव बहने नलि (युरेटर) हुन्छ । त्यो नली एकदम साँगुरो हुँन्छ । मिर्गौलाबाट पिसाव बहने मुख्य बाटो नै त्यहि हो । यदि त्यो बाटोमा अवरोध आयो भने हामीलाई निकै अफ्टेरो पर्छ ।
त्यसकारण थैलो सम्म ल्याउने नली आएर बसेको पत्थरीलाई थैलो सम्म ल्याउनका लागि हामीले एकदमै सतर्क हुनुपर्छ । किनभने त्यहाँ लामो समयसम्म ढुंगा बस्यो भने पिसाव बग्नलाई अवरोध गरेमा त्यसले मिर्गौलाको नियमित काममा असर गर्दछ ।
भगवानले हामीलाई धन्न दुईवटा मिर्गौला दिएका छन र हामी धेरै अर्थमा त्यस्तो अवस्थामा अर्को मिर्गौलाले काम गरेको कारणले त्यस्तो समस्या नहुँन सक्छ । धेरै जसोले मिर्गौलामा पत्थरी भएको कुरा त्यहि नलिमा आएर अडकिएपछि मात्रै महसुस गर्ने गरेको पाईन्छ । किनकी त्यसबेला निकै नै दुखाई हुन्छ । त्यसैले पिसाव नलीमा बसेको पत्थरीलाई एकदमै गम्भीरतापूर्वक हेर्नु पर्दछ र डाक्टरको परामर्सलाई समेत गम्भीरता पूर्वक लिनु पर्छ ।
मैले के अनुभव गरेको छु भने सानो ढुंगा त हो नि यो आफै जान्छ भनेर छाडेका धेरैले छ महिना एक वर्ष पछि आउँदा मिर्गौला नै फेल भएको अवस्था छ । त्यसैले डाक्टरले बोलाएको बेलामा आएर मिर्गौलाको परीक्षण गर्नु पर्दछ ।
पत्थरीको उपचार कत्तिको जटिल हुन्छ ?
चिकित्सकीय पेशालाई यो साधारण र यो जटिल भनेर सुरुमै भन्ने अवस्था पनि हुँदैन् । तर आधुनिक चिकित्सा क्षेत्रमा विकसित भएका आधुनिक प्रविधिको सहयोगमा अचेल यो उपचार सजिलोसंग हुने भएको छ ।
पहिले पहिले पत्थरी झिक्न पेट चिरेर शल्यक्रिया गर्नु पर्दथ्यो । अहिले त्यसरी पुरै चिर्नुपर्ने आवश्यकता लगभग छैन् ।
आज पत्थरी झिकेर भोली घर जान सक्ने अवस्था छ । प्वाल पारेर गरिने ल्याप्रोस्कोपिक शल्यक्रिया देखि लेजर टेक्नोलोेजीहरु बाट गरिने उपचार सेवा छन । पिसाव नलि भित्रै गएर त्यसलाई धुलो बनाई दिने प्रविधिहरु भित्रिइसकेका छन् । त्यसैले उपचारमा पनि धेरै खतरा छैन भन्न सकिन्छ ।
तर मिर्गौलाको गलत ठाँउमा पत्थरी भयो वा नलिमा पत्थरी भयो भने त्यसैले मिर्गौला नै फेल बनाईदिने खतरा हुन्छ । त्यसैले पत्थरीको बारेमा नियमित चासो र जानकारी लिनु जरुरी छ ।
शारीरिक स्वास्थ्यमा समस्या आएमा त जाँच गराउनु नै परयो । समस्या नआएमा पनि तीस चालिस बर्षपछि बार्षिक रुपमा भएपनि शरीरको जाँच गराउनु राम्रो हुन्छ । अल्ट्रासाउण्ड, पिसाव तथा रगतको सामान्य जाँच गर्नु राम्रो मानिन्छ ।
किनभने आजभोली खानपीन र रहन सहनले पनि मानिसहरुमा स्वास्थ्य समस्या बढाउँदै गएको छ । बढी नुन खाने, जंक फुडहरु खाने यो कारणले पनि रोगहरु बृद्धि भएको छ र त्यो संगसंगै पत्थरी पनि जोडिएर आउँछ ।
हाम्रो जस्तो देशमा स्वास्थ्य सुविधा सबैको पहुँचमा छैन् । अर्को कुरा हाम्रो देश स्टोन बेल्ट नै मानिन्छ ।
– स्वस्थ मानिसले दैनिक कति पानी पिउँने ?
हाम्रो तराई भेगमा गर्मी बढी हुन्छ । घाममा काम गर्ने व्यक्तिहरुले प्रयाप्त मात्रामा पानी पिउन सकेका हुँदैनन् । त्यसले पनि पत्थरीको जोखिम बढी हुन्छ । त्यसैले हामीले पर्याप्त मात्रामा पानी खानु जरुरी हुन्छ ।
मिर्गौलाको पत्थरी एक पटक निकाली सकेपछि पनि पुन: देखा पर्न सक्छ ?
हाम्रो जीवन र मेटाबोलिजम उस्तै हो । जस्तै एउटा मान्छे धेरै रिसाउँछ भने त्यो एक पटक रिसाएर हुँदैन त्यो भोलि वा पर्सी पनि रिसाउन सक्छ । यस्तै मैले आज मिर्गौलाको पत्थरी निकाले पनि मैले मिर्गौला नै निकालेको त होइन नि । हाम्रो शरीर, खानपान र आनीबानी त उही नै हो । मेटावोलिजम त उहि नै हो नि ।
पित्तथैलीमा पत्थरी भयो भने पित्त थैली नै फालिदिन्छौँ । त्यसैले त्यहाँ फेरि बन्ने मौका नै भएन तर मिर्गौला निकालेर फाल्न त मिलेन । भनेपछि म संग भएका मेटाबोलिजम र शरीरमा भएका केही डिफेक्टहरु छ भने वा तपाईँको व्यवहार समान रहयो भने । तपाईँले फेरी पानी खान छाड्नु भयो भने पत्थरी त रहन्छ नै । त्यसैले हाम्रो भाषामा किडनी स्टोनको रिकरेन्स रुल भन्छौँ ।
अध्ययनहरुले के देखाएको छ भने पत्थरी झिकेको चार पाँच बर्षमा ५० प्रतिशत मानिसमा पुन: पत्थरी देखा पर्दछ । १० बर्षमा त ८० प्रतिशतमा पुन: पत्थरी देखा पर्दछ ।
कसै कसैको दुई दुई महिनामै पनि स्टोन देखा पर्न सक्छ । यस्ता मान्छेहरुको मेटाबोलिजमको अध्ययन गर्नु पर्छ । प्याराथाइराइड हर्मोन धेरै भएको व्यक्तिमा पत्थरी एकदम छिटो छिटो देखिने सम्भावना बढी हुन्छ । युरिक एसिड भएको व्यक्तिहरुमा पनि त्यस्तै हुन्छ । त्यसैले एक पटक पत्थरी भएको छ भने पुन पत्थरी हुने सम्भावना हुन्छ ।
पत्थरी हुन नदिनका लागि के खाने नखाने भन्ने पनि हुन्छ ?
यस बारेमा मैले माथि नै पनि उल्लेख गरेको छु । कोही कोही हाम्रै चिकित्सकहरुले पनि मिर्गौलाको पत्थरी हुन नदिनका लागि के खान हुने के नहुने जस्ता कुराहरु लेखेको देखिन्छ । त्यो सत प्रतिशत गलत हो ।
जस्तो कतिपयले दुध खायो भने पत्थरी हुन्छ भनने सुनेको छु । तर हामीले पत्थरी हुने मानिसलाई हामीले कहिलेकाही क्याल्सियम ट्यावलेट दिन्छौँ । दुध खानु त झनै फाइदा जनक हो । हामीले खाना पछि दुख खाने चलन त झनै राम्रो हो । यसले अक्ज्यालेट स्टोन बन्ने सम्भावनालाई कम गर्दछ ।
नेपालमा पत्थरी महिलामा भन्दा पुरुषमा केही बढी देखिन्छ । महिलाको तुलनामा पुरुषहरु केही बाहिरी काममा बढी व्यस्त हुने भएकाले यस्तो पाइएको हो कि भन्ने अनुमान छ । पानी कम खाने र बाहिर बढी कडा काम गर्ने भएकोले यस्तो हुन सक्छ ।
हामीले ‘सल्युट ट्रेट’ भन्छौँ । जस्तो चिनीको मात्रा, नुनको मात्रा, बढी भयो क्रिस्टललाईजेसन हुने सम्भावना बढछ । त्यसैले तपाईले के बुझुनु परयो भने गुलियो पेय पदार्थहरुबाट पनि तपाई टाढै बस्नु पर्छ । पानीको विकल्प जुस तथा गुलियो पदार्थ होइन । यसले झनै पत्थरी लगायतका अन्य नसर्ने रोगहरुको जोखिम बढाउँछ । मध्यपूर्वका खाडी देशमा गएका दाजुभाईहरुले यस्तै पेय पदार्थको बढी सेवन गर्दा समस्या बढी देखिएको हो ।
पत्थरीको उपचार कतिको सहज छ ?
पत्थरीको समयमै उपचार गर्दा मिर्गौला फेल हुने सम्भावना रोकिन्छ । अरु कन्जेनाइटल रोगहरु छ भने त्यसको पनि चाडै नै समाधान खोज्दछौँ । साथै मिर्गौला फेल भएको अवस्था आयोे भने प्रत्यारोपण पनि गर्दछौँ । नेपालमा १० बर्ष अघिसम्म सबै चिरेर उपचार गर्दथ्यौँ । अहिले प्रविधिजन्य स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उपलव्धताको कारणले सहज बन्दै गएको छ । त्रिवि शिक्षण अस्पतालकै रिपोर्ट हेर्ने हो भने पछिल्लो पाँच बर्षमा मैले एउटा पनि केश चिर्नु परेको छैन ।
हामी मिर्गौलाको पत्थरीको शल्यक्रियाका लागि वेल इक्वीपट छौँ । बेलायत अमेरिका सिंगापुरमा जो प्रविधि प्रयोग भएको छ हामीकहाँ पनि त्यहि नै प्रविधि प्रयोग भएको छ । र हामी त्यसका लािग एक्सपर्ट पनि छौँ । कहिलेकाँही सिमित जनशक्तिले धेरै विरामीलाई एकै पटक उपचार गर्न नसकिने भएकोले केही समय कुर्न पर्न सक्छ । युरोलोजोजीको एमसीएच यहि अध्ययन हुन्छ । यहाँ तालिम गरेर विराटनगर, भैरहवा, पोखरा, नेपालगंज लगायतका ठाँएमा सेवा दिएका छन् । आजको दिनमा सबै ठाँउका मानिसहरु पत्थरीको सहज उपचारका लागि काठमाडौँमा नै धाउनु पर्छ भन्ने पनि छैन् । सुविधाहरु विभिन्न प्रदेशहरुमा हस्तान्तरण हुँदै गएको छ ।
मिर्गौलाको पत्थरी पानी खाएर उफ्रदाँ आफै पनि निस्कन्छ भनिन्छ नि ?
प्राय जसो पिसाव नलिमा ५ देखि ६ एमएमको पत्थरी पास हुने क्षमता हुन्छ । मिर्गौलामा कोठै कोठा हुन्छ । तल्लो कोठामा छ र ६ एमएम सम्मको छ तर दुखाएको छैन, पिसाव रोकिएको पनि छैन भने त्यसलाई चलाईरहन आवश्यक छैन । किनभने त्यो सानो ढुंगालाई उपचार गर्न जाँदा अरु समस्या बल्झन सक्छ । खतरा भनेको पत्थरी पिसाव नलिामा आएर बस्छ कि भन्ने हो । यसमा ५ देखि ६ एमएमको ढुंगाहरु जानसक्छ भन्ने हाम्रो गाइडलाइनमै छ ।
त्यो भन्दा ठूलो पत्थरी छ भने त्यो पिसाव नलिबाट पास हुँदैन र त्यसले किड्नीलाई विस्तारै ड्यामेज गराउन सक्छ । त्यस्तो ढुंगालाइ हामीले विस्तारै लेजरले धुलो बनाईदिन्छ र पिसावबाट बगेर जान्छ भनेर विश्वास गर्दछौँ ।
कहिले काही त्यो नलिमा पत्थरी फोडिसकेपछि पाइप जस्तो राख्दछौँ जसलाई डिजे स्टेन्ट भन्दछौँ त्यसलाई मिर्गौलालाई आराम दिन वा ढुंगा बग्नलाई सहयोग गर्नका लागि हाल्छौँ । प्रोसेस हुन्छ ।
त्यसैले पत्थरीको उपचार कस्तो साइजको छ र कहाँ बसेको छ भनेर पहिले हेर्नुपर्ने हुन्छ । दुख नदिने ठाँउमा बसेको छ र धेरै सानो छ भने शल्यक्रिया गरिरहनुपर्ने आवश्यकता छैन । त्यसैले विज्ञ डाक्टरसंग यसको परामर्श लिनु आवश्यक हुन्छ ।
# युरोलोजिष्ट डा. चालिसे त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का सहप्राध्यापक हुन् भने त्रिवि शिक्षण अस्पताल युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका विभागीय प्रमुख हुन् ।)
सम्पर्क इमेल : [email protected]