नेपालमा जलन सम्बन्धी समस्या, उपचार र ध्यान दिनुपर्ने कुराहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बर्षेनी कम्तीमा ५६ हजार नेपालीले जलनको समस्या झेल्नु परेको छ । बार्षिक २ हजार १०० जना भन्दा बढीले त ज्यानै गुमाउनु पर्ने अवस्था छ ।
यो समस्या नेपालको मात्रै होइन । संसारभरका निम्न तथा मध्यम आय भएका प्राय सबै देशको हो । दक्षिण पूर्व एशियाली देशका लागि भने यो ठूलो समस्याको रुपमा देखिएको छ । जलनको समस्यामा आगोले पोल्ने, तातो झोल पदार्थले पोल्ने, करेन्ट लाग्ने, विभिन्न रसायन जस्तै अम्ल (एसिड) तथा क्षरि (अल्काली) ले पोल्ने पनि पर्दछन् ।
जलनको उपचार धेरै समय लाग्ने र खर्चिलो पनि छ तर हामी यहाँको सक्दो राम्रो उपचारको लागि कटिबद्ध छौं ।
जलनको प्राथमिक उपचार कसरी गर्ने ? थाहा पाईराखौँ
- जिउमा आगो लागेको खण्डमा पहिले सुरक्षीत स्थानमा जानुहोस् अनि आफ्नो जिउको आगो निभाउनु होस् ।
- जिउको आगो निभाउन सुरक्षित ठाँउमा पुगेपछि रोकिनुहोस (Stop -आतिएर नदौडी टक्क अडिने) Drop -भुइँमा लेट्ने, Roll -अनि लडिबुडी गर्ने, गर्नु पर्छ । यति गर्दा पनि आगो ननिभेमा बाक्लो कम्बल वा कपडाले छोपेर आगो निभाउनु पर्छ ।
- आगो निभाइसके पछि पोलेको भागलाई पोलेको ३ घण्टा भित्र वा सकेसम्म छिटै बगिरहेको ठण्डा पानीमा राख्नुपर्छ । यसो गर्दा पानीले तातोपना सोसेर घाउलाई थप गहिरो हुन दिंदैन । रासायनिक जलनमा अझै लामो समय (कहिलेकाही त केही घण्टा सम्मै) पानीले धुन पर्ने हुन्छ ।
- पोलेको घाउमा वरफ राख्दा अझै हानी हुनसक्छ । त्यसै गरी गोलभेंडा, बेसार, घिउकुमारी, गोबर, दन्तमंजन, नौनी ईत्यादी पनि राख्नु हुँदैन ।
- पोलेको भाग चिस्याई सके पछि अस्पताल नजिक भए खाली पेटमा नै घाउलाई सफा कपडा वा प्लास्टिकले छोपेर केही नलगाई अस्पताल जानुपर्छ भने अस्पताल पुग्न केहि घण्टा लाग्ने भए बाटोमा जीवनजल वा पानी खाँदै जानुपर्छ अनि घाउलाई पनि सिल्भर सल्फाडायजिन वा नियोमाइसिनजस्ता मलम लगाएर सफा कपडा वा प्लास्टिकले छोपेर अस्पताल जानुपर्छ ।
- पोल्दा लडेर वा खसेर अन्य चोट लागेको भए सो को जानकारी हुनु गराउनु जरुरी छ ।
अस्पतालमा हुने उपचार
पोलिएर आएका बिरामीलाई ईमरजेन्सीमा चिकित्सकले हेरेर कति गहिरो र कति क्षेत्रफलमा फैलिएको भनी निर्क्यौल गर्दछन् । यसैले नै जलनको गम्भीरता निर्धारण गर्छ । जस्तो कि छालाको सतह मात्र जलेमा सतही जलन भनिन्छ जसमा घाउ हेर्दा रातो हुन्छ, धेरै दुख्छ, र यस्तो घाउ अपरेसन नगरी ड्रेसिंग मात्रले निको हुन्छ । जलेको घाउमा पानीको फोका ठुला भएमा मध्यम जलन र ससाना भएमा गहिरो जलन भनेर बुझ्नुपर्छ ।
गहिरो जलनमा छालाको पुरै वा धेरै जसो तह जल्छ। यस्तो घाउ हेर्दा सेतो वा डढेको कालो हुन्छ भने धेरै वा कत्ति पनि नदुख्न सक्छ । गहिरो जलनको घाउलाई अपरेसन गरेर मरेको छाला फ्याँके पछि अरु ठाउँको छाला प्रत्यारोपण गरेपछि मात्र निको हुन्छ ।
यसै गरी शरीरको जम्मा क्षेत्रफलको कति प्रतिशत जलेको छ त्यसले पनि जलनको गम्भीरता हेर्न सकिन्छ । वयष्कमा जिउको २० प्रतिशत र बालबच्चा र बृद्धबृद्धामा १० प्रतिशत भन्दा बढी जलेमा त्यसलाई गम्भीर जलन भनिन्छ किनकी यो अवस्थामा पोलेको ठाउँमा मात्र हैन जिउभरी (अन्य अंग जस्तो फोक्सो, मुटु, आन्द्रामा) नै असर पर्छ ।
गम्भीर जलन भएको मान्छेलाई अस्पतालमा अनिवार्य भर्ना गर्नुपर्छ किनकी उसलाई नशाबाट सलाइन दिनुपर्छ अनि पिसाबको मात्र पनि हेर्नुपर्छ । त्यसै गरी मुखबाट खाएको खाना पनि नपुग्ने हुँदा नाकबाट पाइप हालेर खानेकुरा परिपूर्ति गर्नुपर्ने हुन्छ । सो भन्दा कम पोलेमा सामान्य जलन भनिन्छ र माथि भनेको कुनै पनि कुराको जरुरत हुँदैन ।
तर सामान्य जलनमा पनि निम्न कुराहरु भएमा भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ :
१. नाक, मुख, श्वास नली र फोक्सोमा जलन भएमा ः यस्ता बिरामीहरुलाई श्वास नली सुन्निएर स्वास फेर्न गार्हो हुने, विषालु ग्याँस रगतमा घुलेर रगतमा अक्सिजनको मात्र नपुग्ने जस्तो समस्या हुने र निमोनिया तथा मृत्युको अत्यन्तै धेरै सम्भावना हुने हुँदा भर्ना गरेर सघन कक्षमा राखेर कहिलेकहिँ कृत्रिम रूपमा यन्त्रबाट श्वासप्रश्वास गराउनुपर्छ । श्वासनली धेरै सुन्निएमा प्वाल परेर त्यतैबाट श्वास फेराउनु पर्छ ।
२. हात वा जोर्नीमा पोलिएमा
३. जनेन्द्रियमा पोलिएमा ।
४. करेण्ट लागेकोमा : बिजुलीको प्रवाहले मुटुको चालमा असर गर्ने हुँदा ईसीजी गर्नुपर्छ भने कम्तिमा २४ घण्टा मुटुको चालको सुपरीवेक्षण गर्नुपर्छ । यसै गरी रगतमा मुटुको मांसपेशीबाट निस्किने ईन्जाइम (Troponin creatine kinase CK) हेर्दा पनि मुटुमा असर परे नपरेको हेर्न सकिन्छ । त्यसै गरी अन्य भागको मांसपेशीबाट निस्किने मायोग्लोबिन भन्ने तत्व पिसाबबाट निस्किने क्रममा मृगौलामा जम्मा भएर मिर्गौला फेल गराउन पनि सक्छ । यसको लागि बिरामीलाई धेरै सलाइन दिएर धेरै पिसाब (२ मिलि/ किलो/ तौल/घण्टा) गराउनुपर्छ ।
५. रासायनिक जलन : यी बिरामीको पनि विशेष खालको उपचार चाहिने भएकोले भर्ना गर्नुपर्छ ।
६. अन्य रोग भएको : मधुमेह, उच्च रक्तचाप, मुटुको रोग वा अन्य कुनै असाध्य रोग का साथै अन्य चोटपटक लागेको खण्डमा पनि बिरामीलाई भर्ना गरिन्छ ।
७. आत्महत्या वा घरेलु हिंसाको शंका भएमा यस्ता बिरामीलाई भर्ना गरेर मनोवैज्ञानिक र कानूनी सहायता दिनुपर्ने हुन्छ ।
छालादान /छाला बैंक :
गहिरो पोलेको बिरामीको डढेको छाला निकालेर अर्को छाला प्रत्यारोपण गर्नु नै बिरामीलाई बचाउने एउटा मात्र उपाय हो । कुनै बिरामीको ३० प्रतिशत भन्दा बढी जलन भएको खण्डमा आफ्नो छालाले खाली ठाउँ छोप्न पुग्दैन । यस्तो अवस्थामा छाला बैंकमा उपलब्ध छाला वा आफन्तले दान गरेको छाला लगाएर घाउ छोप्नुपर्छ ।
मृत्यु पश्चात १६ वर्ष माथिको जोसुकैले पनि छालादान गर्न सक्छन् । यसको लागि पहिले नै मंजुरिनामा पत्र भर्नुपर्छ । मृत्यु पछि नातेदारले खबर गरेपछि हाम्रो अस्पतालको छाला बैंकका तालिम प्राप्त कर्मचारी छाला निकाल्नको लागि आउँछन् ।
छालादान सामान्यत ६ घण्टा भित्र र शरीर फ्रिजभित्र राखेको खण्डमा २४ घण्टा सम्म निकाल्न सकिन्छ । छाला प्रत्यारोपण गर्दा रगत समुह मिल्न जरुरी छैन । एक पल्ट निकालेको छाला ५ वर्षसम्म बैंकमा भण्डारण गरेर राख्न सकिन्छ ।
अन्य जानकारीको लागि स्वास्थ्यकर्मीसंग सम्पर्क गर्न सक्नुहुनेछ वा हाम्रो पैसा नलाग्ने नम्बर १६६००१५१००० मा फोन गरेर सोध्न सक्नुहुनेछ ।
जलनमा पानीको महत्व :
जल्ने बित्तिकै जलेको घाउमा आधा घण्टा सम्म बगिरहेको पानी खन्याएर चिस्याउनु पर्ने हुन्छ। यसो गर्दा जलन छालाको गहिरो भाग सम्म गढ्न पाउंदैन र घाउ गहिरो हुन पाउंदैन । गहिरो घाउलाई छाला प्रत्यारोपण गर्नुपर्छ भने चिस्याएर घाउ गहिरो हुन दिएन भने मलहम पट्टी गरेरै बिना अपरेशन निको पार्न सकिने सम्भावना बढ्न जान्छ।
हाम्रो शरीरको ६०- ८० प्रतिशत भाग पानी नै हुन्छ।
जलन हुँदा शरीरबाट धेरै मात्रामा पानी खेर जान्छ। पानीको परिपूर्ति नभए पछि अरु महत्वपुर्ण अंगहरु जस्तै मिर्गौलाले पनि थोरै रगत पाउँछ। फलस्वरूप पिसाब थोरै मात्रामा बन्छ। जलन हुँदा अत्यन्तै धेरै मात्रामा जिउबाट पानी खेर जान्छ। यो मात्र जिउमा भएको पुरै रगतको मात्र भन्दा धेरै पनि हुन सक्छ।
जलनको घाउ जति ठूलो र विस्तृत भयो त्यति नै धेरै पानी खेर जान्छ। र यो हानीलाई यथासक्य छिटो परिपूर्ति गर्नुपर्छ। ढिला भएमा गम्भीर क्षति हुन्छ। यसले घाउमा मात्र हैन अन्य महत्वपूर्ण अंगहरु जस्तै दिमाग, फोक्सो, मुटु, कलेजो, मिर्गौला, आन्द्रा आदिमा त हानी गर्छ नै, साथै घाउ पनि पहिले भन्दा बिग्रिन जान्छ। अन्तत्वोगत्वा जल र लवण बियोजनका कारण धेरै जलनका बिरामीले ज्यानै गुमाउन पर्ने हुन्छ।
जिउमा पानी पुगे नपुगेको कुरा मिर्गौलाको अवस्था हेर्दा थाहा हुन्छ।
खुशी मिर्गौला : जुन मिर्गौलाले यथेष्ट मात्रामा रगत पाउँछ त्यो नै खुशी हुन्छ। खुशी मिर्गौलाले धेरै पिसाब बनाउन सक्छ।
दुखी मिर्गौला : प्रशस्त रगत नपाएको मिर्गौला दुखी हुन्छ किनकि यसले यथेष्ट मात्रामा पिसाब बनाउन सक्दैन जसको कारण जिउबाट विकार फ्याँक्ने आफ्नो कर्तव्य पुरा गर्न सक्दैन। विकार शरीरमा जम्मा भएर बस्यो भने पुरै जिउलाई नै हानी गर्छ।
पानीको परिपूर्ति गर्न सामान्यतया निम्न शुत्रको प्रयोग गर्न सकिन्छ।
पानीको मात्रा= ४ x बिरामीको वजन किलोग्राममा ह जलनको विस्तार (पुरा शरीरलाई १०० प्रतिशत मान्दा जलेको भागको क्षेत्रफल प्रतिशतमा)
यसलाई पार्कल्याण्डको शुत्र भनिन्छ। यो नै बिरामीले २४ घण्टा भित्र पाउने पर्ने पानीको मात्रा हो। यसमा हिसाब गरे अनुसारको पानीको मात्राको आधा त जलेको ८ घण्टा भित्र दिइसक्नु पर्छ भने बाँकी आधा मात्रा अघिल्लो १६ घण्टामा दिनुपर्ने हुन्छ।
जस्तैस् एकजना ५० किलो वजन भएको व्यक्तिको जिउको आधा भाग जलेको छ भने उसलाई दिनुपर्ने पानीको मात्रा निम्न अनुसार हुन्छ।
पानीको मात्रा = ४ x ५०x ५० = १०,००० मिलिलिटर यानेकि १० लिटर। यो भनेको जिउमा जम्मा सामान्यतया हुने रगतको मात्रको दुई गुणा धेरै पानी पोलेको २४ घण्टा भित्र दिइसक्नु पर्छ।
यो पानी विभिन्न तरिकाबाट दिन सकिन्छ।
- मुखबाट पिउनेस् जीवनजल, भातको माड, नरिवल पानी, दुध, आदि प्रशस्त पिउने
- नाकबाट नली राखेरस् पिउन नसक्ने भए नाकबाट नली राखेर हिसाब गरे अनुसार परिपूर्ति गर्ने
- नशाबाटस् सकिन्छ भने र धेरै पानी चाहिने भए नशाबाट सलाइनको रूपमा परिपूर्ति गर्ने
- पानीको मात्रा पुगे नपुगेको हेर्न पिसाबको मात्रा हेर्नुपर्छ। हरेक घण्टा कम्तीमा वजनको आधा मात्रामा पिसाब हुन जरुरी छ। ५० किलो तौल भएको मान्छेको हरेक घण्टा कम्तीमा २५ मिलिलिटर पिसाब हुनु जरुरी छ।
अन्य कुनै पनि जानकारी चाहिएमा पैसा नलाग्ने फोन नम्बर १६६००१-५१००० मा कुनै पनि बेला फोन गर्न सकिन्छ।
जलनको उपचारका चुनौतिहरु :
हामी असुरक्षित वातावरणमा बस्छौं। हामीले पकाउने तरिका र बस्ने ठाउँहरु पनि सुरक्षित छैनन्। हाम्रा बालबालिकाहरु पनि असुरक्षित छन्। यसमाथि जलनबाट बच्ने उपायहरु पनि हामी मध्ये धेरै जनालाई थाहा छैन। यस्तो अवस्थामा जलनका घटना धेरै हुनु असामान्य हैन ।
त्यसका अलावा धेरैलाई प्राथमिक उपचार गर्ने तरिका पनि थाहा छैन र जलन भै हालेमा कहाँ जाने भन्ने पनि थाहा छैन। हाम्रो देशमा जलनको उपचार हुने ठाउँहरु पनि कमै छन् र प्रायस् भए जति काठमाडौँ उपत्यका भित्र छन्।
कुनै तरिकाले जलनका पीडित काठमाडौँ आइपुगे पनि घन्टौं एम्बुलेन्सको यात्रा गरेर काठमाडौँ आउनुपर्छ। यस्तो गर्दा जलनपीडितले शुरुको २४ घण्टा भित्र पाउनु पर्ने उपचार पाउन सक्दैनन् र काठमाडौँ आइपुग्दा उनीहरुको अवस्था बिग्रिसकेको हुन्छ। यसले गर्दा अस्पताल पुगेर पनि लगभग २०% मान्छेहरुले अनाहकमा ज्यान गुमाउँछन। बाँच्नेहरुको पनि उपचार धेरै महँगो छ। जलनका ठूला ठूला घाउहरु निको पार्न धेरै मलहमपट्टी गर्नुपर्छ र अपरेसन पनि धेरै चोटी गर्नु पर्ने हुन्छ। अस्पताल बसाई पनि महिनौं हुन जान्छ। यसले गर्दा उपचार धेरै नै महँगो हुनजान्छ । गरीब जलन पीडितको लागि महँगो उपचार निकै नै चुनौतिपूर्ण हुनजान्छ।
चिकित्सकीय टोलीलाई पनि जलनको उपचार गर्न धेरै कारणले चुनौतिको सामना गर्नुपर्छ। जलनको उपचार गर्न धेरै ठूलो समूहको आवश्यकता पर्छ। यसमा एक दुईजना शल्यचिकित्सक मात्र भएर पुग्दैन। सोका अलावा नर्स, फिजिओथेरापीष्ट, पोषण विशेषज्ञ, मनोविशेषज्ञ, समाजसेवी आदि जलन उपचार टोलीका अभिन्न अंग हुन।
जलनका बिरामीहरुको प्रतिरक्षा प्रणाली कमजोर हुने हुँदा उनीहरुलाई राख्ने कक्षाहरु विशेष तरिकाले छुट्टाछुट्टै बनाउनुपर्ने हुन्छ। सबै गम्भीर जलन भएकाहरुलाई लामो समय जलनको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्छ र शल्यक्रियाको लागि पनि छुट्टै फरक खालको शल्यक्रियाकक्ष चाहिन्छ। यस्तो सुबिधा नेपालमा धेरै ठाउँमा छैन। यसले गर्दा उपचार धेरै नै चुनौतिपूर्ण छ।
यस बाहेक जलन पीडितहरुले खेप्नु पर्ने मानसिक दवाव, कानूनी चुनौतिको केही लेखाजोखा छैन। बाँचेका धेरै पीडितहरु पनि अपाङ्ग भएर जीवनभर अरुको भरमा बाँच्नुपर्ने हुन्छ। यति धरै समस्याका वावजूद पनि हामीले जलनको बारेमा धेरै कुरा गर्दैनौं। नीति निर्माणको तहसम्म यो कुरा पुग्दै पुग्दैन किनकि यो समस्या धेरै आवाजविहीन गरीबहरुको समस्या हो।
नेपाल जलन फ़ाउण्डेशन
यस कारणले गर्दा यी र यस्तै कुराहरुलाई सबै सामु उजागर पार्न र आवाजलाई उचित ठाउँमा पुर्याउन नेपाल जलन फ़ाउण्डेशनको स्थापना २०७६ सालमा भएको हो।
स्थापनाकालदेखि नै कोभिडको कारणले धेरै क्रियाकलाप गर्न नपाए पनि पहिलो वर्ष हामीले हरेक महिना जूम मीटिंग मार्फत सचेतनाका दर्जन बढी कार्यक्रम देश विदेशका नेपाली र गैह्र नेपालीहरुको लागि आयोजना गरेका थियौं। त्यस बाहेक आमन्त्रण भएको खण्डमा जहाँसुकै जुनसुकै अवस्थामा पनि गएर जलन सचेतनाका कार्यक्रम चलाउँदै आएका छौं।
रासायनिक जलनको उपचार र कानूनी पहूँचको लडाईमा हाम्रो एक्यवद्धताको लागि कानून आयोगमा पनि नेपाल जलन फ़ाउण्डेशनको प्रतिनिधित्व गरेका थियौं।
#डा. नकर्मी फेक्ट – नेपाल कीर्तिपुर अस्पतालको बर्न्स, प्लाष्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]