जनस्वास्थ्यको मापदण्ड पालना गर्न/गराउन गृह मन्त्रालयको निर्देशन
काठमाडौँ, ९ पुस । छिमेकी मुलुकमा कोभिड – १९ को अति संक्रामक मानिएको नयाँ भेरियन्ट बीएफ. ७ देखा परेपछि नेपालमा पनि त्यसको सतर्कता थालिएको छ । गृह मन्त्रालयले छिमेकी मुलुकको असर यता पनि देखिन सक्ने भन्दै जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय र स्थानीय तहहरुलाई यसप्रति सचेत गराएको छ ।
उसले सरोकारवालाको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दुरी कायम राख्ने र व्यक्तिगत सरसफाइ सम्वन्धी स्वास्थ्यको प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
यसअघि आजै स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न भनेको छ । स्वास्थ्यले बुस्टर डोज खोप नलगाएका सबैलाई खोप लगाउन समेत भनेको छ । उसले छिमेकी मुलुकमा देखिएको कोभिडको नयाँ तर अति संक्रामक मानिएको भेरियन्ट बीएफ.७ नेपालमा अहिलेसम्म नदेखिए पनि खुला सिमाना र आउजाउ बढी भएकोले जोखिम अत्यन्त रहेको उल्लेख गरेको थियो ।
अरु भेरियन्ट भन्दा तिब्र रुपमा संक्रमण गर्ने यो भेरियन्ट छिमेकी मुलुक चीन तथा भारतमा देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा सञ्जय ठाकुरले आज जारी गरेको विज्ञप्तीमा थप सतर्कता अपनाउनुपर्ने बेला आएको भन्दै स्वास्थ्यको मापदण्ड पालना गर्न भनेका छन् ।
मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, नियमित सावुन पानी तथा सेनिटाइजरले हात धुने, बुस्टर डोज लगाउन छुटेकाहरुले त्यसलाई पुरा गर्न भनेका छन् ।
उनले सिमा नाका तथा अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल भित्रने यात्रुको ज्वरो नाम गर्ने, शंकास्पद व्यक्तिको एन्टीजेन टेष्ट र जीन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको समेत उल्लेख गरेका छन् ।
सम्पर्क इमेल : [email protected]