न्युजिल्याण्डमा सन् २००८ पछि जन्मेका नागरिकलाई चुरोट किन्न आजिवन प्रतिवन्ध
एजेन्सी । न्युजिल्याण्डले भावि पुस्ताका युवाहरुलाई चुरोट किन्नमा आजिवन प्रतिवन्ध लगाउने कानून पारित गरेको छ । त्यहाँको संसदले मंगलबार पास गरेको विधेयकले १ जनवरी २००९ पछि जन्मेका जो कोहीले पनि चुरोट तथा सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् ।
यसको मतलव प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ किन्नको लागि न्युनतम उमेर बढ्दै जानेछ भने किन्न सक्ने मानिसको संख्या घट्दै जानेछ । अझ भन्नु पर्दा अबको ५० वर्ष पछि चुरोटको प्याकेट किन्न खोज्ने जो कोहिले आफू ६३ वर्ष पुगेको परिचय पत्र देखाउनु पर्नेछ ।
तर न्युनिल्याण्डका स्वास्थ्य अधिकारीहरुले धूमपान त्यो भन्दा पहिले नै हराउनेमा आशावादी देखिएका छन् । उनीहरुले सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धूमपानमुक्त बनाउने लक्ष्य राखेका छन् ।
नयाँ कानूनले चुरोट बेच्नका लागि अनुमति पाएका खुद्रा विक्रेताको संख्या समेत ६ हजारबाट घटाएर ६ सयमा सिमित गरेको छ । यस्तै धूमपान तथा सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रा पनि घटाइएको छ ।
संसदमा सुर्ती नियन्त्रण सम्वन्धी नयाँ विधेयक पेश गर्ने स्वास्थ्य मन्त्री डा. आयशा भेरलले यो धूमपानमुक्त भविस्य तर्फको कदम भएको बताईन् । उनले भनिन्, ‘हजारौँ मानिसहरु लामो समयसम्म बाच्नेछन्, स्वस्थ जीवन र स्वास्थ्य प्रणाली सुधार हुनेछ र धूमपानजन्य रोगको उपचार गर्न लाग्ने झण्डै ३.२ बिलियन अमेरिकी डलर जोगिनेछ ।’
उनले यो विधेयकले पुस्ता परिवर्तन गर्ने र युवाका लागि राम्रो स्वास्थ्यको विरासत छोड्ने बताईन् ।
त्यसो त न्युजिल्याण्डमा धूमपान गर्ने दरमा ऐतिहासिक रुपमा कमी आएको छ । सरकारी तथ्यांकले दैनिक सेवन गर्ने बयस्कहरुको प्रतिशत गतवर्ष भन्दा १.४ प्रतिशतले कमि आएको देखाएको छ । गत नोभेम्बरमा सार्वजनिक भएको तथ्यांकले ८ प्रतिशत बयस्कहरु दैनिक रुपमा धूमपानमा सहभागी हुने देखाएको छ । जवकी गतवर्ष यो समूहको धूमपान दर ९.४ प्रतिशत थियो ।
त्यसो त न्युजिल्याण्डले पास गरेको धूवामुक्त वातावरण विधेयकले हाल कायम रहेको ८ प्रतिशतको संख्यालाई सन् २०२५ सम्ममा ५ प्रतिशत भन्दा कममा सिमित राख्ने विश्वास गरिएको छ ।
यस्तै यो विधेयकले देशव्यापी रुपमा सुर्तीजन्य पदार्थ बेचविखन गर्ने खुद्रा विक्रेताको संख्यालाई पनि ६ हजारबाट ६ सयमा सिमिति गर्ने लक्ष्य लिएको छ । यसले निकोटिनको स्तर घटाउने र लत लाग्ने सम्भावनालाई पनि न्युनिकरण गर्ने विश्वास गरिएको छ ।
डा भेलरले नयाँ कानून कार्यान्वयन हुँदा माओरी र गैर माओरी समुदायबीचको आयुमा देखिएको असमानतालाई समेत कम गर्ने बताईन । न्युजिल्याण्डमा माओरी समुदायमा धूमपान दर अहिले पनि १९.९ प्रतिशत छ । अझ गतवर्ष त झन् २२.३ प्रतिशत थियो ।
नयाँ कानूनले भ्याप उत्पादनहरुलाई भने प्रतिवन्ध नगर्ने बताइएको छ । पछिल्लो समय यूवा पुस्तामा चुरोट भन्दा भ्याप लोकप्रिय हुँदै गएको छ ।
विधेयकको विपक्षीमा रहेको एसिटी पार्टीका सांसदहरुले नयाँ कानूनले सुर्तीजन्य पदार्थको उत्पादन तथा विक्री वितरणमा कालोबजारी बढाउन मद्धत गर्ने र साना व्यापारीहरुलाई बढी मार पर्ने भन्दै आलोचना गरेका थिए ।
सम्पर्क इमेल : [email protected]