भारतमा आठ बर्षमा झण्डै दोव्बरले थपियो मेडिकल कलेज र अध्ययनका लागि सिट
डाक्टर पढ्ने सिट खाली भएको भन्दै सांसदले मागे सरकारको जवाफ
नयाँ दिल्ली । डाक्टर उत्पादन गर्ने मेडिकल कजेजहरुमा अन्डर ग्राजुएट्स र पोष्ट ग्राजुएट्समा सिट खाली भएपछि राज्यसभाको बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । त्यसअघि उनीहरुले सिट खाली रहने अवस्था कसरी आयो भन्दै स्वास्थ्य मन्त्री तथा राज्यमन्त्रीको जवाफ माग गरेका छन् ।
मंगलबारको राज्यसभाको बैठकमा प्रश्नोउत्तरमा भाग लिदै बीजेपीका तर्फबाट निर्वाचित हरियाणाका सांसद डा डीपी वत्सले मेडिकल शिक्षा तर्फ युजी र पीजीमा सिट खाली भएको विषय उठाएका थिए ।
बैठकमा जवाफ दिन स्वास्थ्य मन्त्री मनसुख मंडाविया र राज्यमन्त्री डा भारती प्रवीण पवार उपस्थित थिए ।
सो क्रममा स्वास्थ्य राज्यमन्त्री डा भारती प्रवीण पवारले युजी र पीजीका केही सिटहरु खाली हुने गरेको बताए । उनले विद्यार्थीहरुले प्रि क्लिनिकल र प्यारा क्लिनिकल पोष्टमा केही सिटहरु खाली रहने गरेको भन्दै क्लिनिकल पोष्टमा विद्यार्थीहरुको रुची बढेको आफूले जानकारी पाएको बताए ।
स्वास्थ्य मन्त्री मनसुख मंडावियाले भने चिकित्सा शिक्षामा भारतीय विद्यार्थीहरुलाई भारतमै अवसर होस भन्ने सरकारले चाहेको र त्यहि अनुुसार कलेज र सिट थप्दै गए पनि केही विषयमा विद्यार्थीहरुको रुची कम भएको हुनसक्ने बताए ।
भारतमा कति छन् मेडिकल कलेज ? कति छन् सिट ?
स्वास्थ्य मन्त्री मंडावियाले राज्य सभा बैठकमा प्रस्तुत गरेको तथ्यांक अनुसार सन् २०१४ भन्दा अघि भारतमा ३८७ वटा मेडिकल कलेज थियो । तर अहिले त्यो संख्या बढेर ६४८ पुगेको छ । विद्यार्थीहरुलाई देशभित्रै चिकित्सा शिक्षा पढ्ने अवसर मिलोस भनेर नै यसरी कलेजहरु थपेको स्वास्थ्यमन्त्री मंडावियाको तर्क छ ।
उनका अनुसार सन् २०१४ अघि देशमा स्नातक तह (युजी)मा कुल ४४ हजार सिट थियो । तर त्यस यताको ८ वर्षमा सिटसंख्या दोब्बर भन्दा बढीले बृद्धि भई ९६ हजार पुगेको छ ।
यस्तै पीजीमा पहिले सन् २०१४ अघि ३१ हजार सिट थियो । तर अहिले त्यसमा १०५ प्रतिशतले बृद्धि भई ६४ हजार पुगेको छ ।
मन्त्री मंडावियाले अगाडी थपे, ‘हामीले जसरी लगातार युजी र पीजीको सिट बढाइ रहेका छौँ, विद्यार्थीहरुको विषय छनौट पनि बढी रहेको छ ।’
उनले विद्यार्थीहरुले पढ्न नै चाहदैनन् भने आफूहरुको त्यसमा केही नलाग्ने भन्दै सकेसम्म कम सिट खाली राख्ने आफूहरुको उद्धेश्य रहेको समेत बताए ।
सम्पर्क इमेल : [email protected]