सांसदमा निर्वाचित भएपछि मेडिकल काउन्सिलबाट डा. तोसिमाको राजिनामा

डा. तोसीमा कार्की

काठमाडौँ, १९ मंसिर । डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा कार्कीले काउन्सिलमा गएर हिजो राजिनामा बुझाएकी हुन् ।

काउन्सिलले स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाउने बताएको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी ललितपुर क्षेत्र नं ३ बाट बिजयी भएकी हुन् ।

गतवर्ष अर्थात १२ मंसिर २०७८ मा सम्मन्न नेपाल मेडिकल काउन्सिलको सदस्य पदको निर्वाचनमा उनी अत्यधिक मतका साथ विजयी बनेकी थिईन् ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं ३ मा उम्मेद्धार दिएकी थिईन् । तर काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेद्धार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेद्धारी खारेज गरेको थियो । त्यसविरुद्ध डा कार्की सर्बोच्च अदालत गईन र उम्मेद्धारी कायम गर्न सफल भईन् । निर्वाचन आयोगमा उजुरी, खारेजी, सर्बोच्चमा रिट र आयोगको भ्याकेट आदिले उनलाई झनै चर्चामा ल्याइदियो । यसले कार्कीलाई निर्वाचनमा विजयी बन्न थप सघाउ पुग्यो ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले डा कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे ।

‘डा तोसिमाको हिजो राजिनामा आयो । अब हामीले राजिनामा स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाउने छौँ । अन्तिम स्वीकृति उतैबाट हुनेछ,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *