प्रतिनिधि सभा सदस्यका लागि बलियो उम्मेद्धार बनेकी छिन् स्वास्थ्य पत्रकार निशा डाँगी
काठमाडौँ, २० कात्तिक । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्य महिला तर्फ समानुपातिक सूचीमा १५ जना महिलाको नाम समावेश गरेको छ ।
त्यसमध्ये पहिलो र दोस्रो नम्बरमा परेका उम्मेद्धार यसअघि फरक फरक भूमिकामा स्वास्थ्यसंग जोडिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ खस आर्य महिलाबाट पहिलो नम्बर सूचीमा राखेकी प्राडा चन्दा कार्की चिकित्सा र प्राध्यापन क्षेत्रमा परिचित नाम हो । स्त्री रोग विशेषज्ञको रुपमा लामो समय काठमाडौँ मेडिकल कलेजमा आवद्ध रहेकी थिईन् ।
यस्तै दोस्रो नम्बरमा परेकी उम्मेद्धार निशा डाँगी यसअघि स्वास्थ्य पत्रकारिता पेशामा आवद्ध थिईन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको सदस्य समेत रहेकी उनी पछिल्लो समय डाक्साव डटकममा कार्यरत थिईन् ।
पत्रकारितामा स्नातकोत्तर गरेकी निशासंग पछिल्लो पाँच वर्ष अनलाइन तथा टेलिभिजनमा स्वास्थ्य विटमा पत्रकारिता गरेको अनुभव छ ।
‘प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्धार बन्न २५ वर्ष पुग्नु पर्छ । मेरो यो बर्ष ठ्याक्कै उम्मेद्धार बन्ने उमेर पुग्यो,’ उनले सुरुमै भनिन् । पत्रकारितासंगै सामाजिक कार्यमा क्रियाशिल उनले राष्ट्रिय स्वतन्त्र पार्टीको विधान हेरिसकेपछि सो पार्टीमा आकर्षित भएको बताईन् ।
‘देश राजनीतिबाट चल्ने हो । तर सही राजनीति हुनुपर्छ भन्ने मान्यता थियो । पुराना दलहरुको कार्यशैली मलाई मन पर्दैनथ्यो । तर यो नयाँ पार्टीमा त्यस्तो छैन्, हामीले कल्पना गरे जस्तै साच्चिकै भिजन छ,’ उनले भनिन् ।
पछिल्लो एक महिना देखि गृह जिल्ला झापामा सक्रिय रहेकी निशाले आफ्नो पार्टी प्रति जनभावना बढ्दै गएको दावी गरिन् ।
रबि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले उम्मेद्धार छनौट गर्दा अनलाइन आवेदन माग गरी त्यसबाट आन्तरिक प्रतिस्पर्धा गराएर उम्मेद्धार टुंगो लगाएको थियो ।
खस आर्य महिलाबाट दोस्रो नम्बरमै परेकोले उनलाई स्वतन्त्र पार्टीले बलियो उम्मेद्धारको रुपमा प्रस्तुत गरेको छ ।
सम्पर्क इमेल : [email protected]