प्रदुषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द
एजेन्सी । प्रदुषणको स्तर निकै बढेपछि भारतको दिल्लीमा प्राथमिक विद्यालय बन्द हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीमा ५ नोभेम्बरदेखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका हुन्।
यसबाहेक कक्षा ५ भन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा पनि प्रतिबन्ध लाग्नेछ । मुख्यमन्त्रीले दिल्लीमा यातायातमा जोर विजोर प्रणाली लागू गर्नेबारे पनि विचार गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलन कार्यक्रममा केजरीवालले पञ्जाब र दिल्लीमा बढेको प्रदुषणबारे बोल्दै प्रदुषित हावा एउटा राज्यमा मात्रै नभई हरेक राज्यमा जाने बताए । उनले भने, ‘प्रदुषण दिल्लीको मात्रै समस्या होइन, हरियाणा, युपी र पूरा उत्तर भारतको हावाको स्थिति खराब छ । यो एक–अर्कालाई आरोप लगाउने बेला होइन । केन्द्रले अघि सरेर कदम उठाउनुपर्नेछ । यसो गरेर उत्तर भारतलाई बचाउन सकिनेछ ।’
उनले थपे, ‘पञ्जाब र दिल्लीमा भलै हाम्रो सरकार छ तर यतिबेला एक–अर्कालाई औँला उठाउने होइन । यसले समाधान हुँदैन ।’
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा उच्च बनेपछि सरोकारवालाले विद्यालय बन्द गर्न माग गरेका थिए । दिल्ली सहित वरपरका २ करोड जनसंख्याले सो प्रदुषणको सामना गरीरहेको जनाएको छ । राजधानीका लगभग सबै अनुगमन स्टेशनहरूमा गम्भीर र खतरनाक स्तरका प्रदुषण पाइएको भन्दै सरोकारवालाले विद्यालय बन्द गर्न आग्रह गरेका थिए ।
सम्पर्क इमेल : [email protected]