शारीरिक निष्क्रियताले नसर्ने रोगको जोखिम बढाउदै
शारीरिक निष्क्रियताका कारण सन् २०३० सम्म ५० करोड मानिस नसर्ने रोगको चपेटामा पर्ने डब्लुएचओको चेतावनी
जेनेभा । विज्ञान र आविस्कारले मानिसलाई सुविधा थपिदिएको छ । शारीरिक श्रम गर्नुपर्ने अवस्था घटाइदिएको छ । तर यस्तो अवस्थाले मानिसको स्वास्थ्यमा भने नकारात्मक असर देखिन थालेको छ ।
विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले पछिल्ला बर्षमा मानिसहरुको शारीरिक निष्क्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । उसले यहि अवस्था कायम रहने हो भने सन् २०२० देखि २०३० सम्ममा शारीरिक निष्क्रियताकै कारण करीव ५० करोड व्यक्तिहरु हृदयघात, मोटोपना, मधुमेह वा अन्य नसर्ने रोगको चपेटामा पर्ने चेतावनी दिएको छ ।
उसले यसको उपचारका लागि २७ अर्व अमेरिकी डलर खर्च हुने समेत जनाएको छ ।
डब्लुएचओले गत साता सार्वजनिक गरेको ‘द ग्लोबल स्टाटस रिपोर्ट अन फिजिकल एक्टीभीटी २०२२’ मा शारीरिक निष्क्रियताको कारण नसर्ने रोगको जोखिम भयावह अवस्थामा बढ्ने चेतावनी दिदै सबै उमेर र क्षमता अनुसार शारीरिक गतिविधि बढाउन सबै देशका सरकारलाई सिफारिस गर्न अनुरोध गरेको छ ।
विश्वका १९४ देशबाट आएको तथ्यांकले प्रगति सुस्त छ र देशहरुले शारीरिक गतिविधिको स्तर बढाउन र रोग लाग्न नदिनका लागि थप नीतिगत रुपमा विकास गर्दै कार्यान्वयनलाई तिब्रता दिन आवश्यक भएको बताएको छ ।
रिपोर्टका अनुसार शारीरिक गतिविधि सम्वन्धी नीति बनाएका देशहरुको संख्या ५० प्रतिशत भन्दा थोरै छ । त्यसमा पनि ४० प्रतिशत भन्दा कम देशले मात्रै बनाएको नीति कार्यान्वयन गरेको छ ।
३० प्रतिशत देशहरुसंग मात्रै सबै उमेर समूहका मानिसका लागि शारीरिक गतिविधि गर्ने नीति बनेको छ ।
लगभग सबै देशहरुले बयस्कहरुमा मात्रै शारीरिक गतिविधिको अनुगमन गर्ने गरेका छन् । त्यसमध्ये करीव ७५ प्रतिशतले किशोर अवस्थाका व्यक्तिहरुको समेत शारीरिक गतिविधिहरुको अनुगमन गर्दछन र ३० प्रतिशत भन्दा कमले ५ वर्ष मुनिका बालबालिकाहरुको समेत शारीरिक गतिविधिको निगरानी गरेको पाइएको छ ।
प्रतिवेदनले ४० प्रतिशत देशहरुमा सडकको मापदण्ड बनेको छ । जसमा साइकल लेन र पैदल यात्रुको लागि लेन व्यवस्थित गरेको छ ।
‘हामीलाई पैदल हिड्ने, साइकल चलाउने, खेलकुद र अन्य शारीरिक गतिविधिमार्फत मानिसहरुलाई थप सक्रिय हुन सहयोग गर्न नीतिहरुको कार्यान्वयन मापन गर्न अरु देशहरु पनि चाहिन्छ । किनभने यसको फाइदा व्यक्तिको शारीरिक र मानसिक मात्रै होइन सामाजिक, आर्थिक र बातावरणीय रुपमा समेत ठूलो अर्थ राख्छ,’ डव्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेसयसस्ले भने ।
सम्पर्क इमेल : [email protected]