सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर
विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्ने रोगबाट बार्षिक २७ हजार १३७ जनाले ज्यान गुमाउने गरेका छन् । त्यो भनेको प्रत्येक महिनामा २ हजार २६१ जना र दिनमा ७५ जना हुन आउँछ । त्यसलाई पनि घटाएर घण्टामा हिसाव गर्ने हो भने सुर्तीजन्य पदार्थ सेवनकै कारण हरेक घण्टा तीन जना नेपालीको ज्यान जाने गरेको छ ।
……………………………………………..
सुर्तीजन्य पदार्थ उत्पादकहरु, कतिपय त्यस सम्वन्धी व्यवसायी र तिनीहरुको पक्षपोषण गर्ने समूहमा आवद्ध व्यक्तिहरुले कहिलेकाँही सुर्तीजन्य पदार्थबाट राज्यलाई कर मार्फत अर्वौ रकम तिरेको, सयौँ हजारौँलाई रोजगारी दिएको जस्ता तर्क प्रस्तुत गर्दै व्यावसायिक प्रवद्धर्नका कुरा अघि सार्ने गर्छन् । तर तथ्यले के भन्छ भने, सन् २०२० मा सरकारले सुर्तीजन्य पदार्थबाट राज्यलाई कर बापत करीब २० अर्व प्राप्त गरयो तर त्यसैबर्ष राज्यले सुर्तीजन्य पदार्थको सेवनले गम्भीर बिरामी परेका व्यक्तिको उपचारका लागि ४१ अर्व बढी रकम खर्च गरयो । यसले राज्यलाई आम्दानी जुगाड गरिदिएको छु भनेर दावी गर्ने सुर्ती उद्योगले राज्यलाई त्यसको दोब्बर बढी आर्थिक भार थपिदियो ।
त्यो भन्दा कैयन गुणा बढी मानवीय क्षति पुर्याईदियो । उपचारका लागि व्यक्तिले तिरेका पैसाको हिसाव होस या उपचार गर्दा घर न घाट भएका परिवारको कुरा होस् अवस्था निकै नै भयावह देखिन्छ ।
………………………………………………….
केही वर्ष अघिसम्म नेपाल सरुवा रोगको बढी जोखिममा थियो । अहिले पनि कहिलेकाँही महामारीले सताउँछ अस्थायी रुपमा भए पनि । तर स्थायी रुपमा भने अहिले देश नसर्ने रोगको प्रकोपबाट गुज्रिरहेको छ । नेपालमै मात्रै होइन संसार नै अहिले नसर्ने रोगको जोखिमबाट गुज्रिरहेको छ । यसको विभिन्न कारणमध्ये प्रमुख कारण धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन हो ।
डव्लुएचओकै तथ्यांकलाई सापटी लिने हो भने पनि विश्वमा हरेक वर्ष लगभग ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गदर्छ । त्यसमध्ये करीव १२ लाख मानिसको ज्यान ‘सेकेण्ड ह्याण्ड स्मोकिङ’ बाट हुँदै आएको छ ।
अमेरिकन लङ्गस एसोसिएसनका अनुसार चुरोटमा ७ हजार भन्दा बढी विभिन्न प्रकारका हानिकारक रसायन (तत्वहरु) हुन्छन् । जसमध्ये सयौँ रसायनहरु स्वास्थ्यका लागि अत्यन्त हानिकारक छन् भने कम्तीमा ७० वटा रसायनहरु क्यान्सर रोगको प्रमुख कारक तत्व हुन् ।
सुर्तीजन्य पदार्थमा अरु हानिकारक तत्व के के हुन्छन् ?
सुर्तीजन्य पदार्थमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक प्रमुख १० वटा तत्हरु निम्न प्रकार रहेका छन् ।
१. Ammonia– घरको सरसफाइ जस्तै ट्वाइलेट, टायल, बेसिन इत्यादी सफा गर्दा प्रयोग गरिने रसायनमा पाइने तत्व ।
२. Arsenic – मुसा मार्ने औषधिमा प्रयोग हुने तत्व ।
३. Cadmium – ब्याट्रीमा प्रयोग हुने एसिडमा पाइने प्रमुख तत्व ।
४. Carbon Monoxide – सवारी साधनबाट निस्कने धुवामा पाइने तत्व ।
५. Hexamine – यो तत्व बारवेक्यु लाइटर फ्लुडमा पाईन्छ ।
६. Nicotine – निकोटिनलाई किटनासकको रुपमा प्रयोग गरिन्छ ।
७. Tar – यो सडक कालोपत्र गर्दा प्रयोग गरिने कालो र टाँसिने तत्व हो ।
८. Benzene – यो तत्व रबर, सिमेन्ट र पेट्रोलमा पाईन्छ ।
९. Acetone – नेल पोलिस हटाउन प्रयोग गरिने केमिकलमा पाइने तत्व ।
१०. Acetic Acid – कपाल रगांउन प्रयोग हुने केमिकल मा पाइने एक तत्व
सुर्तीजन्य पदार्थ नसर्ने रोगहरुको प्रमुख कारक तत्व हो भनेर माथि नै उल्लेख गरिएको छ । यद्धपी केही प्रमुख नसर्ने रोगहरु यहाँ उल्लेख गरिएको छ । जस्तै कि : क्यान्सर, हृदयघात, मिर्गौला सम्बन्धी रोग, दम, मधुमेह, उच्च रक्तचाप, फोक्सोको क्यान्सर, क्षयरोग, रोग प्रतिरक्षा प्रणालीमा ह्रास आदि पर्दछन् । सुर्ती नियन्त्रण सम्वन्धी अभियानमा लामो समय देखि सम्लग्न संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द भन्छन्, सुर्ती नियन्त्रण सम्वन्धी अभियानमा लामो समय देखि सम्लग्न संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द भन्छन्, सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सकिएन भने यसले स्वास्थ्य क्षेत्रमा मात्रै होइन चौतर्फी क्षति पुरयाउँछ ।’
नेपालमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगदरको अवस्था
नेपालमा झण्डै २८.९ प्रतिशत मानिसले सुर्तिजन्य पदार्थको सेवन गर्ने गर्छन जसमध्ये ४८ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला रहेका छन् । नेपालीको पहिलो पटक धुम्रपान गर्न सुरु गर्दाको औषत उमेर १७.८ वर्ष रहेको छ ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष २७ वर्ष १३७ जना नेपालीको अल्पआयुमै मृत्यु हुने गर्दछ । यो मृत्यु संख्या नेपालमा हुने कुल मृत्युको झण्डै १५ प्रतिशत हो ।
सुर्तीजन्य पदार्थ सम्बन्धी रोगको उपचारका लागि झण्डै ४० अर्ब रुपैयाँ खर्च भइरहेको छ जुन कुल ग्राहस्थ उत्पादनको १ प्रतिशत हो ।
नेपालले ७ नोभेम्वर २००६ मा सुर्तिजन्य पदार्थ तथा धुम्रपान नियन्त्रण गर्ने सम्बन्धी महासन्धी (WHO FCTC) अनुमोदन गरी सोही अनुरुप नेपालमा सुर्तीजन्य पदार्थको न्यूनीकरण, नियन्त्रण तथा नियमन गरी जनताको स्वास्थ्य, सुविधा र आर्थिक हित अभिबृद्धि गर्न केही नीतिगत व्यवस्था अघि सारेको छ । ती यसप्रकार छन् :
१. सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८
२. सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, २०६८
३. सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स , पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०७१
४. सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने निर्देशिका, २०७१
माथि उल्लेखित कानुनको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण अपेक्षित रुपमा हुन सकेको छैन ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका चुनौतिहरुः
दिगो विकासका लक्ष्यहरु अनुसार सन् २०३० सम्ममा सुर्तीजन्य पदार्थको उपभोगमा ५० प्रतिशतले कमी ल्याई १५ प्रतिशतमा घटाउने उदेश्य रहेको छ । विगत एक दशकमा सुर्तीजन्य पदार्थ विरुद्धका नीति नियम बनाई जति कार्यक्रम गरि पनि सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रणमा अपेक्षित नतिजा भने आएको छैन । यसो हुनुमा केही चुनौतीहरु देखिन्छन् ।
१. सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेका कानूनको प्रभावकारी कार्यान्वयन नहुनु ।
– सार्वजनिक स्थानहरुका निर्वाद रुपमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन भइरहेको ।
– सुर्तीजन्य पदार्थको बट्टामा कम्तीमा ९० % चेतावनीमूलक सन्देश तथा घातक रंगिन चित्र छात्नुपर्ने व्यवस्थाको ठाडो उल्लंघन भइरहेको ।
– १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नपाइने व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको ।
– सार्वजनिक स्थानहरु जस्तैः शिक्षण तथा स्वास्थ्य संस्था,बाल कल्याण गृह, बृद्धाश्रम आदी स्थानबाट कम्तीमा १०० मिटर भित्र सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नपाइने व्यवस्था पुर्ण रुपमा लागु नभएको ।
– फुटकर रुपमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाइने व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन नभएको ।
२. सुर्तीजन्य पदार्थमा लाग्ने करको दर कम हुनु :
विश्व स्वास्थ्य संघको सिफारिस अनुसार चुरोटको खुद्रा मुल्यमा करको अंश ७५ % भन्दा माथि हुनुपर्दछ तर नेपालमा सबैभन्दा बढी विक्री हुने ब्राण्डको चुरोटको मुल्यमा करको अंश केवल ३५–४० % को बीचमा रहेको छ जुन दक्षिण एसियाका अन्य राष्ट्रहरुका लाग्ने करको दरभन्दा कम हो ।
३. Tobacco Cessation Programme ब्यापक तथा प्रभावकारी रुपमा संचालनमा नआउनु ।
४. सुर्ती उद्योगहरुको बढ्दो प्रभाव र विभिन्न प्रकारका सामाजिक उत्तरदायित्व सम्बन्धी गतिविधिहरुमा ब्यापक संलग्नता ।
सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर के भन्छन् विज्ञहरु :
‘सुर्तीजन्य पदार्थ विरुद्ध ‘होल अफ सोसाईटी होल अफ नेशन’ जाग्नु पर्छ ‘
- डा. दीपेन्द्ररमण सिंह, महानिर्देशक स्वास्थ्य सेवा विभाग
एक व्यक्तिले दिनमा २० खिल्ली साधारण चुरोट खायो भने उसको दिनमा कम्तीमा १०० रुपैयाँ खर्च हुन्छ । महिनामा ३ हजार रुपैयाँ । एक वर्षमा ३६ हजार रुपैयाँ । हाम्रो बयस्क उमेर समूहका २० प्रतिशतले खायो भने पनि त्यो संख्या ४० लाख हुन्छ र एक वर्षमा उनीहरुले खाएको चुरोटको मूल्य निकाल्ने हो भने १ खर्व ४४ अर्व हुँदो रहेछ । यो भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक वर्षको बजेट भन्दा धेरै । यदि एक वर्ष कसैले पनि धूमपान नगर्ने हो भने त्यतिका धेरै बजेट रहँदो रहेछ ।
अर्को कुरा हामीले चुरोटमा खर्च गर्ने मासिक तीन हजार रुपैयाँ बच्चाको शिक्षण शुल्कका लागि छुट्याउने हो भने राम्रै स्कुलमा त्यो बच्चाले पढ्न सक्छ । यसैले हामीले बच्चालाई शिक्षित बनाउने पैसा नजानिदो तवरले धूवामा उडाईरहेका हुन्छौँ । प्रत्येक दिन ८० लाख रुपैयाँ हामीले धुवामा उडाइरहेका हुन्छौँ ।
हामी गरीब भन्छौँ तर यसरी अनावश्यक रुपमा ठूलो परिमाणमा रकम गुमाई रहेका हुन्छौँ । स्वास्थ्यका लागि अत्यन्तै हानीकारक पदार्थ सेवनका लागि हामी नजानिदो तरिकाले ठूलो रकम फ्याकिरहेका हुन्छौँ ।
यसले त रोग आफ्नै ठाउँमा छ देश विकासलाई पनि पछाडी धकेलिरहेका हुन्छ । गरिबी, रोगी फेरी गरिवी
सोसियो डेमोग्राफिक र सोसियो इकोनोमिकमै यसले ठूलो प्रभाव पारेको छ ।
अर्को ग्लोवल हेल्थ पोलिटिक्स पनि छ । विकासोन्मुख देशहरुलाई रक्सी बनाउन हुँदेन चुरोट बनाउन हुँदेन भनिरहेको हुन्छ । तर त्यहि विकसित देशहरुले मल्टीनेसन कम्पनीहरुले त्यहि बनायरहेका हुन्छन् । उसैले खानु हुँदैन बनाउनु हुँदैन भनिरहेको पनि हुन्छ । त्यसैले हाम्रो जस्तो विकासोन्मुख देशहरुले ती विकसित देशहरुलाई धूमपान तथा मध्यपान उत्पादनमा कटौती गर्न वा रोक्नका लागि दवाव दिनु पर्ने अवस्था आएको छ ।
सुर्तीले रोगको जोखिम त बढायो नै । त्यसमा पनि असाध्य रोगको जोखिम । यसले एउटालाई मात्रै होइन परिवारलाई नै असर गर्ने भयो । यसले आउने पिढीलाई नै खतम बनाउने छ । शिक्षा स्वास्थ्य नै खतम हुने भयो । उसले स्वास्थ्यको साक्षरतामा पछाडी गर्दछ ।
हामीले सार्वजनिक ठाँउमा, भिडभाड हुने ठाँउमा खान हुँदैन किन भनेका छौँ भने यसले नखाने तर नजिकै भएको अर्को व्यक्तिलाई पनि हानी गर्दछ । बजारमा मात्रै होईन गाउँ घरमा त यसको असर अझ बढी देखिन्छ । चुरोट खादिन तर स्वाँ स्वाँ हुन्छ भन्छन् नि त्यो प्यासिभ स्मोकिङमा परेर हो ।
अर्को कुरा यसले पार्ने इकोनोमिक बर्डनले समष्टीगत रुपमा शिक्षा र स्वास्थ्यको साक्षरतामा ह्रास आउने भयो । यो भन्दा ठूलो गर्भवती हुँदा देखिने असर, कम तौल, अगंभंग भएका बच्चा जन्मने आदि समस्या हुन्छ ।
यी सबैलाई न्युनिकरण गर्नका लागि सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि होल अफ द सोसाइटी होल अफ दि नेशन लाग्नु पर्दछ । सरकारले सुर्तीजन्य पदार्थ न्युनिकरणकै लागि ऐन कानून ल्याएको छ । त्यसको कार्यान्वयनका लागि सबै जुटनु पर्दछ ।
‘सिस्टम स्टेन्थेनका लागि अब ‘वान हेल्थ’को अवधारणा आउनु पर्छ’
- डा. तारासिंहह बम क्षेत्रीय निर्देशक द युनियन एसिया प्यासेफिक
सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्य प्रणालीमा पार्ने विभिन्न असर मध्ये प्रमुख रुपमा आउँछ खर्च । बिरामी, उसको परिवार र समाजलाई पर्ने ‘बर्डेन’ ।
त्यो कसरी बढछ भने सुर्तीजन्य पदार्थको सेवनले हुने कडा खालको दीर्घ रोग लाग्छ । यसको उपचार खर्च बढ्ने नै भयो । जति दीर्घ रोगीहरु बढ्दै गयो उनी नै बढी खर्च बढ्ने भयो । ‘आउट अफ प्याकेट एक्सपेन्डिचर’मा पनि बृद्धि हुने भयो । त्यसको प्रभाव सिधै स्वास्थ्य प्रणालीमा पर्छ ।
हामीले युनिभर्सल हेल्थ कभरेजका कुरा गर्छौं । सरकारले सुरु गरेको स्वास्थ्य बीमाका कुरा गर्छौ । त्यहाँ तिर्ने प्रिमियमले मात्रै यस्ता दीर्घ र कडा रोग लाग्ने व्यक्ति उपचार सम्भव हुँदैन । अर्थात राज्यले खर्च थप्नु पर्छ । जति यस्ता दीर्घ र जीर्ण रोगीहरुको संख्या बढी हुन्छ राज्यलाई त्यति नै घाटा बढ्दै जान्छ । यसरी खर्च बढ्दै जाँदा पुरा स्वास्थ्य प्रणालीलाई नै ‘प्यारालाइज’ गराउने भयो । उता परिवारको पनि खर्च बढ्ने भयो । र अर्को स्वास्थ्य जनशक्तिमा पनि असर गर्ने भयो ।
उदाहरण दिउ, सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग लाग्ने सम्भावना अति बढी हुन्छ । यो रोग लागेपछि उपचारका लागि दक्ष चिकित्सक चाहियो । चिकित्सक भएर मात्रै भएन यसका लागि अत्याधुनिक उपकरण चाहियो । महंगो औषधि लामो समयसम्म लिनु पर्छ । अझ हामीकहाँ त उपचारकै लागि कतिपय विदेश प्रस्थान गर्दछन् । त्यो संगै खर्च बढ्ने र विदेसिने भयो ।
अर्को कुरा नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ भनिएको छ । अब संघ प्रदेश र स्थानीय तहले नसर्ने रोग लाग्न नदिन अभियान नै चलाउन पर्ने हुन्छ । अथवा क्यान्सर रोग स्क्रिनिङ गर्न पर्छ । तर त्यसका लागि जनशक्ति भर्ना गर्नु पर्छ । यसले पनि खर्च त बढ्ने नै भयो । त्यसपछि रोग पत्ता लागि हाल्यो भने पनि उपचार गर्न सुरु गर्न परयो । त्यसपछि फलोअपमा जानु पर्ला ।यी यावत कुराले खर्च बढाउँदै लैजान्छ ।
मैले भन्न खोजेको के भने सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोगको जोखिम बढाउँछ । त्यसबाट लाग्ने रोगको उपचार गर्न राज्यलाई हम्मेहम्मे परेको छ ।
दोस्रो, सुर्तीजन्य पदार्थको प्रयोगले स्वास्थ्य प्रणालीमा पार्ने असर भनेकोे प्रभाव हो । सुर्ती उद्योगको हस्तक्षेपले पुरा स्वास्थ्य प्रणालीमाथि नै प्रभाव जमाउन खोज्दछ । यसले पनि स्वास्थ्य प्रणालीलाई असर गर्दछ । सुर्ती उद्योलले कसरी हस्तक्षेप गर्दछ भने सुरुमै सुर्ती नियन्यन्त्रण सम्वन्धी कानून बनाउन दिदैन । यो नदिने वित्तिकै यसको असर नसर्ने रोगहरुमा देखिने भयो । यदि नसर्ने रोग नियन्त्रण गर्ने खालको नीति बनाइएन भने त्यसको असर युनिभर्सल हेल्थ कभरेजमा पर्ने भयो ।
अर्को सस्टेनेवल डेभलपमेन्ट गोल (एसडीजी)को तीन वटा फयाक्टरहरु मुख्य रुपमा आइरहेको छ । यसमा जलवायू परिवर्तन, बाताबरण र हाम्रो आनीबानी ।
बाताबरणको कुरा गर्दा विश्ववायी रुपमा यसको प्रदुषणको कुरा आउँछ । सामुद्रिक देशहरुले यसको पिडा अझ बढी भोगेको बताउँछन् । अहिले त्यस्ता देशहरुमा सुर्तीजन्य पदार्थको प्याकेटहरु समुद्रका जीवजन्तुले खाएर नास हुने अवस्थामा पुगको छ ।
सुर्तीजन्य पदार्थको सेवन सुरु गरेपछि कतिपयको आनिवानीमा अर्थात व्यवहारमा पनि भएको देखिन्छ । यसको सेवनपछि विस्तारै लागुऔषध तिर र अन्य कुलतमा पनि जाने गरेको देखिएको छ । त्यसैले यी स्वास्थ्यमा यी फ्याक्टरहरु पनि जोडिएर आउने भयो । इ सिगरेटको डिभाइसबाट अन्य प्राकृतिक तथा बाताबरणीय क्षति पुगेको कुरा पनि छ ।
एसडीजीलाई हेरौँ न त्यहाँ १ देखि १७ नम्बर गोल सम्म हेर्ने हो भने हरेकमा सुर्तीजन्य पदार्थ जोडिएर आउँछ । क्षयरोगको प्रमुख कारकमध्ये सुर्तीजन्य पदार्थ पहिलो वा दोस्रोमा पर्दछ । अब क्षयरोग नियन्त्रण सम्वन्धी कार्यक्रममा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रमलाई समेत अगाडी बढाइएन भने कसरी सफल हुन्छ ? एचआईभीमा पनि त्यहि नै हो । स्मोकिङबाटै अन्य कुलतमा फसेर ती स्थानमा पुगेको छ ।
राज्यले सुर्तीजन्य पदार्थको उद्योगहरुलाई निरुत्साहित गर्नपर्छ । यस सम्वन्धी कानूनको कडाईका साथ कार्यान्वयनमा लैजान पर्छ । जवसम्म त्यसलाई छुट्याएर लगिदैन तब सम्म स्वास्थ्य प्रणाली नै अघि बढ्दैन ।
तेस्रो कुरा सरकारले बनाएको सुर्ती नियन्त्रण सम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनु पर्दछ । नेपालमा स्थानीय सरकार भएकोले कानून कार्यान्वयनमा सजिलो हुन्छ ।
सिस्टम स्टेन्थेनका लागि अब ‘वान हेल्थ’को अवधारणा आउनु पर्छ । अहिले स्वास्थ्य भनेको मानव स्वास्थ्यलाई मात्रै लिईएको छ । तर मानव स्वास्थ्यमा प्रत्यक्ष भूमिका खेल्ने पशु स्वास्थ्य कृषि, बाताबरण, बन आदिलाई छुट्टयाएर सफल हुन सकिदैन । बाताबरण स्वास्थ्य, पशु स्वास्थ्य र मानव स्वास्थ्यलाई एकै ठाउँमा राखेर अघि बढ्नु पर्छ । जस्तै सरकारले कार्यक्रम बनाउँदा मल्टीसेक्टर एप्रोच गर्नुपर्छ ।
‘सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न नसक्दा राज्यले बर्षेनी ठूलो आर्थिक तथा मानवीय क्षति व्यहोरेको छ’
– डा. प्रकाश बुढाथोकी, बरिष्ठ दन्त विशेषज्ञ एवं कोषाध्यक्ष नेपाल चिकित्सक संघ
मानिसको सबैभन्दा माथिको भाग टाउँको र त्यसमाथिको रौँ देखि सबैभन्दा तलको भाग पाइतलामा हुने नङसम्म धुमपान तथा सुर्तीजन्य पदार्थले असर गर्दछ । यति हानीकारक पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने नीति सरकारले लिन सकिरहेको छैन् । अहिले नै हेर्नुहोस न धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगबाट लाग्ने गम्भीर रोगको उपचारका लागि अस्पताल खोल्न बेड थप्न सरकार क्रियाशिल छ तर यसको विरुद्धमा जनचेतना फैलाउन भने अलमल जस्तो देखिन्छ ।
हामीले सधै भन्ने गर्दछौ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिने बाताबरण तयार गर्नु महत्वपूर्ण कुरा हो । त्यहि अनुसार सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नका लागि व्यापक जनचेतना अभिबृद्धि गर्नु विद्यमान स्वास्थय प्रणालीको दायित्व पनि हो तर यस तर्फ पनि हाम्रा नीति निर्माताहरु अलमलमा परेको हो कि भन्ने देखिएको छ ।
कहिलेकाँही सरकारले जनताको स्वास्थ्य भन्दा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले दिने राजश्वलाई प्राथमिकता दिएको हो कि जस्तो पनि देखिने गरेको छ । यसो गर्नु सर्वथा गलत हो । यस्तो नीतिलाई सच्याउनु पर्छ । किनभने सुर्तीबाट आउने राजश्वको तुलनामा राज्यले निकै ठूलो क्षति व्यहोरिरहेको छ ।
सुर्तीजन्य पदार्थको प्रयोगले लाग्ने रोगको उपचारमा राज्यले ठूलो रकम खर्चेको छ । अर्को शव्दमा भन्ने हो भने सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न नसक्दा राज्यले बर्षेनी ठूलो आर्थिक क्षति व्यहोरेको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि भनेर विसं २०६८ सालमा बनाइएको कानून हेर्दा उत्कृष्ठ छ तर कार्यान्वयन निकै नै फितलो छ । यसलाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो । हालाकी अहिले काठमाडौँ र ललितपुर महानगरले यसको कार्यान्वयनमा तदारुकता देखाएको जस्तो देखिन्छ । यो अभियान अब सबै पालिकामा पुरयाउनु पर्ने पनि छ ।
सुर्तीजन्य पदार्थको प्रत्यक्ष असर त्यस भित्र हुने केमिकलबाट भइनै रहेको हुन्छ । बाताबरणीय असर पनि उत्तिकै छ । सुर्तीजन्य पदार्थको खोलहरुले बाताबरण कति प्रदुशित भइरहेको छ हामीसबैले देखेको कुरा हो ।
सुर्तीजन्य पदार्थको प्रयोगले लाग्ने रोगको उपचारमा जीडीपीको १ प्रतिशत खर्च हुन्छ । यदि हामीले सुर्तीजन्य पदार्थको सेवन गर्न छाड▒ै भने त्यो खर्च घटन सक्छ । त्यसको प्रमुख कारक सुर्तीजन्य पदार्थ नै हो ।
‘हामी सबैले निसर्त ढंगले सुर्तीजन्य पदार्थ सेवन न्युनिकरण गर्ने अभियान अघि बढाउनु पर्छ’
– डा. प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ तथा अध्यक्ष नेपाल एनसीडी एलायन्स
सुर्तीजन्य पदार्थको सेवनका कारण मुटु क्यान्सर स्वासप्रश्वास, हृदयघात मस्तिष्कघात लगायतका दीर्घ रोगहरु लाग्दछ । यी रोगको उपचारमा राज्यले ठूलो लगानी गरेको हुन्छ चाहे त्यो अस्पतालमा सहुलियत दिएर, निशुल्क औषधि दिएर, अस्पताल सञ्चालन खर्च दिएर वा अन्य कुनै कारणले ।
मलाई लाग्छ, अस्पतालमा भर्ना भएका बिरामीमध्ये ५० प्रतिशत बढी सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगका बिरामी छन् । र ति बिरामीको उपचार खर्च अरु ५० प्रतिशत बिरामीले तिर्ने खर्च भन्दा निकै बढी हुन्छ । अर्थात नसर्ने दीर्घ रोगहरु निकै महंगा रोग पनि हुन् । राज्य जव नसर्ने रोगबाट ग्रसित हुन्छ स्वास्थ्य प्रणाली अस्तव्यस्त बन्छ ।
दोसो कुरा सुर्तीजन्य पदार्थको सेवनले देशका कर्णधार भनिएका युवाहरु अस्वस्थ हुन थाले । उर्जाशील युवाहरु रोगी भएपछि काम कसले गर्ने ?सेवाको गुणस्तर कहाँबाट पाउने ? काम नहुने र खर्च बढी हुने भएपछि त्यसको असर कहाँ हुन्छ ? त्यसैले मैले त स्वास्थ्य प्रणालीमा मात्रै होइन बहुँपक्षीय असर हुन्छ भन्ने लाग्छ । यसैले हामी सबैले निसर्त ढंगले सुर्तीजन्य पदार्थ सेवन न्युनिकरण गर्ने अभियान अघि बढाउनु पर्छ । राज्यले चलाएका अभियानलाई साथ दिनु पर्छ । व्यक्ति स्वयं सचेत बन्ने र यसको न्युनिकरणका लागि अघि बढ्नै पर्छ । यसले हाम्रो स्वास्थ्य र स्वास्थ्य प्रणालीमा देखिएका नकारात्मक पक्षलाई समेत दुर गरिदिन्छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनको कार्यान्वयन गर्नुको विकल्प छैन्
– डा. चुमनलाल दास, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
नसर्ने रोगको प्रकोप यसरी बढेको छ कि घटाउनका लागि अनेकन उपाय खोजिएको छ तर सकिएको छैन् । कुल मृत्युको झण्डै ७५ प्रतिशत हिस्सा नसर्ने रोगमा परेको छ । हामी सबैलाई थाहा छ नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ हो । यसको सेवन बढ्दै जाँदा त्यसबाट लाग्ने मुटु क्यान्सर, मस्तिष्कघात, स्वासप्रश्वास सम्वन्धी दीर्घ रोगीहरुको सख्या पनि बढ्दो क्रममा छ । जसरी यो बढ्दो क्रममा देखिएको छ ।
राज्यको लगानी बढाउनु पर्छ । जनशक्ति थप्नु पर्छ । यसरी परिवर्तित नतिजाले स्वास्थ्य प्रणालीलाई नै अलमलमा पार्दछ । अर्थात अवरोध पैदा गर्दछ । त्यसैले अब सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनको कार्यान्वयन गर्नुको विकल्प छैन् । सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नु पर्दछ ।
सम्पर्क इमेल : [email protected]