घर भित्रै बिस्फोटक हुँदै गएको छ डेंगु, दुई-चार दिन शिक्षण संस्था बन्द गरौँ र लामखुट्टे नष्ट गर्ने अभियान चलाउँ
उपत्यकामा चर्को रुपमा देखिएको डेंगुको बाछिटा लगभग देशैभर पुगेको छ । यसलाई नियन्त्रण गर्नका लागि अनिवार्य सर्त भनको लामखुट्टे नियन्त्रण गर्नु हो । अर्थात लामखुट्टे नष्ट गर्नु हो ।
यसपटक डेंगुले प्रकोपको रुपधारण गर्नु अघि नै अर्थात करीव दुई महिना अघि देखि नै मैले लामखुट्टे नियन्त्रण गर्नु पर्ने धारणा राख्दै आइरहेको थिएँ । किनभने मैले सन् २०१९ को डेंगु महामारीलाई नजिकैबाट नियालेको थिएँ । र त्यसबेला पनि मैले लामखुट्टे नियन्त्रणमा जोड दिएको थिएँ । यद्धपी लामखुट्टे नियन्त्रणमा चुक्दा इतिहासमा डेंगुले नेपालमा ठूलो र लामो समयसम्म प्रभाव पारेको थियो।
डेंगु प्रकोपलाई नियन्त्रण गर्न यतिवेला सरकारले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान शुरु गर्ने भनेको छ । तर हजारौ मानिस संक्रमित भैसक्दा/भैरहदा पनि अभियानले अभियान कै रुप/स्वरुप भने लिन सकेको देखिदैन।
कहि कतै धुवा (फोगिंग) उडाउने र खाल्टा खुल्टीमा लार्भा खोज्ने काम मात्र भएको देखिन्छ।
‘लामखुट्टे खोज र नष्ट गर’ अभियानको मुख्य उदेश्य भनेको लामखुट्टेको बृद्धि विकास रोकेर घर घरमा मानिसलाई संक्रमित हुनबाट बचाउनु हो ।
तर यतिवेला हाम्रो अस्पतालले स्थापना गरेको ‘डेंगु क्लिनिक’ मा काम गरिरहेको मेरो अनुभवले के भन्छ भने एउटै घरमा अधिकांश सदस्यहरु एकपछि अर्को संक्रमित हुँदै आइरहेको छन् । यसको अर्थ अब घर घरमा संक्रमित लामखुट्टेको प्रवेश भैसकेको छ । यसबाट हामीले भन्न सक्छौँ डेंगु घर भित्रै विस्फोटक अवस्थामा रहेको छ ।
अब के गर्ने ?
सरकारले अभियानको रुपमा सुरु गर्न लागेको ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान धेरै ढिला भैसकेको छ । यद्धपी अभियानलाई निरन्तरता दिँदा भने बेफाइदा छैन् । हाल घर वा कार्यालय वा विद्यालय कलेजहरुमा एक पछि अर्को संक्रमित हुने क्रम जारी छ।
त्यसैले अहिले मुख्य आवश्यकता भनेको घर भित्र प्रवेश गरेका लामखुट्टेलाई नष्ट गर्ने नै हो ।
यहाँ निर मैले पछिल्ला केही दिनमा हाम्रो अस्पतालको क्लिनिकमा आएका बिरामीहरुको उपचार गर्दाको अनुभव उल्लेख गर्न चाहन्छु ।
केही दिन अघि मात्रै एक शिक्षिका अत्यधिक शरीर दुख्ने, उच्च ज्वरो आउने, वाक-वाक लाग्ने, आँखाको गेडी दुख्ने, ढाडको तल्लो भागमा अत्यधिक पिडा हुने समस्या लिएर आएकी थिईन । उनले त्यसबेला आफ्नो विद्यालयमा सहकर्मी तथा केही विद्यार्थीलाई पनि यहि समस्या भएको बताएकी थिईन ।
एक बालिका त अस्पताल परिसरमा बेहोस नै हुन पुगेकी थिईन ।
अर्को एक बालिका ‘डेंगु क्लिनिक’ मा आइपुग्दा डेंगुको कारणले श्वास-प्रश्वासमा नै समस्या देखिएको थियो ।
कुनै कुनै विद्यालयहरुमा डेंगुबारेमा सामान्य जानकारी दिन थालेको सुनिएको छ तर लामखुट्टे नष्ट गर्ने अभियानमा लागेको देखिदैन् । यसको अर्थ आगामी दिनहरुमा थप कर्मचारी तथा विद्यार्थी बालबालिकाहरु संक्रमित हुनसक्ने सम्भावना देखिन्छ।
तसर्थ विद्यालय वा कलेजलाई एक दुई दिन भएपनि अध्ययन् स्थगित (बन्द) गरि लामखुट्टे नष्ट गरेर मात्र सुचारु गर्दा विद्यार्थी र बालबालिकाहरु डेंगु संक्रमित हुनबाट सुरक्षित हुने थियो ।
अर्को पनि अनुभव बताउँछु । केही दिन अघि मात्रै एक जोडी श्रीमान श्रीमतीले परिवारमा हामी दुई जना उपचार गरेर निको भयौ तर अब मुमालाई पनि हामीलाई जस्तै लक्षण देखिएकोले लिएर आएको भन्दै म कहाँ स्वास्थ्य परीक्षण गराउन आएका थिए । यस्तै समस्या अहिले धेरै ठाउँमा सुनिन्छ अर्थात अहिले यो समस्या घर घरको समस्या जस्तो भएको छ।
आज भोलि त डेंगु देखिए सिटामोल खाएर बसे हुने रहेछ भनेर जचाउँन समेत आउन छोडेका देखिन्छ। यसबाट पक्कै पनि तथ्यांकले डेंगु घटेको देखाउला जबकि यो उत्कर्षमा तर स्थिर रहेको छ ।
घरमा एकजना डेंगु पुष्टि भैसके पछि सोहि संक्रमित लामखुट्टेले परिवारको अर्को सदस्यलाई टोके आफु जस्तै अवस्थ हुनसक्छ भनेर शतर्कता अपनाएको भने पटक्कै देखिदैन।
र परिणाम स्वरुप घर भित्रै एकपछि अर्को संक्रमित हुदै गएको देखिन्छ।
घर भित्र लुकेका लामखुट्टे नष्ट गर्न बेवास्ता गरिए घर भित्रै डेंगु विस्फोटकको अवस्थाले निरन्तरता नपाउला भन्न सकिदैन।
अन्तमा, ‘लामखुट्टे खोज र नष्टू गर्ने आक्रामक अभियान गर्न धेरै ढिला भैसकेको र अहिले घर, विद्यालय, कार्यालय, व्यापारिक ठाउँ आदिमा लामखुट्टे व्यापक डेंगु फैलाउने काममा ब्यस्त छ ।
जहाँ डेंगु देखिन्छ सो ठाउमा (घर, विद्यालय, कार्यालय, ब्यापारिक ठाउँ) ूलामखुट्टेको खोजी र नष्ट गरू अभियानलाई व्यापकता दिन अति आवश्यक भैसकेको छ।
हाल स्कुले बालबालिकाहरु पनि डेंगु संक्रमित हुने क्रम तिब्र देखिएकोले विद्यालयहरु एक दुइ दिन बन्द गरेर भएपनि लामखुट्टे नष्ट गर्न सके डेंगुको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने थियो।
# डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटमा कार्यरत छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com