‘अब त छापौँ सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र’
'अब त नेपाल पनि प्लेन प्याकेजमा जानु पर्छ'
काठमाडौँ, १९ भदौ । सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा क्रियाशिल संस्था एक्सन नेपालले सुर्तीजन्य पदार्थका बट्टा प्याकेट, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका-२०७१ लाई तत्काल पूर्ण कार्यान्वयन गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
यहि निर्देशिका कार्यान्वयन गर्न गराउन भन्दै आठ वर्ष अघि दायर रिटको पक्षमा सर्बोच्च अदालतले फैसला गरेपछि एक्सन नेपालले आइतबार पत्रकार सम्मेलन गरी ध्यानाकर्षण गराएको हो ।
स्वास्थ्य मन्त्रालयले १३ कात्तिक २०७१ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०६८ लाई संसोधन गर्दै यो निर्देशिका ल्याएको थियो । संसोधित निर्देशिका आउनासाथ त्यसको खारेजीको माग गर्दै चुरोट उत्पादन गर्ने कम्पनी प्रफेक्ट व्लेन्डस नेपालले सर्बोच्चमा रिट दायर गरेको थियो । त्यसको विरुद्ध एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले २ चैत २०७२ मा अर्को रिट दायर गरेका थिए । दुबै रिटमा करीब आठ वर्ष सुनुवाई र बहसपछि सर्बोच्चले गत १२ भदौमा फैसला गरेको थियो । त्यसमा फ्रफेक्ट व्लेन्डसको रिट खारेज गर्दै एक्सन नेपालले दायर रिटमा परमादेश जारी गरेको छ ।
‘फैसला आएको एक साता भएको छ । अब तत्काल हामीले यसको पूर्ण कार्यान्वयन होस भन्न चाहन्छौँ । यसको कार्यान्वयन गर्ने गराउने निकायलाई फैसला कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन पनि चाहन्छौँ,’आइतबार आयोजित पत्रकार सम्मेलनमा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले भने । उनले आठवर्ष अघि बनाएको कानून कार्यान्वयन हुन नपाउँदा सुर्ती नियन्त्रणको प्रयास फितलो भएको र त्यसबाट हजारौँको ज्यान गएको भन्दै यसलाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।
‘कतिपयले चित्रबाट के प्रभाव पर्छ ? भनेर पनि टिप्पणी गर्ने गरेका छन् तर नेपालमै सन् २०१५ मा गरिएको अनुसन्धानले के देखायो भने ७५ प्रतिशत भागमा चेतावनीमुलक घातक रंगिन चित्र छाप्दा चुरोट खाने दरमा ५५ प्रतिशतमा कमि आएको थियो । यसलाई बढाएर ९० पुर्याउँदा यसको प्रभाव अझै बढी देखिने अरु अनुसन्धानले पनि देखाएको छ । त्यसैले यो अनिवार्य छ,’ एक्सन नेपालका अनुसन्धान अधिकृत मोहित सिंंह ठगुन्नाले भने ।
कार्यक्रममा अधिवक्ता रामचन्द्र शर्माले जनस्वास्थ्यलाई प्रत्यक्ष हानी गर्ने सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न सरकारले संसोधन गरेको निर्देशिका अब पूर्ण रुपमा कार्यान्व्यन हुनुपर्ने बताए । ‘यो निर्देशिका विरुद्ध परेको रिटमा अन्तरिम आदेश थिएन त्यसैले यसअघि नै पनि कार्यान्वयनमा लैजान मिल्थ्यो तर लगिएन । तर अब त बाटो खुल्यो,’ उनले भने ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक २७ हजार १३७ जनाको मृत्यु हुने गरेको छ । जो नेपालमा हुने कुल मृत्युको १५ प्रतिशत हो । यसकै सेवनबाट हुने रोगको उपचारका लागि प्रत्येक वर्ष ४७ अर्व रुपैयाँ नोक्सान भइरहेको छ । जो कुल ग्राहस्थ उत्पादनको १ प्रतित भन्दा बढी हुन आउँछ ।
नेपालले सन् २०१५ मा सबै सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्ने निर्देशिका बनाउँदा संसारकै प्रथम भएको थियो । यति बेला भने ९० प्रतिशत चित्र छाप्दा पनि तेस्रो स्थानमा आउँछ । एक्सन नेपालका अध्यक्ष चन्द भन्छन्, ‘धेरै समय घर्की सकेको छ, अहिले संसारका २१ वटा देश प्लेन प्याकेजमा गइसकेका छन् र नेपालले पनि अब प्लेन प्याकेजमा जानु आवश्यक बनिसकेको छ ।’
सम्पर्क इमेल : [email protected]