जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ: डब्ल्युएचओ
एजेन्सी, १६ भदौ । जेनेभा विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ ।
हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।
यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दर बढ्न सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका छन् ।
उनले भनेका थिए, ‘‘हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौँ तर अबका दिनमा आउने चिसो मौसममा भने यस सङ्क्रमणको असर अझ बढी देखिन सक्छ, हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ ।’’
विश्वमा यसको सङ्क्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्याङ्कले देखाउँछ ।
अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आगामी जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याबे्रसियसले बताएका छन् ।
सम्पर्क इमेल : [email protected]