एमडी र एमफार्म अध्यापनका लागि तयारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
विज्ञहरुलाई राखेर करिकुलम डेभलपमेन्ट वर्कसप गर्दै
काठमाडौँ, १५ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोष्टग्राजुएट्स तहको थप दुईवटा विषय अध्यापन गराउने योजनाका साथ तयारी थालेको छ । प्रतिष्ठानले बुधबार चिकित्सा शिक्षा क्षेत्रका विज्ञहरुलाई बोलाएर इन्टरनल मेडिसिन तर्फको एमडी र एम फार्म अध्यापनका लागि करिकुलम डेभलपमेन्ट वर्कसपको आयोजना गरेको छ ।
अहिलेसम्म प्रतिष्ठानमा एमबीबीएस देखि एमडीएमएसम्मका १२ विधामा पढाई हुँदै आएको छ ।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले चिकित्साशिक्षाका विज्ञहरुलाई बोलाई थप दुई विषय अध्यापनका लागि आवश्यक पर्ने पाठ्यक्रम निर्माणका लागि छलफल आयोजना गरिएको बताए ।
‘अब हामीले जुम्लामा डक्टर अफ मेडिसिन (एमडी) इन इन्टरनल मेडिसिन र मास्टर इन फार्मेसी (एम फार्म) इन फार्माकोलोजी एण्ड थेरापेटिक्स र क्ल्नििकल फार्मेसी विषयको अध्यापन गर्ने योजनामा छौँ । त्यसैका लागि बुधबार विज्ञहरुलाई बोलाई कार्याशाला गोष्ठीको आयोजना गरेका हौँ’, उनले भने ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा अर्जुन कार्की, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्व डिन प्राडा जगदीश अग्रवाल लगायतका विज्ञहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा त्रिविका उपकुलपति प्राडा बास्कोटाले जुम्लामा माउन्टेन हर्वल तथा मेडिसिनका लागि समेत उपयुक्त थलो भन्दै प्रतिष्ठानले अनुसन्धान केन्द्रको रुपमा समेत आफूलाई अघि बढाउनु पर्ने बताए ।
आयोगका उपाध्यक्ष प्राडा गिरीले कर्णाली प्रतिष्ठानको विषयमा आफू पहिले देखि नै जानकार रहेको भन्दै दुर्गम क्षेत्रमा विशेषज्ञ पठाइ उपचार दिने त्यहाँको मोडल साच्चिकै महत्वपूर्ण र प्रभावकारी भएको बताए ।
प्राडा कार्कीले प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम बनाएर अघि बढ्नुपर्ने बताए ।
प्राडा अग्रवालले नेपालमा विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानले बनाएका पाठ्यक्रमहरु अपडेटेड र समय सान्दर्भिक नभएको भन्दै सच्याउनु पर्ने बताए । उनले जुम्लाले गरेको प्रयास प्रति आफू खुशी भएको बताए ।
सम्पर्क इमेल : [email protected]
समयको माग अनुसार अपग्रेट हुनु राम्रो कुरा हो