क्यान्सर पीडित विश्वविख्यात फुटबलर पेलेको स्वास्थ्यमा सुधार
आफ्ना समर्थक र शुभचिन्तकलाई के भने ?
ब्राजिल, १४ भदौ । क्यान्सर रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । ८१ बर्षीय पेलेले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनले सबैलाई धन्यवाद भनेका छन् । आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उल्लेख गरेका छन् ।
विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पु¥याउन सफल पेले गतवर्ष देखि क्यान्सर रोगबाट पिडीत भएका हुन् । शरीरमा देखिएको ट्युमर शल्यक्रिया गरी हटाएपछि उनले साओ पाउलोको एक अस्पतालमा केमोथेरापी गराएका थिए ।
पछिल्लो पटक पिसाब नलीमा सङ्क्रमण देखिएपछि उनी दुई साताभन्दा बढी समय अस्पताल भर्ना भएका हुन् ।
विश्वका उत्कृष्ट फुटबलर पेलेले आफ्नो जीवनको २१ वर्ष फुटबल खेलमा बिताएका थिए । एक हजार तीन सय ३६ वटा व्यावसायिक स्पर्धामा उनले एक हजार दुई सय ८१ गोल गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
आफ्ना समर्थक र शुभचिन्तकलाई के भने पेलेले ?
मैले यो फोटो तपाईलाई पठाएको छु, तपाईलाई धन्यवाद भन्नको लागि। म मेरी श्रीमतीको लागि, हाँसोको लागि, मेरो घरको शान्तिको लागि, र तपाईंका सबै मायालु सन्देशहरूको लागि धेरै आभारी छु। मेरो स्वास्थ्यमा धेरै राम्रो भएको छ र मैले आफ्नो स्वास्थ्यको ख्याल गरिरहेको छु ।
मेरा स्वास्थ्यका बारेमा केही झुटा समाचारहरु फैलिरहेको हुनाले मैले यो पोस्ट गर्नु परेको हो । हो म अहिले अवश्य पनि निराश छु, तर यसले मलाई सधैभरी निराश पार्दैन। म यो खेल जित्दै छु। यहाँहरुलाई मुरी मुरी धन्यवाद ।
सम्पर्क इमेल : [email protected]