प्राडा रविन्द्रमान श्रेष्ठलाई साइनोडेन्ट इन्टरनेशनल अवार्ड – २०२२ प्रदान
काठमाडौँ, ७ भदौ । साइनोडेन्ट ग्लोबल हेल्थकेयरले प्राडा रबिन्द्रमान श्रेष्ठलाई ‘साइनोडेन्ट इन्टरनेशनल अवार्ड -२०२२’ प्रदान गरेको छ । भारतको लखनउमा भएको विश्व दन्त सम्मेलनको अवसरमा गत विहीबार प्राडा श्रेष्ठलाई सो अवार्ड प्रदान गरिएको हो ।
दन्त चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुरयाएका व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा प्राडा श्रेष्ठलाई ‘बेष्ट ओभरसिज डेन्टिस्ट अफ द इयर’ विधाबाट सो अवार्ड प्रदान गरिएको हो ।
अटलविहारी बाजपेयी साइन्टिफिक कन्भेन्सन सेन्टरमा आयोजित विशेष समारोहमा साइनोडेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अनमोल बगरियाले उक्त अवार्ड प्रदान गरेका हुन् ।
यसैबीच डा श्रेष्ठले लखनउको किंग जर्ज मेडिकल युनिभर्सिटीमा साइनोडेन्ट र इन्डियन सोसाइटी अफ डेन्टीस्ट्रीले आयोजना गरेको चौथो विश्व दन्त विज्ञान तथा मुख स्वास्थ्य सम्मेलनमा प्रमुख बक्ताका रुपमा वैज्ञानिक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्राडा श्रेष्ठ हाल काठमाडौँ विश्वविद्यालय आवद्ध कान्तिपुर डेन्टल कलेजमा प्रिन्सिपलको रुपमा कार्यरत छन् । उनी दन्त चिकित्सामा शैक्षिक र अनुसन्धान गतिविधिमा सम्लग्न छन् ।
सम्पर्क इमेल : [email protected]