लुकाएर राखिएको करीब १ करोड रुपैयाँको चुरोट तथा गुडखा बरामद
काठमाडौँ, ५ साउन । नेपाल प्रहरीले काठमाडौँको एक गोदामबाट अन्दाजी १ करोड बराबरको चुरोट तथा सुर्ती बरामद भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार काठमाडौं महानगरपालिका – ७ गोपीकृष्णनगरस्थित एक गोदामबाट अन्दाजी एक करोड बराबरको चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो।
प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार सो क्रममा प्रहरीले एक जना गोदाम सञ्चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका– १ घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय नवराज भन्ने छविलाल अगस्ती छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
भन्सार छलेर ल्याइएका विदेशी चुरोट फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा कार्यालयको टोली खटिएको थियो।
ब्रिल लाइटस्, गुडाङ गरम, ब्ल्याक, माइवान्ड, क्लिओप्याट्रा, मन्ड, ब्ल्याक डग लगायत चुरोटहरू बरामद भएका छन्। यस्तै गोदामबाट ४२० किलो पटाका पनि बरामद गरेको छ। त्यस्तै बजाज मोटरसाइकलको पार्टस्, अक्सिमिटर बरामद गरेको हो।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार अगस्तीले गोदाम श्रीमती श्रीजल अगस्तीको नाममा गरेको छ।
पटाका पनि बरामद भएको हुँदा उनीमाथि प्रहरीले सुरूमा विष्फोटक पदार्थ सम्बन्धी ऐनमा म्याद थप गर्ने तयारी गरिरहेको छ। त्यस्तै बरामद भएको चुरोटबारे भने राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्ने कार्यालयले जनाएको छ।
सम्पर्क इमेल : [email protected]