सत्तामा रहेका बेला चलेका हल्लाबारे केपी ओलीको पाँच स्पष्टीकरण
काठमाडौँ, २५ चैत । नेकपा एमालेको कान्छो जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबारबाट राजधानीमा सुरु भएको छ ।
नियमित तालिका भन्दा करीव तीन वर्ष पछि भएको महाधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफै प्रज्ञाभवन कमलादी आएका थिए ।
संघका महासचिव डा झलक गौतले आफ्ना अध्यक्ष रामबहादुर चन्द र एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई बोल्न दिएपछि सम्वोधनका लागि सिधै प्रमुख अतिथि रहेका ओलीलाई आग्रह गरेका थिए ।
मञ्चमा बसेरै सम्वोधन गरेका ओलीले एक घण्टा बढीको भाषणमा राजनीति दल प्रति खासै आक्रोस र आरोप लगाएनन् । बरु आफ्नो शासनकालमा स्वास्थ्यका विषयमा गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरे ।
उनले विशेषगरी कोरोना महामारीमा आफूले दिने सल्लाह सुझाव, मेडिकल शिक्षाका बारेमा आफूले दिने गरेको धारणाको विषयमा हुने गरेका विवाद र त्यसका कारणका बारेमा बताए । इतिहास र आदिमकालमा पूर्वजहरुले अपनाउने स्वास्थ्यका विषय देखि बर्तमानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा बढी खर्च गरेका उनले आफूप्रति लाग्दै आएका आरोपको बारेमा यसरी प्रष्ट पारे ।
(ओलीकै शव्दमा)
१.आत्मबल बढाउन बेसार पानी र गुर्जोको अभियान चलाएँ
कोरोना भाइरस देशका लागि होइन सारा विश्वका लागि नयाँ थियो । भाइरस भनेपछि टवाक्कै निको पार्ने औषधि हुने कुरा भएन । यो कस्तो रोग हो भन्ने पनि कसैलाई थाहा भएन । चिकित्सा क्षेत्रका विज्ञहरुालई सोध्यो अत्यन्तै खतरनाक हो भन्नु हुन्थ्यो । चिकित्सकहरु पनि सिसाबाट हेरेर,माइकबाट सोधेर बिरामीको संक्रमितको उपचार गर्न थाल्नु भयो भन्ने सुन्नमा आयो । हामीकहाँ यो भाइरसका लागि जाँच गर्ने उपकरण थिएन । छुट्टै आइसोलेसन वार्ड थिएन । क्वारेन्टिन थिएन । समाचारले यति अत्याउथ्यो कि अब सारा संसार सखाप हुँदैछ कि जस्तो लाग्यो । चिकित्सकहरुलाई सोध्दा उहाँहरु भन्नुहुन्थ्यो, लक्षण विभिन्न हुन्छन् तर उपचार यहि भन्ने चाहि हुँदैन भन्नु हुन्थ्यो । यो भाइरसले रुघा लाग्छ ? भनेर सोध्यो, उहाँहरु भन्नुहुन्थ्यो रुघा त लाग्छ तर रुघाको औषधिले सच्चो हुँदैन । झाडा पखाला लाग्छ ? भनेर सोध्यो पखला त लाग्छ तर पखलाको मात्रै औषधिले काम गर्दैन । निमोनिया गराउँछ ? निमोनिया त गराउँछ । मान्छे मर्ने पनि त्यहि कारण हो तर त्यसको उपचार विधिले काम गर्दैन । भन्नु हुन्थ्यो । अब यसरी भएन भन्ने भयो । जव हामीसंग तत्कालका लागि केही विकल्प देखिदैन भने अरु विकल्पहरु खोज्नु पर्छ निकाल्नुपर्छ ।
हामीले चिकित्सकहरुको सल्लाह बमोजिम स्वास्थ्य सावधानीका उपायहरु, एसएमएस फलो गर्न भन्यौँ । विस्तारै लकडाउनको निर्णय गर्न अघि सर्यौं । यसले हामीलाई भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सहयोग पुग्दथ्यो । त्यसपछि बेसार पानी, तातो पानीहरुले रुघा खोकी फाल्छ भन्ने भयो । बोसिय तत्व घटाउँछ भन्ने सामान्य सिद्धान्त हो । त्यसलाई मैले वकालत गर्न थालें । धेरैले मेरो कुरालाई खिल्ली उडाउनु भयो । तर हामीले तत्काल अरु उपाय नभएकोबेलामा जनता आत्तिएको बेलामा मनोवल, आत्मबल बढाउनका लागि यो अभियान चलाएको थिएँ । त्यसले काम गरेको थियो भन्ने लाग्छ मलाई ।
लकडाउन गर्न भन्दा अर्थतन्त्र तहस नहस बनाउन थाल्यो भनेर कांग्रेस उफ्रिएको थियो । तर मैले त्यसबेला भनेको थिएँ । सरकारको दायित्व पहिले जनता बचाउनु हो । अरु विस्तारै हेरौँला । हामीले त्यसबेला यति नगरेको भए ? अहिलेको जस्तो सरकार भएको भए ? के हाल हुन्थ्यो ? अमेरिका, बेलायत, स्पेन, इटाली र सारा युरोपलाई कोभिडले थला पार्यो तर हामी त्यो अवस्थामा पुग्न पाएनौँ । हामीले बहादुरीपूर्वक कोभिडविरुद्ध लड्यौँ । यसमा सबैभन्दा धन्यवादका पात्र तपाईं स्वास्थ्यकर्मीहरु हुनुहुन्छ ।
२. सिरक उढने बेलामा च्यादर दियो
कोभिड आएको सुरु सुरुको बेलामा सरकारले गरेको कामलाई कतिपयले सिरक ओडनुपर्ने बेलामा च्यादर दियो भनेर समेत आलोचना गरेको सुनियो । मैले के भन्छु भने सिरक छ भने न सिरक ओड्ने हो । छैन भने त त्यहि च्यादर नै पाए पनि त ओडनु पर्यो । हामीसंग त्यसबेला अरु केही औषधि खोप केही थिएन । जे जति थियो । त्यसैबाट काम चलाउँदै जाने हो । गरेको पनि त्यहि हो र हामी सफल पनि भईयो ।
३. मेडिकल कलेज खोल्न खोज्यो कि एक जनाले म सुत्दिम भन्छ सरकार थरर ………….
नेपाल मेडिकल र इन्जिनियरिङ शिक्षामा हव बन्नु पर्छ । अन्तराष्टिय हव । ठूला ठूला मेडिकल कलेज, हस्पिटल बनाउने, विदेशबाट बिरामीहरु उपचार सेवाका लागि नेपाल आउने बाताबरण बनाउन सकियोस । देशका जनताले स्वदेशमै विश्वस्तरको उपचार निशुल्क पाउन भन्ने हो । तर मेडिकलको कुरा ग र्यो कि एक जना मान्छेले म सुत्दिम भन्छ, अनि सरकार थरर । किन यस्तो भइरहेको छ ? यो राम्रो हो ? होइन नि । मेडिकल शिक्षाका नाममा योजनाबद्ध रुपमा विद्यार्थी बाहिर पठाउने गिरोहले मान्छे उतार्छ । मान्छे सुताउँछ । सरकार डराउँछ र खुरु खुरु उसले भनेको मान्न बाध्य हुन्छ । यस्तो पनि हुन्छ कहि ? यसलाई सुधार्नु पर्छ देशलाई विकासको बाटो तर्फ अघि बढाउने हो भने ।
४. नेपालीको जीनमै मेडिकल शिक्षा छ
धन्वन्तरीलाई आयुर्वेदका प्रणेता भनिन्छ । सुसुप्त ऋषिलाई सर्जरीका पितामह भनिन्छ । हाम्रा आदिमकालका ग्रन्थहरुमा ती कल्पना गरिएका छन् जो साकार भइरहेका छन् । चाहे त्यो दक्षप्रजापतिको टाँउका जोडने कुरा हो वा गणेशको शीर हात्तीको टाउँको जोडने कुरा होस । हाम्रा हजारौँ बर्ष पुराना ग्रन्थहरुमा औषधि उपचारका विषयमा लेखिएका छन् र त्यसलाई अहिले विज्ञानले पुष्टि गरेको छ । त्यसैले भन्छु हामी मेडिकल शिक्षाका लागि अत्यन्त फिट छौँ । नेपालीको जीनमा मेडिकल शिक्षा रहेको छ । हामीले थोरै मिहिनत गर्दा पनि सहज सफलता पाउँछ । नेपालीहरुलाई डाक्टर बन्नका लागि गाह्रो हुँदैन । उत्कृष्ठ डाक्टर बन्छ ।
५ ओम्नी उचाल्ने भ्रष्टाचारीकै काम रहेछ
मलाई खास भन्ने हो भने ओम्नीको कुरा त्यहि मिडियामा आएपछि थाहा पाएको हो । मेडिकल सामग्री ल्याउने एउटा कम्पनी जो स्वास्थ्य सेवा विभागको महानिर्देशकले निर्णय गरेर तय गर्छन् । त्यो पनि खरीद ऐन प्रक्रिया अनुसार । त्यहि नै हो गरेको पनि तर यहाँ त ओम्नीमा ब्रमलुट, भनेर योजनाबद्ध रुपमा चौतर्फी हानियो । तर अहिले त्यसको केही पाइयो त ? उसैले ल्याएको सामग्रीले त्यसबेलाको संकट त टर्यो । त्यो केही थिएन । बरु त्यो हल्ला चलाएर पहिले देखि नै सेटिङमा खान पल्केका भ्रष्टाचारीहरुले यो षडयन्त्र रचेका रहेछन् भन्ने त अहिले नै विस्तारै पुष्टि हुँदै गएको छ ।
सम्पर्क इमेल : [email protected]