सुत्केरीको मृत्यु पछि अस्पतालमा तनाव, डाक्टरले गरिन आत्महत्या
भारत । प्रसूतीको क्रममा एक महिलाको मृत्यु भएपछि बढेको विवादले डाक्टरको समेत ज्यान लिएको छ । मृत्यु पछि आक्रोसमा आएका सुत्केरीका परिवार तथा आफन्तले डाक्टरविरुद्ध हत्याको आरोप लगाउँदै स्थानीय प्रशासनमा उजुरी दिएका थिए । उजुरी पछि तनावमा आएकी डाक्टर अर्चना शर्माले आत्महत्या गरेकी हुन् ।
घटना राजस्थानको हो । गत सोमबार विहान खेमावासका लालूराम बैरवाले आफ्नो २२ वर्षीया श्रीमती आशा देवीलाई सुत्केरी गराउन लालसोट अस्पताल ल्याएका थिए । त्यहाँ डाक्टर अर्चना सहितको टोलीले सुत्केरी गराउन खटिएको थियो । तर सुत्केरी भइसकेपछि अचानक आशा देवी स्वास्थ्य बिग्रियो र उनको मृत्यु भयो । मृत्यु पछि आक्रोशित परिवार तथा आफन्तले दोष डाक्टरलाई लगाए ।
दिनभर अस्पताल परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरुले लालसोट थानामा गएर सुत्केरी गराउने कार्यमा सम्लग्न डाक्टर अर्चना सहितको टोलीविरुद्ध हत्याको आरोप लगाउँदै मुद्धा दायर गरे ।
प्रसूतिको क्रममा मृत्यु भएकी महिला, त्यसपछि परिवारको प्रदर्शन र त्यसपछि हत्या आरोप लागेपछि डा अर्चनामा डिप्रेसनमा आएकी थिईन् । त्यसपछि उनले झुन्डिएर आत्महत्या गरेकी थिईन् । सुसाइड नोटमा आफू निर्दोश रहेको उल्लेख गरेकी छन् ।
सुत्केरीको मृत्यु, हंगामा र डाक्टरको आत्महत्या समेत भएपछि विग्रिएको अवस्था सुधार्न राजस्थान सरकारले नयाँ प्रहरी प्रमुखको नेतृत्वमा छानवीन गर्ने टोली बनाएको छ ।
नोट: यदि तपाईँ मानसिक तनावबाट गुज्रिरहनुभएको छ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया यी हेल्पलाइनहरूमा सम्पर्क गर्नुहोस्।चौबिसै घण्टा चल्ने र पैसा नलाग्ने सरकारी हेल्प लाइन नम्बर ११६६ शिक्षण अस्पताल काठमाण्डूको हेल्प लाइन नम्बर १६६००१२१६००
सम्पर्क इमेल : [email protected]