अब बन्ने भयो ६५० एमजीको प्यारासिटामोल, बढेको डोज अनुसार मूल्य समायोजन गरिने

काठमाडौँ, ११ चैत । नेपालमा पनि ६५० एमजीको सिटामोल ट्यावलेट बन्ने भएको छ । बिहीबार स्वास्थ्य सचिव डा रोशन पोखरेलको अध्यक्षतामा बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले ६५० एमजीको प्यारासिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको हो ।

साथेै बैठकले बढाइएको डोज र अन्तराष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोक्ने सहमति समेत दिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बताए ।

यसअघि स्वदेशी औषधि उत्पादकहरुले ६५० एमजीको प्यारासिटामोल दर्ता गर्न पाउँ भन्दै विभागमा निवेदन दिएका थिए । कतिपयले यो कदमलाई प्यारासिटामोलको मूल्य बढाउने औषधि उत्पादकहरुको नयाँ रणनीति हो भनेर टिप्पणी समेत गरेका थिए ।

‘त्यस्तो होईन । विज्ञ डाक्टरहरुको सल्लाह तथा इन्डियन फर्माकोपियालाई हेरेर गरिएको निर्णय हो । हिजो को बैठकमा पनि मेडिकल काउन्सिलका अध्यक्ष एवं बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा रमेश ढकाल सहित अन्य विज्ञ टोलीका सदस्यहरु हुनुहुन्थ्यो । अब ६५० एमजीको स्टेन्थमा पनि प्यारासिटामोल बनाउन आवश्यक छ भन्ने महसुस भयो । सोही अनुसार निर्णय भयो । मूल्यका सम्वन्धमा ५०० एमजीबाट ६५० एमजी हुँदा बढ्ने खर्चको अनुपातमा नयाँ कायम गर्नुपर्ने निस्कर्ष निकाल्यो,’ केसीले भने ।

यस्तै बैठकले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउन मिल्ने गरी स्वीकृति प्रदान गरेको छ । औषधि विशेष सिफारिस अनुमोदन गर्ने, औषधिको स्तर निर्धारण गर्ने विषयमा पनि स्वीकृति प्रदान गरेको छ ।

तर औषधिको बिक्री वितरण संहिता २०७८ स्वीकृत गर्ने विषयमा भने थप छलफल गर्ने निर्णय भएको छ । यसैगरी पशुपंछी औषधि व्यवसायी तालिम संचालन सम्वन्धी कार्यविधि २०७८ कानूनको राय लिएर फेरी पेश गरेर अघि बढ्ने निर्णय भएको छ ।

बिहीबारको बैठकमा मन्त्रालयका नीति योजना महशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वल जंग पाण्डे, पूर्व अध्यक्ष दीपक दाहाल, एनसीडीएका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ, नेपाल फर्मासिटिकल एसोसिएसनबाट ललितमोहन पन्त लगायतका व्यक्तिहरु सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *