कोभिडका कारण सुँघ्ने क्षमता हराएका बिरामीलाई भिटामिन ‘ए’ उपचार

बीबीसी । कोभिड बिरामीहरूमा गन्ध थाहा पाउन सक्ने क्षमता हराउने लक्षणको उपचारमा नाकमा हाल्ने भिटामिन ‘ए’ को थोपा प्रभावकारी हुनसक्ने यूकेका अध्ययनकर्ताहरूले बताएका छन्।

इस्ट एङ्लिया विश्वविद्यालयले यो विषयमा १२ साता लामो परीक्षण गर्दैछ।

केही स्वयंसेवक बिरामीहरूले यो उपचार प्राप्त गर्ने र उनीहरूलाई कुहिएको अन्डा र गुलाफको फुलको कडा गन्ध सुँध्न लगाइने छ। र मस्तिष्कको प्रतिक्रिया हेरेर भिटामिन ए ले गन्धसम्बन्धी नशालाई ठिक बनाएको वा नबनाएको पत्ता लगाइने छ।

कोभिडको एउटा लक्षण गन्ध थाहा पाउन सक्ने क्षमता हराउने वा गन्ध सही थाहा नपाउने हो तर यो लक्षण रुघाखोकीमा पनि देखिन्छ।

धेरैजस्तो अवस्थामा केही सातापछि यो लक्षण हट्ने भए पनि केही कोभिड बिरामीहरू लामो समयसम्म गन्धसम्बन्धी समस्याबाट ग्रस्त रहन्छन्।

लन्डनकी २९ वर्षीया लीना अल्नाडीलाई कोभिडपछि पारोस्मिया देखियो अर्थात् उनका लागि केही वस्तुहरूको गन्ध पहिलेभन्दा फरक भयो।

उदाहरणका लागि उनलाई पिउने पानीको गन्ध नालीको जस्तो नमिठो भयो। धनियाँको गन्ध अत्तरको जस्तो भयो।

र लीनालाई मन पर्ने अन्डाको गन्ध जलेको रबर जस्तो भयो।

‘हामी गन्धको कुरालाई सामान्य लिन्छौँ,’ उनी भन्छिन्। ‘तर यो हराउनु भनेको ज्यादै नराम्रो हो। यसले मेरो खानालाई फरक पार्‍यो।’

‘धेरै खानेकुराहरू म सोच्न पनि सक्दिनँ र यो नरमाइलो कुरो हो।’

लीनाले यसबाट बच्न सामान्य उपायहरू पनि पत्ता लगाएकी छन्।

‘खुर्सानी वा कागतीले खानाको गन्ध मीठो बनाउँछन्,’ उनी भन्छिन्।

‘मैले परीक्षण गरीगरी मलाई बान्ता नगराउने खानेकुराको सूची बनाएकी छु।’

घ्राण उपाय
प्रमुख अध्ययनकर्ता प्राध्यापक कार्ल फिल्पट भन्छन्, ‘हामी भिटामिन एले बिरामीको बिग्रिएको घ्राण पथमा कुनै फरक पार्छ कि पार्दैन भनेर हेर्न चाहन्छौँ।’

‘नाकमाथिको क्षेत्रमा ओल्फ्याक्ट्री बल्बको आकार बढे नबढेको हेर्छौँ। त्यो भनेको गन्ध थाहा पाउन नाकलाई मस्तिष्कसँग जोड्ने नशा हो।’

‘हामी मस्तिष्कले गन्ध थाहा पाउन गर्ने गतिविधिलाई पनि हेर्छौँ।’

भिटामिन ए ले सामान्य रूपमा हाम्रो रोग प्रतिरोधी क्षमता, दृष्टि क्षमता र नाकसहितका शरीरका केही अङ्गहरूलाई सहयोग गर्छ।

धेरै दुग्ध पदार्थ र केही सागपातमा भिटामिन ए भेटिन्छ।

तर भिटामिन ए धेरै भयो भने त्यसको नराम्रो असर पनि पर्न सक्छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *