मुटुरोग सम्बन्धि २२ बुँदे सल्लाह
आज २९ सेप्टेम्बर अर्थात विश्व मुटु दिवस । यसै सन्दर्भमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोग लाग्न नदिन र लागि सकेका भए के के कुरामा ध्यान दिने भनेर केही उपयोगी सल्लाह दिएका छन् ।
हेरौँ उनले दिएको २२ बुँदे सल्लाह :
१. आनन्दपूर्वक जिउन वुद्धिविवेक, सम्पत्ति र स्वास्थ्य मान्छेका लागि नभै नहुने भए पनि स्वास्थ्य पहिलो प्राथमिकतामा रहनु पर्छ ।
२. मान्छेले रोगप्रतिरोधात्मक (रोगसँग लड्ने) क्षमता दह्रो बनाउने अभ्यास गर्नुपर्छ ।
३. धुमपान स्वास्थ्यको लागि अत्यन्तै हानीकारक छ । तसर्थ धुमपान गर्नेले विस्तारै विस्तारै घटाएर भए पनि यो छोड्नु पर्छ ।
४. हरियो तरकारी र फलफुल दिनदिनै खाने मान्छेमा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।
५. शुद्ध घ्यु, तेल खानु मुटुका लागि त्यति हानिकारक हुन्न । तर पटक पटक पकाएको घ्यु, तेल खानु हुन्न ।
६. कार्वोहाइड्रेट धेरै भएको खाना (मैदा, आलु, चामल, चिनी) कम खाने गर्नु पर्छ । सागसव्जी, फलफुल तथा गेडागुडी धेरै खानु पर्छ ।
७. जंक फुड खानुहुन्न ।
८. खाना थोरै खाएर बाँच्न सिक्नु पर्छ ।
९. शुद्ध कफी दुई तीन कप मुटुका लागि राम्रो हुन्छ । तर मुटुको धड्कन बढि भएकाका लागि कफी राम्रो हुन्न ।
१०. मांसहारीका लागि खसी, कुखुराको सट्टा हप्तामा दु्ईपटक माछा खानु धेरै राम्रो हुन्छ ।
११. शारीरिक व्यायाम दैनिक ३०–६० मिनेट गर्नुपर्छ ।
१२. वयस्कहरुमा पनि १३०-८० सम्मको रक्तचाप सामान्य हो । तर किड्नी र मधुमेहको रोग भएकाहरुमा भने १२०-८० भन्दा बढि रक्तचाप हानीकारक हुनसक्छ ।
१३. ब्लडप्रेसर बढेर औषधी सेवन गर्न थालेकाले औषधी छोड्नै हुन्न भन्ने छैन । रक्तचाप बढ्नुका कारण हटाउन घटाउन सकेमा नियमित खाईरहेको औषधी चिकित्सकको सल्लाहमा छोड्न पनि सकिन्छ । जस्तै मध्यपान धुमपानका कारणले प्रेसर बढेको भए त्यस्ता पदार्थको सेवन छाडेपछि प्रेसरको समस्या पनि स्वत घटेर जान्छ ।
१४. त्यस्तै मधुमेहका रोगीले पनि चिकित्सकको सल्लाहमा कतिपय अवस्थामा औषधी सेवन छाड्न सक्ने हुनसक्छ ।
१५. रगतमा हुने कोलेस्टेरोलको ८०% शरिर भित्रैबाट बन्छ, २०% मात्र हामी खाएको खानाको कोलेस्टेरोलबाट बन्छ । यसकारण अण्डा खाएर कोलेस्टेरोल बढ्ला भनेर डराउनु पर्दैन । दैनिक एउटा उसिनेको पूरा अण्डा मुटु रोगीले खाए हुन्छ ।
१६. मधुमेहको रोगीले कोलेष्टेरोल जति छ सो को आधा घटाउनु पर्छ । यति नै हुनुपर्छ भन्ने होइन ।
१७. बिहान आधा लिटर पानी पिउनु पर्छ । त्यस पछि पिसाबको रङ सङ्लो अवस्था कायम रहने गरी पानी पिउनु पर्छ । एकै पटक धेरै पानी पिउनु वा ज्यादै धेरै पानी पिउनु हुन्न । मुटुको रोगी र किड्नीका रोगीले पानी धेरै पिउन हुन्न ।
१८. स्वस्थ्य व्यक्तिले पनि वर्षमा कम्तिमा एक पटक आफ्नो स्वास्थ्य परीक्षण गराउनु पर्छ ।
१९. सकारात्मक तथा नकारात्मक दुवै उत्तेजना मुटुका लागि हानिकारक हुन्छ । तसर्थ उत्तेजित हुनु हुदैन ।
२०. आवेग र उत्तेजनाबाट जोगिन योग, ध्यान तथा दान गर्नुपर्छ ।
२१. दिनमा कम्तिमा पाँच मिनेट हाँस्नु आवश्यक छ । तर अत्यन्तै उत्तेजना पैदा हुने कृतिम हाँसोले पनि मुटुलाई नकारात्मक प्रभाव पर्छ ।
२२. दान दिने वानी राम्रो हो । यसले मानसिक तनाव घटाउँदछ र हृदयघातबाट बचाउँछ ।
सम्पर्क इमेल : [email protected]