स्तनपान : एक साझा जिम्मेवारी

– अम्बिका थापा पच्या

आमा हुँदाको त्यो क्षण, तब अझै बढी आनन्दमय लाग्यो जब मेरी सानी नानीलाई मेरो हातमा दिएर ‘स्तनपान गराउनुहोस्’ है भन्नुभयो ।  एक्कासी म त आमा पो भएछु र मेरो जिम्मेबारी पनि थपियो भन्ने अलि बढी अनुभूति भएको थियो त्यसबेला ।

साच्चै नै स्तनपानको बारेमा कति धेरै लेख, रचना र सोधपत्रहरु भेटिन्छन्, नाराहरु पनि त्यस्तै बन्छन् प्रत्येक वर्ष । तर, यो वर्ष केही लेखु जस्तै लाग्यो मलाई पनि । मलाई लेख्न हौसाउने चाँहि यो वर्षको नाराले होः ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी ‘ । तर मेरो सोच भने केही फरक छ ।

यसलाई जोगाउन वा संरक्षण गर्नका लागि नभई स्तनपान नै साझा जिम्मेबारी भएमा मात्र पेशाकर्मी महिलाले सफल रुपमा स्तनपान गराउन सक्छिन् । साच्चै आमा भैसकेपछि आजको दिनसम्म हेर्दा लगभग दुई वर्षको यो अन्तरालमा एक पेशाकर्मी महिलाको रुयमा मैले जे महशुस गरें, जे देखे र जे अनुभव संगाल्न सके त्यसमा “साझा जिम्मेबारी” भएमा मात्र स्तनपानका नाराहरु जस्तै पूर्णस्तनपान, बच्चा दुई वर्षको पूरा नहुँदासम्म अन्य आहारका साथमा स्तनपान, सफल हुने रहेछन् भन्ने कुरा अझै बढी गहिरिएर बुझेकी जस्तो लाग्छ ।

यिनै अनुभवलाई संगालेर केहि लेख्ने जमर्को गर्न लागें ……..।

स्तनपान गराउनु एक कुशल आमाको जिम्मेबारीमा पर्छ भनेर गर्भावस्था देखिनै स्तनपान प्रति सकारात्मक सोच राख्नुपर्छ । अध्ययन अध्यापनबाट सिकेका कुरा व्यवहारमा ल्याउनका लागि पहिले आफुले त्यस कुराको गहिराई र त्यसले ल्याउने जिम्मेवारी प्रति सजक हुन जरुरी रहन्छ । महिलाको आफ्नो मानसिकता कस्तो छ र स्तनपान गराउन सक्छिन कि सक्दिनन् अथवा गराउछिन कि गराउदिनन् भन्ने कुराको सुरुवात यही बाट हुन्छ । आमा भएपछि मैले मेरो सन्तानलाई स्तनपान गराउन सक्छु भन्ने आत्मबल चाहना स्वरुप अगाडि बढ्यो भने सो अवस्थामा महिलाले सजिलै आफू कार्यक्षेत्रमा व्यस्त रहँदा रहँदै पनि स्तनपान गराउन सकिने रहेछ ।निश्चय पनि यो सजिलो भने छैन ।

आजका दिनमा स्तनपानले सहयोगी नीति नियम पाएको छ जहाँ कुनै पनि पेशाकर्मी महिलाले कम्तिमा पहिलो दुई सन्तानका लागि ९० दिनको तलबी सुत्केरी विदा पाउछिन् भने उनका श्रीमानले पनि १५ दिन सम्मको सुत्केरी विदा पाउछन् । यति हुँदाहँुदै पनि यो अवधी आफैमा बच्चालाई पूर्ण स्तनपान गराउन भने अझै पनि अपुग नै रहन्छ । यसलाई ध्यानमा राखेर नेपाल सरकारले थप ६ महिना वेतलबी विदा लिन सक्ने प्रावधान गरेको छ ।

मेरो आफ्नो कुरा गर्नु पर्दा सुत्केरी भएको चार हप्ता पछि मैले विश्व स्वास्थ्य संगठनबाट छनोट भएर एन्टिवायोटिकको प्रतिरोध सम्बन्धमा अनुसन्धान गर्न सीप सिकाउने तालिम लिने मौका पाएँ । मलाई बच्चासंगै तालिममा उपस्थित हुन पाउने भन्ने थाहा त भयो तर घरमा सबैजना काम काजी रहेको र म एक्लैले तालिम, त्यसका प्रस्तुति र कामका बीच आफ्नी छोरीलाई स्तनपान गराउन सकौला त भनेर द्विविधा रहिरह्यो । मैले पाएको अवसरका बारे घरमा कुरा गर्दा, मलाई श्रीमानको साथ मिल्ने भयो ।

तालिम अवधी भरी उहाँले छोरीको ख्याल राख्ने र म संगै तालिम स्थलमा बस्ने भनेर दिएको प्रतिबद्धता रहयो । यहाँ मैले महसुस गरेको पहिलो “साझा जिम्मेवारी” थियो श्रीमान र परिवारका सदस्यको । यो साझा जिम्मेवारी परिवारले बाडिदियो भने के हुने रैछ भनेर घोत्लिए र महशुस गरें ।

सासु आमाहरुको कति ठूलो भूमिका रहन्छन् भनेर । म थाकेको बेला सासु आमाले नातिनी हेर्नुहुन्छ र उनलाई दुध खाना मन लागेको बेला मात्र मलाई ल्याएर दिनु हुन्छ । नानी सुतेको बेलामा तिमी पनि आराम गर्नुपर्छ आराम पुग्यो भने मात्र दुध राम्ररी आउछ भन्नु हुन्छ । ज्वानो खाउ, घ्यू खाउ, बच्चालाई दुध खुवाउन अघि मनपर्ने खाना पहिले तिमीले खाएको हुनुपर्छ भनेर भन्नुहुन्छ ।

यसरी घरबाट आफ्नो हेरचाह पाएमा कुनै पनि आमा स्तनपान गर्न हौसिन्छन् । परिवारका अन्य सदस्यको पनि उनलाई स्तनपान गराउन पर्छ र यो प्रक्रियामा आमाको शारीरिक तथा मानसिक दुबै तरिकाले मिहिनेत लाग्छ भन्ने कुराको वोधले मात्र पनि स्तनपानलाई साझा जिम्मेवारीको रुपमा स्थापित गर्न ठूलो भूमिका खेलेको हुन्छ ।

तालिम सुरु भएपछिका सुरुका दिनमा छोरीलाई उनका कोठामा उनका बुबासंग राखेर तालिम हलमा जाने र तालिममा हुने विश्राममा दुध खुवाउने समय पनि मिल्यो । तालिमकै दौरान उहाँ काम परेर दुई दिनका लागि मैले तालिम कक्षमै छोरीलाई लानु पर्ने अवस्था आयो । मनमा संकोच त थियो नै तर मैले प्रशिक्षकलाई मेरो अवस्थाको बारेमा सोधे र उहाँहरुले खुशी साथ छोरीलाई लिएर तालिम कक्षमै बस्ने अनुमति दिनु भयो । छोरी मसंगै तालिम कक्षमा बसिन । कुनै कुनै बेला उनी रोइन पनि तर प्रशिक्षकले त्यसलाई एकदमै प्राकृतिक रुपमा लिएर मैले त्यही बसेर छोरीलाई स्तनपान गराउदै तालिम लिन सक्ने भनी हौसाएको क्षणमा मैले महसुस गरेको दोस्रो “साझा जिम्मेवारी” थियो संघ संस्थाहरुको ।

संघ संस्थाहरुले स्तनपानलाई प्राकृतिक रुपमा सजिलै अंगालेमा स्तनपानलाई साझा जिम्मेवारी रुपमा स्थापित गर्न सकिन्छ ।

अब काममा फर्किने कि वेतलबी विदा जति मिल्छ त्यति लिएर घरमा बस्ने भन्ने द्विविधामा सायद सबै पेशाकर्मी आमाहरु पर्छन । ती मध्ये कति ले त पहिले बच्चा हुर्काउछु बरु जागिर त फेरी पनि पाइन्छ भनेर जागिर छोड्ने निर्णय गर्छन । मेरो कुरा गर्ने हो भने दुई महिनाको वेतलबी सुत्केरी विदा सकेर पुनः काममा फर्किने बेला मेरो मनमा आएको प्रश्न पनि फरक थिएन । म सोच्थें यदि कुनै कामले मलाई बच्चालाई स्तनपान गराउनबाट बन्चित गर्न सक्छ भने मैले त्यो जिम्मेवारी लिने कि कुशल आमा भएर स्तनपानको जिम्मेवारी निभाउने ?

विदा सकेर बिहान उठेर काममा जानु अगाडी यो चुनौती मनमा चलिराखेकै थियो । तर मैले काम गर्ने विभागमा मलाई प्रत्येक दुई घण्टामा छोरीलाई दुध खुवाउन जाने अनुमती दिनु भयो र लाग्यो यहाँ म भाग्यमानी भए कि मैले अब दुबै जिम्मेवारी सजिलै निभाउन सक्छु । यहाँ मैले महशुस गरेको तेश्रो साझा जिम्मेवारी थियो कार्यालयका निति नियम र कार्यालयका प्रमुखहरुले दिएको साथ र सहयोग ।

छोरीलाई म कामबाट प्रत्येक दुई घण्टामा स्तनपान गराउन आउने गर्थें । आफ्नो घर पायक जागिर नभएकाले हेरौलेले छोरी हेर्थिन । यतिकै हेरौलुलाई रुघा खोकी (अहिले सम्झने हो भने सायद कोभिड थियो की ) लाग्यो र मैले पुरा निको नभए सम्म घरमै आराम गर्नु भने । लगभग तीन हप्ता उनी आईनन् । मैले कहिले कार्यकक्षमा साथीहरुको जिम्मा लगाएर गएँ, त कहिले कक्षा कोठामा लिएर गएँ ।

नानुलाई लैजानुको मुख्य कारण मलाई स्तनपान गराउनु थियो । जुन मेरो एक कुशल आमा भएर गर्नु पर्ने जिम्मेवारी भित्र प¥थ्यो भने मेरो कार्यालयले मलाई पूर्ण रुपमा साथ दिएको महशुस हुन्थ्यो र प्रत्येक दिन उनीसँगै कार्यालयको काम गर्न अझै धेरै उर्जा आएको महशुस हुन्थ्यो । यहाँ मैले महशुस गरेको तेस्रो साझा जिम्मेवारी थियो (सँगै काम गर्ने सहपाठी तथा अध्ययनका लागि आएका विद्यार्थीहरुको थियो ।

यसरी स्तनपानलाई लाज सँग नभई एक जिम्मेवारी र शिशुको अधिकार सँग जोड्न सक्यौं भने प्रत्येक पेशाकर्मीका साथी र संगती उहाँहरुले पनि स्तनपानमा सहयोग गर्न सक्छौं भन्ने कुरा महशुस हुन्छ । र स्तनपान एक साझा जिम्मेवारीको रुपमा स्थापित हुन सक्छ ।

विकसीत मुलुक र हाम्रै देशमा पनि शहरी क्षेत्र अनुभव र यात्रा फरक रहन सक्छन् जहाँ उनीहरु आमाको दुध निकाली वोटलमा राख्ने र त्यसलाई चौबिसै घण्टा भित्र खुवाउने गरी आफ्नो कार्यभारलाई सम्हाली रहेका हुन सक्छन् । तर यसरी आफ्नो दुध निकालेर राखेर आएता पनि उनको प्रत्येक दुई देखि तीन घण्टामा स्तन भरिएर आउने र फेरी दुध निकालेर राख्नलाई कामबाट बेतलबी विश्राम लिएर बोटल भर्ने वा बाहिर फाल्ने गरेका हुन सक्छन् ।

सकारात्मक मात्र छैन होला सबै पेशाकर्मी आमाहरुको स्तनपान यात्रा । अनेकन द्विविधा बाट गुज्रिन्छन् होला दिनहरु अनि मैले जागिर त अर्को पनि पाउँछु पहिले बच्चालाई समय दिन्छु भनेर तुहिएका कति सपना र रहरहरु । निसंकोच भएर आफ्नो घरमा कुरा गर्न सक्ने वातावरण पनि नहुने अवस्था छन् होला । कति पेशाकर्मी आमाहरु यस्तै त हो नी, कि बच्चा छोड्नु प¥यो, कि जागिर-काम भनेर चित्त बुझाएर काममा फर्किन्छन् होला भने कति बच्चा जन्माए पछि अब सबै सकियो दुई चार वर्षलाई भनेर घरमै बस्ने गर्छन् होला ।

यस्ता अनेकन कथा र व्यथा हरुलाई विसाउने चौतारी बनाउने भनेको प्रयास नै हो “साझा जिम्मेवारी ” । एक महिलाले स्तनपान गराउँदा उनको मातृत्व सार्थक भएको महशुस र शिशुले सर्वोत्कृष्ट आहार पाएको हुने हुनाले पेशाकर्मी आमाहरु लाई सबैको साथ र सहयोगको खाँचो रहन्छ । केही गर्न नसके पनि, तिमिले एकदमै राम्रो गरिरहेकी छौ र हामी तिम्रो साथमा छौं भनिदिए पनि धरै उर्जा थपिन्छ ।

# थापा पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानकी लेक्चरर हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *