कोभिड-१९ भ्याक्सिन डिप्लोमेसी : भुटानबाट हामीले के सिक्ने ?
- कमल रानाभाट

जर्ज वासिङ्टन युनिभर्सिटीका प्राध्यापक पिटर जे होटेजको भनाइलाई सापट लिदा कुनै देशले आफ्नो विदेश नीति अनुसार दोश्रो अन्य देशमा फैलिएको रोग तथा महामारीबिरुद्ध लड्नको लागि खोप प्रदान गरेर विशेष सम्बन्ध स्थापित गर्दछ भने यसलाई ‘भ्याक्सिन डिप्लोमेसी’ भनिन्छ ।
कोभिड – १९ बिरुद्ध विश्वमा ठुलो परिमाणमा खोप उत्पादन गर्ने दुई प्रमुख देश भारत र चीन यो समयमा “कोभिड -१९ भ्याक्सिन डिप्लोमेसी” को प्रतिस्पर्धामा रहेका छन ।
फोर्ब्स पत्रिकाको मार्च ३१ को रिपोर्ट अनुसार भारतले १२. ५ करोड कोभिड -१९ खोपको डोज उत्पादन गरेको थियो, जसमा ४४ प्रतिशत खोपको डोज अन्य मुलुकहरुलाई भारतले प्रदान गरेको थियो । सोही समयमा चीनले आफुले उत्पादन गरेको २३ मिलियन डोजको करिब आधा परिमाण खोप अन्य मुलुकलाई प्रदान गरेको थियो ।
कोभिड – १९ खोप उत्पादन गर्ने संसारकै ठूला देश अमेरिका र बेलायतले ठूलो परिमाणमा खोप उत्पादन गरेतापनि अन्य मुलुकहरुलाई खोप निर्यात भने गरेनन् ।
भुटानको सफल कोभिड – १९ खोप रणनीति :
एक तथ्यांक अनुसार विश्वमा प्रति सय जना व्यक्तिमा जम्मा नौ डोज कोभिड खोप वितरण गरिएको छ । जुन सोचे भन्दा निकै थोरै हो । भारतमा प्रति सय व्यक्तिमा ६.४ डोज कोभिड खोप वितरण गरिएको छ भने इजरायल सबै भन्दा धेरै प्रति सयमा ११४ डोज खोप वितरण गरिएको छ ।
सार्क मुलुकहरु मध्ये भुटानमा सबै भन्दा धेरै प्रति सय जनामा ६२ डोज कोभिड खोप वितरण गरिएको छ, जुन बेलायत र अमेरिकाको दर भन्दा धेरै हो ।
अहिले सम्मको ताजा तथ्यांक अनुसार भुटानले कुल जनसंख्याको ६२% नागरिकहरुलाई कम्तिमा १ डोज कोभिड – १९ खोप लगाई सकेको छ । कोभिड -१९ खोप लगाउन नमिल्ने १८ वर्ष मुनिका जनसंख्यालाई छोड्ने हो भने भुटानमा कुल जनसंख्याको ८५% नागरिकले कम्तिमा १ डोज खोप प्राप्त गरेका छन ।
यो तथ्यांकलाई आधार मान्दा भुटानले विश्वकै ठूलो परिमाणमा कोभिड -१९ को खोप उत्पादन गर्ने भारत र चीन दुवै देशको भ्याक्सिन डिप्लोमेसीबाट भरपुर लाभ लिएर आफ्नो धेरै नागरिकहरुलाई खोप वितरण गर्न सफल देखिन्छ । भौगोलिक विकटताको समस्या रहेको तथा न्यून संख्यामा स्वास्थ्यकर्मीहरु भए तापनि भुटानले अंगालेको सफल रणनीतिहरुले यस उपलव्धी प्राप्त गर्न सफल छ ।
भुटानमा कोरोनाको महामारी देखिनु भन्दा पहिला जम्मा ३७ जना चिकित्सकहरु र तीन हजार पुरा समय काम गर्ने स्वास्थ्यकर्मीहरु थिए । यद्धपी भुटानको स्वास्थ्य सुरक्षा योजना विभागले व्यापक रुपमा स्वास्थ्य स्वयंसेवकको व्यापक परिचालन गरेर धेरै भन्दा धेरै नागरिकहरुलाई खोप वितरण गर्न सफल भएको छ ।
भुटानको खोप वितरणमा परिचालित स्वयंसेवकलाई डेसुप्स भनिन्छ । साथै भौगोलिक विकटता भएतापनि हेलिकप्टरको प्रयोग गरेर अति दुर्गम क्षेत्रको नागरिकहरुलाई समेत कोभिड -१९ को खोप वितरण गर्न सफल भएको छ ।
समग्रमा स्वास्थ्य स्वयंसेवकको प्रयोग, कोल्ड चेनको उपयुक्त व्यवस्थापन, भ्याक्सिन डिप्लोमेसी र हेलिकप्टरको प्रयोगबाट भुटानमा कोभिड- १९ खोप कार्यक्रम सफल भएको छ जुन नेपाल लगाएत विश्वका अन्य मुलुकहरुलाई समेत उदाहरण बन्न सक्दछ ।
# नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य रानाभाट कोभिड -१९ लगायतका विभिन्न अन्तराष्ट्रिय मेडिकल रिसर्चमा क्रियाशिल छन् ।
सम्पर्क इमेल : [email protected]