कोरोनाको खोप सबैका लागि उपलब्ध होस्– महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघ, १६ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले यसअघि जस्तै बिहीबार पनि महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा राखेका हुन् ।

उनले भने– सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ कि कोभिड १९ विरुद्धको खोप सबैको प्राथमिकतामा पर्नुपर्छ र यो खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्नेछ । उनले भने– अबका कैयौँ महिनासम्म पनि यो प्राथमिकतामा नै पर्नुपर्छ कि यो कोभिड विरुद्धको खोप सबैका लागि एक सार्वजनिक वस्तु बनाउन सक्नुपर्छ र आगामी दिनहरुमा खाँचो परेका नागरिकले सहजै र सुलभ रुपमा यो खोप प्राप्त गर्न पाउनुपर्छ ।

विश्वका केही सीमित देशका हातमामात्र कोभिडको खोप पुगेको छ तर गरिब तथा तेस्रो विश्वका देशहरुमा यो खोपको उपलब्धता अझै पनि गाह्रो देखिएको छ– उनले भने । उनले अहिलेकै अवस्थामा विश्वका देशहरुले यसरी नै खोप कब्जा गरेर राख्ने हो भने यसले विश्वकै अर्थतन्त्रमा ९२ खर्ब अमेरिकी डलर बराबरको मूल्यको असर पार्नेछ भने ।

त्यसैगरी उनका अनुसार यसको आधाभन्दा बढी असर त विश्वका प्रमुख विकसित देशहरुमै पर्ने देखिएको छ । त्यसैले खोपको यस्तो अवस्था नल्याउन एउटै देशले धेरै डोजहरु कब्जा नगर्ने र सबैको सार्वजनिक वस्तुका रुपमा उपलब्ध गराउने नीति बनाउनुपर्ने उनले सुझाए । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *