आफ्ना सबै जनतालाई कोरोनाविरुद्धको खोप नि:शुल्क दिने कम्बोडिया सरकारको घोषणा
नोमपेन, २३ मंसिर । कम्बोडिया सरकारले आफ्ना सबै जनतालाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएको छ । प्रधानमन्त्री हुन सेनले सोमबार सो जानकारी दिएका हुन् ।
आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श गर्न पनि समेत निर्देशन दिएका छन् ।
त्यसैगरी उनले सोमबार नै सबै जनतालाई निशुल्क खोप लगाउने कार्यका लागि आवश्यक बजेट व्यवस्था गर्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन् ।
उनले पहिलो चरणमा उच्च जोखिममा रहेका ५ लाख व्यक्तिलाई लगाउन १० लाख भाइल खोप ल्याइने तयारी भएको समेत बताए । एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख भाइल खोप ल्याउन लागिएको उनले स्पष्ट पारे । दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।
कम्बोडिया सरकारले पहिलो चरणमा उच्च जोखिम समूहमा पर्ने स्वास्थ्यकर्मीलाई खोप दिइने बताएको छ । त्यसपछि शिक्षक, सेना, जेलका कर्मचारी, अदालतका कर्मचारी लगायतलाई रोलक्रम अनुसार जोखिमको प्राथमिकता निर्धारण गर्दै खोप दिइने जनाएको छ ।
मंगलबार २ जना संक्रमित थपिएपछि दक्षिण पूर्वी एसियाली यस मुलुकमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३५० पुगेको छ । ३०७ जना (८७.७१ प्रतिशत) सङ्क्रमणमुक्र भइसकेका छन् । संक्रमित हुनेहरुमा २३१ कम्बोडिएन, ४५ जना फ्रेन्च, १८ जना चिनियाँ, १३ जना मलेसियन, १२ जना अमेरिकी, ९ इन्डोनेसियन, ६ बेलायती, ३ भियतनामी, ३ भारतीय, २ हंगेरी, २ पाकिस्तानी, १ बेल्जियन, १ जना काजाकिस्तानी, एक जना पोलिस रहेको जनाएको छ ।
अघिल्लो बर्षको जनवरीदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन । एजेन्सी
सम्पर्क इमेल : [email protected]