चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पनि पुग्न थाल्यो
चितवन, १२ कात्तिक । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालेको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड– १९ सङ्क्रमण भई निको भएकाबाट यहाँ सङ्कलन भएका ७१ युनिट प्लाज्मामध्ये ११ युनिट बाहिरी जिल्ला पठाइएको छ । पौडेलका अनुसार भैरहवामा छ युनिट र काठमाडौँमा पाँच युनिट पठाइएको हो । अन्य जिल्लाबाट पनि माग हुन थालेको उनले जानकारी दिए ।
हाल केन्द्रमा ए पोजेटिभ ८, ओ पोजेटिभ १९, बि पोजेटिभ १२, एबी पोजेटिभ २ युनिट जगेडा रहेको छ । चार युनिट दातामा अन्य समस्या भएपछि प्रयोग गर्न नमिल्ने भएको हो । जिल्लाका विभिन्न अस्पतालमा १५ युनिट बिरामीलाई चढाइएको केन्द्रले जनाएको छ ।
नवलपरासी जिल्लाबाट ३३ युनिट, जिल्लामा शिविरमार्फत् ३२ युनिट र संस्थामा आएर छ जनाले प्लाज्मा दान गरेका हुन् । देशभरमा नै सबैभन्दा बढी चितवनमा प्लाज्मा सङ्कलन भएको पौडेलले दाबी गरे । सामाजिक सङ्घसंस्थाले अभियान नै सञ्चालन गरेर प्लाज्मा सङ्कलन गरेपछि यहाँ र बाहिरसमेत पठाउन सकिएको उनको भनाइ छ ।
सङक्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जलि अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदै आएको छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो ।
यसबाट गम्भीर अवस्थाका सङ्क्रमितको उपचार गर्न सहयोग पुग्छ । रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्नसक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ । रासस
सम्पर्क इमेल : [email protected]