बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु
बुटवल, ८ असोज । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिए ।
यस्तै कोरोना सङ्क्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा थापाले जानकारी दिए ।
लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई सङ्क्रमण पुष्टि भएपछि असोज १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले बताए । रासस
सम्पर्क इमेल : [email protected]