नेपालमा कोरोना संक्रमणको अवस्था : ‘जिल्लामा कम्युनिटी, देशमा क्लस्ष्टर’
काठमाडौँ, १९ भदौ । कतिपय स्वास्थ्य विज्ञ र चिकित्सकले नेपालमा कोरोना संक्रमण ‘कम्युनिटी लेभल’ (समुदाय तह)मै फैलिइसक्यो भन्न थालेको महिना दिन नाघिसक्यो तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पनि सो भनाईको खण्डन गर्दै आइरहेको छ । मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा कोरोना संक्रमणको अवस्था अहिले पनि ‘क्लस्टर लेभल’ ननाघेको बताउने गरेको छ ।
तर शुक्रबारको ‘भर्च्युअल’ अन्तरक्रिया कार्यक्रममा भने मन्त्रालयले यसबारेमा थप स्पष्ट पार्ने कोशिस गरेको छ । नेपालमा कोरोना संक्रमण क्लस्ष्टर लेभलमा हो कि कम्युनिटी ? पत्रकारको जिज्ञासामा मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोरोना फोकल फर्सन महेन्द्रप्रसाद श्रेष्ठले भने ‘देशलाई हेर्दा क्लस्ष्टर, जिल्ला तथा स्थानीय तहलाई हेर्दा कम्युनिटी ।’
उनले भने, ‘केही केही जिल्लामा कम्युनिटी तहकै जस्तो संक्रमण देखिएको छ तर सबै जिल्लामा त्यस्तो छैन् । त्यसैले यो संक्रमण जिल्लागत तथा स्थानीय तहमा मात्रै हेर्दा केहीमा कम्युनिटी ट्रान्समिसन हो भन्न सकिन्छ तर देश अर्थात नेपालमा संक्रमणको दर अहिले पनि क्लष्टर लेभलकै हो ।’
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै नेपालमा कोरोना संक्रमण अहिले पनि क्लष्टर लेभलकै रहेको बताए । उनले क्लष्टर र कम्युनिटी लेभलको संक्रमण बारेमा केहीमा भ्रम भएको हुनसक्ने भन्दै त्यसमा स्पष्ट हुन आग्रह गरे ।
पछिल्लो समय नेपालमा संक्रमण दर दैनिक औषत १ हजार १ सय पुग्न थालेको छ । त्यसमा करीब ९६ प्रतिशत संक्रमणको स्रोत स्थानीय नै भएको बताइएको छ । यस हिसावले पनि संक्रमण स्थानीय तहमा गएको हो भन्ने तर्क छ कतिपय विज्ञहरुको ।
मन्त्रालयले कोभिड – १९ को विषयमा सुझाव तथा जानकारी आदानप्रदान गर्न आज देखि हरेक साता पत्रकारसंग भच्र्युअल जुम मिटिङ गर्ने बताएको छ ।
सम्पर्क इमेल : [email protected]