कोरोना संक्रमित बिरामीको उपचार गर्न संक्रमित स्वास्थ्यकर्मी नै सक्रिय !

काठमाडौँ, ११ भदौ ।  काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र (एसआईआरसी)मा कोरोना संक्रमित बिरामीको उपचार गर्न कोरोना संक्रमित स्वास्थ्यकर्मी नै खटिएका छन् । लक्षण नदेखिएका ९ जना कोरोना संक्रमित बिरामीको उपचार गर्न सोही अस्पतालमा कार्यरत ९ जना कोरोना संक्रमित स्वास्थ्यकर्मीहरु खटिएका हुन् ।

‘कोरोना संक्रमित बिरामीको उपचार कोरोना संक्रमित स्वास्थ्यकर्मीबाटै गरिएको यो नेपालमै पहिलो होला सायद,’ स्पाइनल ईन्जुरी पुनस्थापना केन्द्रका मेडिकल डाईरेक्टर डा राजु ढकालले भने । उनले उपचार लिने र दिने दुबै लक्षण नदेखिएको र सामान्य अवस्थामा रहेको हुनाले दुबै पक्षको मञ्जुरीमा उपचारको व्यवस्थापन मिलाइएको बताए ।

‘ठूलो संख्यामा बिरामी र हाम्रा स्टाफहरु कोरोना संक्रमणमा पर्नु भयो । संक्रमणमा परेपछि छुट्टै आइसोलेट भएर बस्नु पर्ने भयो । तर संक्रमित कसैलाई पनि लक्षण देखिएको छैन् । त्यसपछि बिरामी र स्वास्थ्यकर्मीबीच सल्लाह भएर दुबै पक्षको राजीले यो व्यवस्था मिलाइएको हो,’ डा ढकालले भने ।

डा राजु ढकाल

उनका अनुसार अस्पतालमा ८ जना बिरामी र एक जना कुरुवा गरी बिरामी पक्षका ९ जना तथा अस्पताल तर्फ एक जना चिकित्सक, दुई जना फिजिओ थेरापी, ५ जना नर्स र एक जना प्यारामेडिक्स गरी नौ जना संक्रमित छन् ।

विशेषगरी दुर्घटनामा परी परी मेरुदण्डका कुनै पनि भागमा चोट लागेर मेरुदण्डको पक्षघातमा पर्नु स्पाइनल इन्जुरी हो । यस्ता बिमारीको मेरुदण्डमा चोट लागेकोभन्दा मुनिका पुरै शरीरमा दिसा पिसाबलगायत संवेदना अनुभूति हुँदैन । यस्ता बिमारीहरूको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । अहिले सो केन्द्रमा देशका विभिन्न अस्तालबाट पठाइएका ५१ जना त्यस्ता व्यक्ति उपचाररत छन् ।

‘झण्डै दुई साता अघि एक जना सुरक्षाकर्मीलाई संक्रमण देखापरेपछि कन्ट्याक्ट टेसिङको क्रममा चिकित्सक नर्स अरु स्वास्थ्यकर्मी हुँदै बिरामीसम्म संक्रमण फैलिएको हो । एक जनालाई संक्रमण देखिएपछि टेसिङ गरी अरु केहीको परीक्षणका लागि पठायौँ । त्यसपछि नतिजा पोजेटिभ आउन थाल्यो । यसले हामीलाई अवस्था गम्भीर भएको संकेत दियो । त्यसपछि जति चेक गर्‍यौ धेरैको नतिजा पोजेटिभ आउन थाल्यो । अहिले हामीले हिजो अस्ती मात्रे थप १२० जनाको परीक्षणका लागि पठाएका छौँ तर रिपोर्ट आएको छैन,’ उनले भने ।

उनले अस्पतालमा संक्रमितहरुलाई मास्क र फेससेभर अनिवार्य गरिएको, उपचार गर्ने संक्रमित स्वास्थ्यकर्मीले भने फुल पिपिई सेट नै लगाएर उपचार गर्ने उनले सुनाए ।

अस्पतालमा लक्षण भएकाहरुलाई छुट्टै आइसोलेट गरी छुट्टै टिमले उपचार गर्ने र जटिल अवस्थामा पुगेकाहरुलाई भने जिल्लास्वास्थ्यको समन्वयमा आवश्यक अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको समेत उनले सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *