कोरोना भाइरसको उपचार पत्ता लगाउने काममा के प्रगति भएको छ ?

  • जेम्स ग्यालहर

बीबीसी । कोभिड- १९ का गम्भीर बिरामीहरूको उपचार कसरी गर्ने विषयमा विश्वभरि परीक्षण भइरहेका छन्। बिरामीहरूलाई सञ्चो बनाउन उपयोगी पहिलो चरणका औषधिहरूको पहिचान भइरहेको छ।

उपचार पत्ता लगाउन के भइरहेको छ ?
विभिन्न देशमा १५० भन्दा बढी औषधिबारे अनुसन्धान भइरहेको छ।

तीमध्ये अधिकांश प्रयोगमै रहेका औषधि हुन् जसको परीक्षण कोरोनाभाइरसविरुद्ध भइरहेको छ।

यूकेले रिकभरी नामक विश्वकै सबैभन्दा ठूलो परीक्षण गरिरहेको छ। त्यसमा १,२०० भन्दा बढी बिरामीलाई सहभागी गराइएको छ। कुन औषधिले काम गर्छ र कुन औषधिले गर्दैन भन्नेबारे यो स्पष्ट तथ्याङ्क दिनसक्ने एउटा परीक्षण हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले द सोलिडारिटी ट्रायल नामक परीक्षण गरिरहेको छ जसले विश्वभरि भइरहेका भरपर्दा परीक्षणको मूल्याङ्कन गर्नेछ।

थुप्रै औषधि उत्पादक कम्पनीहरूले पनि आफ्नै औषधिको परीक्षण गरिरहेका छन्।

तीनवटा बृहत् पक्षबारे अहिले अनुसन्धान भइरहेको छः

  • एन्टीभाइरल औषधिहरू जसले शरीरभित्र फैलने कोरोनाभाइरसको क्षमतालाई प्रत्यक्ष असर गर्छन्
  • मानिसको प्रतिरक्षा प्रणालीलाई शान्त पार्ने औषधिहरू
  • निको भइसकेका व्यक्तिबाट लिइएको अथवा प्रयोगशालामा बनाइएको प्लाज्मा एन्डीबडी जसले भाइरसलाई निशाना बनाउन सक्छ

फरक औषधिले फरक अवस्थामा काम गर्ने पनि हुनसक्छ। उदाहरणको लागि शुरूको अवस्थामा एन्टीभाइरलहरू र गम्भीर अवस्थामा प्रतिरक्षा प्रणालीका औषधिहरू।

 जीवनरक्षक औषधि !
अहिलेसम्म परीक्षण भइरहेकामध्ये एउटा औषधि चाहिँ जीवनरक्षक हुनसक्ने देखिएको छ।

त्यो डेक्सामेथासोन हो र कोरोनाभाइरस विरुद्धको लडाइँमा यो महत्त्वपूर्ण साबित भएको छ।

यूकेको रिकभरी ट्रायलले भेन्टिलेटरमा भएका बिरामीहरूको मृत्युको जोखिम एकतिहाइले कम गर्ने र अक्सिजन लिइरहेका बिरामीहरुको मृत्युको जोखिम २० प्रतिशतले कम गर्ने नतिजा देखाएको छ।

डेक्सामेथासोन एउटा स्टेरोइड हो जसले मानव शरीरमा रोग प्रतिरोधी प्रक्रियाको शान्त पार्छ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने यो सस्तो छ जसको अर्थ यसको प्रयोग संसारभरि गर्न सजिलो हुन्छ भन्ने हो ।

भरपर्दा देखिएका अरू औषधि कुन कुन छन् ?
रेम्डेसिभिर एउटा एन्टीभाइरल औषधि हो जसको विकास इबोला भाइरसको उपचारका लागि गरिएको थियो।

एक हजारभन्दा बढी मानिसमा गरिएको क्लिनिकल ट्रायलले लक्षण देखिने १५ दिने समयलाई ११ दिनमा झारिदिएको देखाएको छ।

यसले जीवनरक्षा गर्ने त देखाएको छैन तर अनुसन्धान चाहिँ जारी रहेको छ।

अमेरिकाले औषधि उत्पादक कम्पनी गिलिडसँग सबै आपूर्ति खरिद गरिसकेको छ र केही दक्षिण कोरियालाई दान पनि गरेको छ।

के एचआईभीको औषधिले काम गर्छ ?
गर्दैन।

लोपिनाभिर र रिटोनाभिर नामक एन्टीभाइरल औषधिले एचआईभीलाई ‘रिप्लिकेट’ हुनबाट रोक्छ।

यी कोरोनाभाइरसको हकमा पनि प्रभावकारी हुनसक्ने चर्चा भएका छन्।

तर यूकेको रिकभरी ट्रायलले प्रभावकारी नभएको देखाएको छ भने डब्ल्यूएचओले पनि आफ्नो सोलिडारिटी ट्रायलबाट त्यसलाई हटाएको छ।

के मलेरियाको औषधिले काम गर्ला ?
गर्दैन।

क्लोरोक्विन र त्यससँग सम्बन्धित हाइड्रोक्सी क्लोरोक्निन एन्टीभाइरस हुन सक्छन् र त्यसमा प्रतिरोध प्रणालीको एउटा हिस्सालाई शान्त बनाउने क्षमता हुन सक्छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले व्यापक रूपमा गरेको दाबीका कारण र शुरूवाती चरणको प्रयोगशाला परीक्षणले कोरोनाभाइरसलाई मत्थर पार्न सक्ने देखाएपछि यी औषधि निकै चर्चामा आए।

तर यूकेको रिकभरी ट्रायलबाट त्यसले कोभिड(१९ को हकमा काम नगर्ने देखायो र डब्ल्यूएओले पनि परीक्षण रोक्यो।

निको भएका व्यक्तिको रगतले काम गर्न सक्छ ?
कोरोनाभाइरस सङ्क्रमण भएर निको भइसकेका व्यक्तिको रगतमा एन्डीबडी हुन्छ जसले भाइरसलाई परास्त गर्न सक्छ।

निको भएका व्यक्तिको रगतबाट प्लाज्मा निकालेर बिरामीलाई कन्भालेसेन्ट प्लाज्माको रूपमा दिइन्छ।

प्लाज्मा थेरापी विधिमार्फत् यूके, अमेरिका र नेपाल लगायत देशमा उपचार भइरहेको छ।

कहिलेसम्म हामीले उपचार पाउन सक्छौँ ?
शायद हामीले कहिल्यै कोरोनाभाइरसको उपचार नपाउन पनि सक्छौँ।

हामीसँग फ्लु अथवा रुघाखोकी वा सोही प्रकृतिका अन्य सङ्क्रमणक कुनै उपचार छैन।

यद्यपि एउटा उपचार छ जसले काम गर्छ र अरू भरपर्दा देखिन्छन्।

चिकित्सकहरूले विकास भइसकेका र सुरक्षित ठानिएका औषधिहरूको परीक्षण गरिसकेका छन्। अतः तुलनात्मक रूपमा थप नतिजाहरूको अपेक्षा गर्न सकिएला।

केही नयाँ औषधि परीक्षणका क्रममा छन् तर मानिसमाथि परीक्षणका लागि तयार भइसकेका छैनन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *