देशभर थपिए ६८१ जना कोरोना संक्रमित, संक्रमितको संख्या २८ हजार ९३८
काठमाडौँ, ३ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप ६८१ जनामा कोरोना भाइरस (कोभिड- १९)संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार ५२२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ६८१ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १२० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १७ हजार सात सय पुगेको छ ।
देशभरका क्वारेनटिनमा १३ हजार ५७१ जना रहेका छन् । त्यसैगरी होम क्वारेनटिनमा ३ हजार १३१ जना छन् ।
हालसम्म ४ जिल्ला संक्रमण मुक्त छन् भने पाँचसय भन्दा बढी संक्रमित रहेका जिल्ला ५ वटा छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।
सम्पर्क इमेल : [email protected]