वीरगञ्जमा १७ बर्षीया किशोरीको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौँ, ९ साउन । कोरोना भाइरस(कोभिड- १९)को संक्रमणबाट वीरगञ्जमा १७ बर्षीया किशोरीको ज्यान गएको छ ।
वारा परवानीपुर गाँउपालिका ४ की ती किशोरीको वीरगञ्ज हेल्थ केयरमा परीक्षणका क्रममा आरडीटी पोजेटिभ आएपछि नारायणी अस्पतालको कोरोना विशेष गण्डक अस्पतालमा रिफर गरेको थियो । गण्डक अस्पतालमा आइपुगेको केही क्षणमै उनको ज्यान गएको नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले बताए ।
‘मृत्यु हुनु अघि नै उनको पीसीआर जाँचका लागि नमूना पठाइएको थियो तर भर्खरै मात्र रिपोर्ट आयो त्यो कोभिड १९ पोजेटिभ छ,’ डा उपाध्यायले भने ।
जापानीज इन्सेफलाइटीस् भएको भन्दै गाँउबाट आएकी ती किशोरीको उपचार शुरुरमा नारायणी अस्पतालमै भएको थियो । अवस्था जटिल बन्दै गएपछि परिवारले वीरगञ्ज हेल्थ केयरमा सारेका थिए । त्यहाँ चिकित्सकहरुले आरडीटी हेरेका थिए । त्यसमा पोजेटिभ देखिएपछि पीसीआर समेत परीक्षणका लागि पठाइएको हो । उनलाई कोरोनाकै आशंकामा गण्डक कोभिड १९ अस्पतालमा सारिएको थियो ।
यसअघि आज विहान मत्रै वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि वीरगञ्जमा स्थानीय प्रशासनले समुदायस्तरमा कोरोना फैलिएको भन्दै शनिबार विहान ५ बजे देखि महानगरपालिका क्षेत्रभित्र पुन अनिश्चित कालिन कर्फूयु लगाएको छ ।
सम्पर्क इमेल : [email protected]