कोरोना संक्रमण देखिएकी चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु
काठमाडौं, ७ साउन । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा रोहितकुमार पोखरेलका अनुसार कोरोना संक्रमण पुष्टि भएकी ४८ बर्षकी महिलाको आज विहान मृत्यु भएको हो ।
‘हिजो बेलुका ग्राण्डीबाट यहाँ (त्रिवि शिक्षण) रिफर भएको हो । आइसियूमा राखेर उपचार गरिरहेका थियौँ आज विहान निधन भयो,’ प्राडा पोखरेलले भने ।
पोखरामा एक बर्ष अघि देखि बसोबास गरेकी ती चिनियाँ महिला मुटुको समेत विरामी भएको बताइएको छ । केही दिन यता स्वासप्रश्वासमा समस्या भएपछि हेलिकप्टरमा उनलाई ग्राण्डी अस्पताल ल्याइएको थियो । परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि ग्राण्डीले त्रिवि शिक्षण अस्पताल रिफर गरेको थियो ।
‘अहिले ती महिलाको शव अस्पतालकै शबगृहमा रहेको छ । शवको व्यवस्थापन कसरी कहाँ गर्ने भन्ने छलफल हुँदैछ,’ प्राडा पोखरेलले भने ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । नेपालमा आएको विदेशीमा कोरोना देखिई मृत्यु भएको भने यो पहिलो घटना हो ।
सम्पर्क इमेल : [email protected]